
काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन नसकिने बताउनुभएको छ । गणतन्त्रको विरोध गर्दै केही आवाजहरू उठेको र त्यसले गणतन्त्रलाई कमजोर पार्ने प्रयास भए पनि अब इतिहासमा फर्किने सम्भावना नरहेको सभापति देउवाको भनाइ छ । उहाँले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताउनुभयो । सन्त नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको सन्दर्भमा आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित विमर्श सभामा बोल्दै सभापति देउवाले कांग्रेसलाई किसुनजीले देखाएको बाटोमा अघि बढाउन सके पछाडि फर्किएर हेर्नु नपर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘अहिले हामीले लामो समयसम्म संघर्ष गरेर प्राप्त गरेको गणतन्त्रलाई कमजोर बनाउने कुराहरू आइरहेका छन् । यी सबै कुराहरूलाई परास्त गरेर अघि बढ्नुपर्नेछ । हामी अब इतिहासमा फर्किन सकिँदैन, लोकतन्त्रलाई सुदृढीकरण गर्दै अगाडि बढ्नु नै राम्रो हुन्छ ।’ राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिई गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।
पूर्वप्रधानमन्त्री भट्टराईसँग पहिलोपटक २०२४ सालमा नक्खु जेलमा भेट भएको स्मरण गर्दै सभापति देउवाले भन्नुभयो, ‘किसुनजी लोभ नभएको मान्छे हो । मैले पहिलोपटक उहाँलाई नक्खु जेलमा भेटेको थिएँ, विद्यार्थी आन्दोलनका बेला २०२४ सालमा । अत्यन्तै सेन्स अफ हृयुमर भएको मान्छे हुनुहुन्थ्यो । उहाँमाथि कुनै दाग छैन, कुनै दाग लाग्न सक्दैन । उहाँ सच्चा मानेमा त्यागी नेता हो । कहिल्यै पनि हरेस नखाएको मानिस । कहिल्यै पनि चिन्ता नगरेको व्यक्ति । उहाँको विषयमा जति बोले पनि कम हुन्छ जस्तो लाग्छ ।’ सभापति देउवाले कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा कांग्रेसलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
पञ्चायतलाई परास्त गर्न भट्टराईको भूमिका महत्वपूर्ण : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न कृष्णप्रसाद भट्टराईको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भट्टराईको शताब्दी जन्म दिवसका अवसरमा केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका खड्काले पञ्चायतविरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै भन्नुभयो, ‘बिपी कोइराला लगायतका नेताहरू प्रवास जानुभयो, त्यहाँबाट पनि संघर्ष गर्नुभयो । तर, किसुनजीले पञ्चायतविरुद्धको आन्दोलनलाई र लोकतन्त्रको पुनःस्थापनाका लागि पनि नेपाली माटोमै बस्नुभयो । उहाँले देखाएका बाटो, निष्ठाको कुरा गर्छौं, जीवन जगतको कुरा गर्छौं, त्यसमा कति प्रतिशत उहाँको बाटोमा हिँडाउन सकेका छौँ । त्यसमा हामीले स्मरण गर्दै भएका कमजोरी सच्याउने, गल्ती नगर्ने र हुन दिने छैनौँ ।’
देउवालाई प्रधानमन्त्री बनाउन अदालतको परमादेश आउनुअघि आफू र सभापतिलाई सिंहदबार पु¥याएर किसुनजी फर्किएको सपना सुनाउँदै उपसभापति खड्काले भन्नुभयो, ‘अदालतले फैसला गर्नुभन्दा दुई दिनअगाडि एक्कासि किसुनजी सपनामा प्रकट हुनुभयो । जुन जिपमा उहाँ चढ्नुहुन्थ्यो अहिले त्यो जिप आश्रममा छ । त्यही जिपमा उहाँ चढेर आज म जहाँ बस्छु, त्यहाँ अपर्झट आइपुग्नुभयो । मलाई बोलाउनुभयो । पछाडि बस बन्नुभयो । त्यसपछि सिधै गाडी लिएर बूढानीलकण्ठस्थित सभापति (देउवा) कहाँ पुग्नुभयो । र, उहाँले शेरबहादुरजी, शेरबहादुरजी आउनुहोस् तल भन्नुभयो । सभापतिजी आउनुभयो । त्यही गाडीमा छेउको सिटमा राख्नुभयो । सिधै त्यो गाडी ल्याएर सिंहदरबारमा पु¥याएर आफू ओर्लनुभयो । सभापतिजी तपाईं अगाडि जानुहोस् शेरबहादुरजी भन्नुभयो । मलाई पछाडि बस्नुहोस् भन्नुभयो । तपाईँहरू भित्र जानुहोस् म हिँडे भनेर बिदाइ गरेर जानुभयो । त्यसको दुई दिनपछि अदालतले परमादेश दियो । हाम्रो सभापति मुलुकको प्रधानमन्त्री हुनुभयो ।’
‘शेरबहादुर दाइ जिन्दावाद’ को नारा लागेपछि...
कृष्णप्रसाद भट्टराईको जन्म शताब्दीको अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवालाई बनाइएको थियो । अन्य दिनजस्तै देउवाले संक्षिप्तमा आफ्नो मन्तव्य राख्नुभयो ।
कार्यक्रम सञ्चालन गरिरहनु भएका पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कार्यक्रम समापन गर्न पनि आग्रह गर्नुभयो । देउवाले मन्तव्य राखेर ‘जय नेपाल’ भनिसकेपछि विश्वकर्माले सम्झाउनुभयो, समापन पनि गर्दिनुस् । त्यसपछि देउवाले भन्नुभयो, ‘यो कार्यक्रम समापन भएको घोषणा गर्दिन्छु । यसपछि पनि अर्को कार्यक्रम छ ।’ देउवाले सभा समापन भएको घोषणा गर्नासाथ हलको पछाडि रहेका नेविसंघका कार्यकर्ताले नाराबाजी सुरु गरे, ‘शेरबहादुर दाइ जिन्दावाद, जिन्दावाद’ चर्को स्वरमा नाराबाजी भएपछि मञ्चबाटै देउवाले भने, ‘भयो भयो,पुग्यो ।’ त्यसपछि हलमा हाँसो गुञ्जियो ।
पूरै कार्यकाल गठबन्धनको सरकार टिकाउनुपर्छ : सहमहामन्त्री पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताउनुभएको छ । आइतबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले गठबन्धनमा भएको सहमतिअनुसार प्रचण्डसँग एक वर्ष मात्रै समय रहेको उल्लेख गर्दै भन्नुभयो, ‘अब एक वर्ष मात्रै उहाँसँग छ । अझै तदारुकताका साथ अगाडि बढेर काम गर्नुपर्छ । पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नुपर्छ । प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाबीच सहमतिको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको सुनेका छौँ । माधव नेपाललाई पनि आश्वासन दिइएको थियो भने बन्न दिनुपर्छ शेरबहादुर देउवा पनि बन्नुपर्छ । साझा म्याण्डेटलाई खण्डित हुन नदिने गरी पूरै कार्यकाल गठबन्धनको सरकार टिकाउनुपर्छ ।’
कानुनमन्त्री धनराज गुरुङको अभिव्यक्तिप्रति कांग्रेसबाटै विरोध
सरकारले अध्यादेश ल्याउनसक्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको अभिव्यक्तिप्रति कांग्रेसभित्रैबाट आलोचना भएको छ । कांग्रेस उपसभापतिसमेत रहनुभएका कानुनमन्त्री गुरुङले पार्टीको बागमती प्रदेश सम्मेलनको उद्घाटन समारोहका क्रममा संसद् बैठक बस्न सक्ने अवस्था नभए संघीय प्रहरी ऐन, शिक्षा विधेयक, संघीय कर्मचारी ऐन अध्यादेशबाट ल्याउने घोषणा गर्नुभएको थियो । मन्त्री गुरुङको उक्त अभिव्यक्तिप्रति केन्द्रीय सदस्य नैनसिंह महरले आपत्ति जनाउनुभएको हो । अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अशोभनीय रहेको टिप्पणी गर्दै महरले भन्नुभयो, ‘सरकार अध्यादेशको भरमा चल्न खोज्नु मुलुकका लागि खतरा हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच