टहरामा पढाई हुँदा चिसोको मारमा बालबालिका

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेल सोल्मामा रहेको पुनस्थापित आधारभूत विद्यालयको तीनकोठे कच्ची भवनलाई भूकम्पले थिलथिलो बनायो ।

२०७२ सालको भूकम्पले थिलथिलो भवनमा बालबालिका राखेर पढाउने कुरै भएन । जतिबेला जे पनि हुन सक्ने भवनको अवस्था छ । त्यसपछि भवनमा ताला लागेको प्रधानाध्यापक विन्दा कुमारी अधिकारीले बताउनुभयाे ।

प्रअ अधिकारीका अनुसार २०७३/०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट मर्मत संभारका लागि परेको २ लाखबाट बनाईएको टहरामा अहिलेसम्म बालबालिका पढाउनु परिरहेको छ । टहरामा पढाउँदा बालबालिकालाई अत्याधिक चिसो हुने गर्छ ।

'भूकम्पले क्षति गरेको भवन मर्मत गर्न शिक्षा कार्यालयबाट २ लाख बजेट आयो । त्यति वजेटले भवन मर्मत नहुने देखियो । जीर्ण भवनलाई थाती राख्दै दुईकोठे टहरा बनाएर बालबालिका पढाउ भनेर सल्लाह भए अनुसार टहरा बनाईएको हो,' प्रअ अधिकारीले भन्नुभयो ।

‘भूकम्पले तीनकोठे भवन जीर्ण भएपछि भवन अभावमा त्यहाँ पढाउन सकिएन । त्यसपछि बनाईएको टहराको एक कोठामा बालबिकासका सातजना र कक्षा-१ का आठजना तथा कक्षा-२ का दुईजनालाई एक कोठामा राखेर पढाईरहेका छौ।’

कक्षा-२ मा ६ जनाले भर्ना गरेकोमा चारजनालाई अभिभावकले नीजि विद्यालय लगेपछि नियमित विद्यार्थी संख्या दुईजना छ । कक्षा-३ मा ६ जना विद्यार्थी नियमित छन् ।

कक्षा-४ मा सातजनाले भर्ना गरेकोमा पाँच जनालाई अभिभावकले नीजि विद्यालय लगेपछि दुईजना मात्रै नियमति छन् । कक्षा-५ मा पाँचजना विद्यार्थी नियमित छन् ।

विद्यालयका लागि स्थायी शिक्षक दुईजना, राहत शिक्षक एकजना, बालबिकास शिक्षिका एकजना र विद्यालय कर्मचारी एकजनाको दरबन्दी छ । विद्यालयमा कूल ३० जना विद्यार्थी अध्ययनरत छन् ।

यद्यपी, नगर शिक्षा शाखाबाट उपलब्ध इमिस विवरणमा कूल विद्यार्थी संख्या ४१ जना देखाईएको छ । इमिस अनुसार बालबिकासमा आठजना, कक्षा-१ मा नौजना, कक्षा-२, कक्षा-३, कक्षा-४ र कक्षा-५ मा ६/६ जना विद्यार्थी संख्या देखाईएको छ ।

विद्यालयमा भवन पार्नका लागि पहल भईरहेको सोल्माका वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक ध्रुबविक्रम राईले बताउनुभयाे । राईका अनुसार विद्यालयलाई डेस्कबेन्चका लागि चालू आर्थिक वर्षमा ५० हजार बजेट विनियोजन गरिएको छ ।

पुनस्थापित आधारभूत विद्यालयको दुईकोठे टहरा । तस्विर चिसाङ शेर्पा/हिटा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?