शरीर संरचनामा जुन स्थान धमनीहरूको हुन्छ राज्यको प्रणाली र समाजको बनोटको अवस्थामा सूचना र सञ्चारको त्यही स्थान हुने गर्दछ । त्यसमा पनि सूचना प्रविधिमा आएको क्रान्तिकारी परिवर्तनले मानिसहरू अब सूचना प्रविधिविहीन अवस्थाको कुनै कल्पना गर्न सक्दैनन् । सूचनाको धमनी भने ऊर्जा हो र सूचनाको शरीर भनेको छापा, रेडियो, टेलिभिजन, कम्प्युटर, मोबाइल टेलिफोन, र घडीसमेत भएका छन् । यी सबैको मूल मानिसहरूको दिमाग नै हो ।
आजका दिनमा सूचनाविहीन समाज पूर्णतः अन्धकारको यात्री समान हुने गर्दछ । यद्यपि, सूचना र सञ्चार जति सिर्जनात्मक, सकारात्मक सिद्ध हुन्छ यदाकदा त्योभन्दा बढी भयानक घातक हुने सम्भावना रहन्छ । सूचनाको त्यही नकारात्मक पक्षले प्रभावित गर्ने हुनाले धेरैको मतमा स्वतन्त्रता र स्वच्छन्दता पर्याय हुन् भन्ने लाग्नसक्छ । म स्वच्न्दतावादी त्यस्तो अराजकतावादी चिन्तनका पक्षमा छैन । तर, निजात्मक रूपमा मानिस पूर्ण स्वतन्त्र हुन्छ, उसले जुनरूपमा पनि अभिव्यक्त गर्न पाउँछ । कुनै पनि संस्थामा प्रबद्र्धकहरूको स्वार्थको सीमा सुरु भएपछि भने स्वतन्त्रताको अन्त्य सर्वत्र हुन्छ । उचित व्यवस्थापन हुन सकेन त्यो अवस्था भने स्वतन्त्रताको सीमा अन्त्य हुनासाथ त्यस स्वतन्त्रताको रिक्त स्थानमा अराजकताले परिपूर्ति गर्दछ । अर्थात् स्वतन्त्रताविहीन समाज या त असाध्य कुण्ठित, लाचार र दास मनोवृत्तिको हुन्छ या त भयानक अराजक र हिंस्रक भएर प्रकट हुने गर्दछ । सूचना र सञ्चार स्वतन्त्रतासँग अन्योन्याश्रित हुन्छन् । स्वतन्त्रताविहीन सूचना प्रशारण, प्रकाशन असम्भव नै हुन्छ । सबै क्षेत्रमा यसैकारण सूचना सञ्चारको महत्व विस्तार भएको हो ।
मैले विगत ४६ वर्षदेखि निरन्तर स्वतन्त्रताका पक्षमा अभिमतकासाथ काम गर्दै आएको छु । स्वतन्त्रताको अर्थ स्वच्छन्दता किमार्थ होइन । तर, अराजकतावादीहरूका चिन्तनका कारण अथवा निरंकुशहरूको शासकीय महत्वाकांक्षाका कारण स्वतन्त्रतामाथि अनेक कानुनी जटिलता र अनुशासनको जञ्जीर खडा भएको देखिन्छ । राज्यको संगठन समाजलाई व्यवस्थित गराउन, मानिसहरूलाई भयबाट मुक्ति दिन र अन्यायबाट जोगाउन नै खडा भएको हो । समाजका हरेक क्षमताहरूलाई फल्न फूल्न र सिर्जनाको गोरेटोमा लाग्न, उचित गन्तव्य तय गरी त्यसतर्फ अभिप्रेरित गर्न राज्यको अहम् भूमिका हुने गर्दछ । आविष्कारको परिणाम गतिशीलता देखिएको हो समाजमा । आगो आविष्कार हुनाले संसारको विकास भएको हो । आगो ऊर्जाको पर्याय हो । आगोको महत्व स्थापित भएपछि मानिसहरू कृषि क्रान्तिमा लागे, उद्योग र कलकारखाना आरम्भ भए । मानिसहरूको सोचमा परिवर्तन आउन लाग्यो । आज विकसित तीव्र गतिको सूचना प्रविधिसहित अन्य क्षेत्रमा आएको परिवर्तनको जग अनेक चरणका फरक अनुभव र आविष्कारहरू नै हुन् भन्ने बिर्सनु हुँदैन । परिवर्तित सोचसँगै मानिसहरूको रहनसहन, भोजन, आवास, आवरण आवश्यकता, उपभोग, हरेक कुरामा परिवर्तन देखापरेको छ । त्यसमा पनि सूचना प्रविधिमा आएको अभूतपूर्व परिवर्तनले मानिसहरूलाई आश्चर्यजनक अवसर प्राप्त भएको छ । अहिले सिंगो पृथ्वी यौटा सानो गाउँमा परिणत भएको छ भने विशालकाय ग्रह, उपग्रह, तारागण, प्रत्यक्ष अप्रत्यक्ष पिण्डहरू, काल्पनिक चित्रहरू सबैलाई प्रत्यक्ष अनुभव गर्न सकिने अवस्था छ । सबैलाई जोड्ने सूत्र भनेको सूचना प्रविधि नै हो ।
विशालकाय दुई राष्ट्रहरूका बीचको नेपालजस्तो संवेदनशील भूगोल रहेको देशले सूचनाप्रविधिको उच्चतम् प्रयोग गरी देशको राज्य प्रणालीको उचित संवद्र्धन, जनताको समानतापूर्वक समृद्धि र देशको स्वतन्त्रताका पक्षमा आफूलाई समर्पित गर्नसक्नु पर्दछ । एकैपटक सबैतिर विकास हुन सक्दैन । तर, एकैपटक समृद्धि र विकास हुन सक्दैन भन्ने सिद्धान्त स्थापित गर्दै कहिल्यै पनि कुनै पनि क्षेत्रमा विकास हुनुहुन्न भन्ने भाष्य निर्माण भइरहेको छ । यो भाष्य यतिविधि गलत छ कि यसले नेपाललाई शदियौँ पछि पारिरहेको छ ।
नेपालले ००७ देखि राजनीतिक परिवर्तनका ६ वटा चरण पार गरिसकेको छ । प्रणालीगत चरण पार गरे पनि प्रगतिको चरणले फड्को मार्न सकेको छैन । प्रगतिविहीन परिवर्तनको कुनै अर्थवत्ता हुँदैन । यी प्रत्येक राजनीतिक परिवर्तनहरूमा सञ्चारको, प्रेसको भूमिका महति छ । पछिल्लो चरणको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रणालीको संस्थागत निर्मितका लागि संविधान जारी गर्ने अवस्थासम्म प्रेसको भूमिका उत्कर्ष रहृयो । तर, प्रेसको सहयोगविपरीत राजनीतिक नेतृत्व महत्वाकांक्षी, आत्मकेन्द्रित, परिवारकेन्द्रित, आर्थिक सामाजिक व्यभिचारमा लिप्त भएपछि गम्भीर मोडमा पुगेको संकेत मिलिरहेको छ । आम नागरिकले पाउनुपर्ने सुविधा, न्याय, रोजगारी, विवेकसम्मत राजनीतिक व्यवहार, कतै पनि देखिएको छैन । कहाँबाट परिवर्तनको संस्कृतिको जग बसाउन सकिन्छ ? हामीलाई लाग्छ केन्द्रीय नेतृत्वबाट परिवर्तनले उचित संस्कृति निर्माण गर्न सकेन । अब कतै स्थानीय तहबाट त्यस्तो लोकतान्त्रिक संस्कृति निर्माण हुनसक्छ कि ? कतै माथि बस्नेहरूलाई फेदबाट दबाब मिल्न सक्छ र आर्थिक विकासको मूल आधार कृषि केन्द्रित वा अन्य उद्योगको विकास हुनसक्छ कि ? भन्ने हामीलाई लागेको छ । यसैकारण हामीले स्वतन्त्र प्रेसले स्थानीय तहको सबलीकरण गर्दै देशको औद्योगिक विकासमा योगदान दिनुपर्छ भन्ने सूत्र अघि सारेका छौँ ।
स्वतन्त्र प्रेसको अर्थ पूर्ण लोकतन्त्र हो । लोकतन्त्रको मूल्य, सिद्धान्त र संस्कृति नभएको देश र समाजलाई निरंकुश भनिन्छ । निरंकुश राजनीतिक प्रणालीले भौतिक उन्नति गरे पनि त्यहाँ मानवीय मूल्य र स्वत्व रहँदैन । मानवतालाई निरंकुशताको बुटमुनि पेल्ने काम हुन्छ र कोही पनि त्यसविरुद्ध उभिने सामथ्र्य राख्दैन । कसैकसैले त्यस्तो अन्यायविरुद्ध आवाज उठाए पनि उनीहरूका तीनवटा परिणाम भएको देखिन्छ । पहिलो मृत्युदण्ड, दोस्रो कारावास र तेस्रो देश निकाला । निरंकुश राज्य प्रणालीले यसैकारण मानवताविहीन भौतिक विकास गरेको हुन्छ । एकप्रकारले स्पन्दनहीन भौतिक शरीर जस्तो । त्यस्तो राजनीतिक प्रणालीमा शासकीय इच्छा वा अनिच्छामा मानिसहरूको दिनचर्या व्यतित हुने गर्दछ । आजको उत्तर कोरिया, चीन, आंशिक रूपमा रुस, धर्मका नाममा स्थापित सबै खाले सत्ताहरू, अनि म्यानमारको सैनिक सत्ता वा सिरियाको सत्ता आन्तरिक रूपमा निरंकुश नै हुन् । मौलिक रूपमा त्यहाँ स्वतन्त्र प्रेसको कुनै भूमिका रहँदैन । बाहिरी देशहरूसँगका सम्बन्धहरूलाई अपवादका रूपमा राखेर हेर्ने हो भने खुला र उदार लोकतन्त्र भएका देशका नागरिकहरू बढी स्वतन्त्र र सुरक्षित अनुभव गर्दछन् । युरोप, अमेरिका, क्यानाडा, जापान, अष्ट्रेलिया आदि देशहरू हेर्दा यस तथ्यको पुष्टि हुन्छ । यसैकारण मानिसका प्रगतिको प्रथम आधार नै स्वतन्त्रता हो । स्वतन्त्रतालाई सापेक्ष वा निरपेक्ष कुन रूपमा हेर्ने भन्ने विवाद अद्यापि निरन्तर छ । दार्शनिक रुसोले भनेजस्तो स्वतन्त्रताको सीमा त्यहाँ पुगेर अन्त्य हुन्छ जहाँबाट अर्काको स्वतन्त्रता आरम्भ हुने गर्दछ । अर्थात् एकको स्वतन्त्रताको सीमा अर्काको स्वतन्त्रताको सम्मान गर्ने कर्तव्यमा पुगेर टुंगिने गर्दछ ।
नेपालमा ००७ सालपछि हरेक राजनीतिक प्रणालीले स्वतन्त्र प्रेसको अवधारणा अघि नसारेको होइन । निर्दलीय पञ्चायतले मात्रै प्रेसविरुद्ध अंकुश लगाउने कानुन बनायो । तैपनि विकासका लागि सञ्चार भन्ने नारा लगाउन छाडेन । ०४७ को परिवर्तनले स्वतन्त्रतालाई उच्च सम्मान गर्दै अकुण्ठित मौलिक हकको व्यवस्था गरेको थियो । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारका समयमा निर्माण गरी जारी भएको संविधानमा नागरिकका अधिकारलाई कुनै पनि रूपको अंकुश लगाउन नहुने स्पष्ट गरिएको थियो । समान भाषा नभए पनि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले पनि नागरिकको मौलिक हक र स्वतन्त्रताको परिभाषा समुचित रूपमा नै गरेको छ । तर, लोकतन्त्र भनेको अक्षर, शब्द, वाक्य मात्रै होइन त्यसमा अन्तर्वस्तु र भावना सन्निहित हुनुपर्दछ । जीवन्त हुनुपर्दछ लोकतान्त्रिक प्रणाली । हामी सूचना प्रविधिको अत्याधुनिक उपकरणहरूको उपयोग गर्न सिपालु भयौँ । हाम्रो समाज हरेक अर्थमा विकसित देशका नागरिक जस्तै गरी सूचना प्रणालीमा निर्मित सबैखाले आविष्कारसँग परिचित भएको छ । केही अपवादका रूपमा ग्रामीण समाज होला र केही व्यक्ति होलान् ।
तर, आर्थिक विकासको कुरा आएमा, समुन्नत लोकतान्त्रिक राजनीतिक प्रणालीको प्रयोगको सन्दर्भ आएमा भने किन पछौटे जस्ता भयौँ ? सामाजिक विभेदको, छुवाछुतको विषय उठेमा किन अझै पनि जातभेद, वर्गभेद, वर्णभेद, लिंगभेद र भूगोलभेदको बन्दी भइरहेका छौँ ? विकसित राष्ट्रका नागरिकले प्रयोग गरे जस्तो विधि र व्यवहार किन हामीले गर्न सकेका छैनौँ ? यस्तो प्रश्न उठ्दा हामी सदा अशिक्षित समाज, विपन्न समाजलाई दोष दिने गर्दछौँ । तर, त्यो विपन्न समाज र अशिक्षित समाजको सदस्य घाँस दाउरा गर्न जाँदा, हलो कोदालो गर्न जाँदा, हाट बजार गर्न जाँदा, हातहातमा मोबाइल बोकेर हिँडिरहेको कुरा हामी बिर्सने गर्दछौँ । यथार्थमा के हो भने केही टाठाबाठाहरू मात्रैले शासनको मह काढिरहेका छन्, भौगोलिक र सामाजिक दुवै क्षेत्रका सीमान्तकृत समुदायका प्रतिनिधिहरू समेत तिनै टाठाबाठाहरू समान नै छन् । उनीहरू पनि आरक्षित सुविधा निरवच्छिन्न उपभोगको लासाको सिकार भएका छन्, त्यसैकारण छुवाछुत नहटोस्, विपन्नहरू सम्पन्न नहोऊन्, सीमान्तकृत भूगोलमा विकास र सुविधा नपुगोस् र यथावत् समाज चलोस् भन्ने अन्तर्निहित इच्छाबाट तिनीहरू सदा निर्देशित छन् ।
यस्तो समयमा स्वतन्त्र प्रेसले विशेष भूमिका वहन गर्नुपर्छ भन्ने हाम्रो दृढ धारणा रहेको छ । माथिको तह भ्रष्ट, व्यभिचारी, स्वार्थी र अलोकतान्त्रिक भएको अवस्थामा टाउकोमा हात राखेर नियतिलाई सराप्नुको साटो तल अर्थात् जगैबाट परिवर्तनको खाका कोर्नु जरुरी भएको छ । तल अर्थात् आजको सबैभन्दा अन्तिम तर सर्वाधिक अनिवार्य स्थानीय तहदेखि नै लोकतन्त्रको जग सबल र सशक्त बनाउनुपर्छ । उत्पादनलाई औद्योगीकरणको चरणमा पु¥याउने सामथ्र्य विकास तलैबाट हुनुपर्दछ । आजको माग र आवश्यकता यही नै हो ।
मननयोग्य र शासकहरुका लागि मार्गनिर्देशक छ लेख ।