बहुकक्षा शिक्षणले बालबालिकाको पढाई गिजोलिंदै

नेर्पा प्रावि नेर्पाका बालबालिकाहरु, यो विद्यालयमा बहुकक्षा शिक्षण हुने गरेको छ । तस्बिरः चिसाङ शेर्पा/हिटा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 10 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका अधिकांश सामुदायिक विद्यालय (कक्षा १ देखि कक्षा ५ सम्म)हरुले बहुकक्षा शिक्षण गराउँदा बालबालिकाको पढाई गिजोलिने गरेको छ ।

विद्यालयहरुले भवन अभाव देखाउँदै बहुकक्षा शिक्षण गराउँदा आ-आफ्नो कक्षामा बसेर शिक्षा लिने अवसरबाट बालबालिका वञ्चित हुनु परेको छ । पुग्दो शिक्षक भएका तर, विद्यार्थी संख्या कम भएका विद्यालयहरुमा पनि शिक्षकहरुले बहुकक्षा शिक्षण गराईरहेको पाइएको छ ।

साउन भदौको बर्खे बिदापछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङको वसन्त पञ्चमी प्राथमिक विद्यालयले मंसिर अन्तिम हप्तासम्म बहुकक्षा शिक्षण गराएको थियो ।

कक्षाकोठा अभाव देखाउँदै बालबिकासका दुईजना, कक्षा १ का एकजना गरी तीनजनालाई एउटै कोठामा र कक्षा २ का चारजना, कक्षा ३ का एकजना तथा कक्षा ४ का एकजना गरी ६ जना बालबालिकालाई एउटै कोठामा राखेर विगत तीन महिना देखि शिक्षण गराएका थिए ।

साउन भदौको विदामा धमिराले काठ (डेस्क, बेन्चलगायत काठ) खाएपछि काठ सुकाएर स्टोर गर्दा कक्षा ४ र कक्षा २ को कोठा ओगटेकाले एकै ठाउँमा बहुकक्षा शिक्षण गराउनु परेको प्रधानाध्यापक तिलक श्रेष्ठले बताउनुभयो । विद्यालयमा बालबिकाससहित कक्षा ४ सम्म नौजना मात्रै विद्यार्थी अध्ययनरत छन् ।

हामीले १७ मंसिरमा रिपोर्टिङ गरेपछि त्यसको २/३ दिनपछि फर्निचरलाई व्यवस्थापन गरेर अलग-अलग कक्षामा पठनपाठन गराउन थालिएको प्रअ श्रेष्ठले बताउनुभयो ।

अहिले आ-आफ्नो कक्षाकोठामै पठनपाठन भईरहेको बाम्राङका वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक महेन्द्र बहादुर राईले जानकारी दिनुभयो । यो विद्यालयमा प्रअ श्रेष्ठ, शिक्षिका शुशिला शर्मासहित दुई स्थायी दरबन्दी छ । बालबिकासमा तुलसा हिङमाङ र एकजना विद्यालय कर्मचारी छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित साकेला प्राथमिक विद्यालयले कक्षा १ बाहेक, कक्षा २ र ३ का विद्यार्थीलाई एउटा कोठामा र कक्षा ४ र ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर (बहुशिक्षण) पढाई रहेको छ । भवन अभावमा बहुकक्षा शिक्षण गराउनु परेको प्रधानाध्यापक कमल प्रसाद रिजाल बताउँनु हुन्छ ।

विद्यालयमा कक्षा १ मा पाँचजना, कक्षा २ र कक्षा ३ मा एक-एकजना, कक्षा ४ मा दुईजना र कक्षा ५ मा दुईजना विद्यार्थी नियमित छन् । स्थायी दरबन्दीका एकजना (प्रअ रिजाल) र राहतका (शान्तिराम राई) एकजना गरी दुई शिक्षक र एकजना विद्यालय कर्मचारी (पवित्रा राई) रहेको विद्यालयमा कूल विद्यार्थी संख्या ११ जना छ ।

यो विद्यालयसँग जम्मा दुईवटा भवन छ । हाल अफिस भएको ढुंगामाटोले बनेको दुईकोठे भवनलाई बारेर तीन कोठे बनाई एउटा कोठामा अफिस, अर्कोमा कम्प्युटर कक्षा हुन्छ । अर्कोमा पूराना काठपातलगायत स्टोर गरिएको छ ।

२०७२ सालको भूकम्पपछि बनाईएको फलामे ट्रष्टको २ कोठे भवनलाई बारेर तीन कोठे बनाई त्यहाँ कक्षा १, कक्षा २ र कक्षा ३ को पढाई हुन्छ ।
पठनपाठन गर्न पाँचवटा कक्षाकोठा चाहिनेमा अहिले कम्प्युटर कक्षासहित चारवटा मात्रै कक्षाकोठा छ । “भवन अभावमा बहुकक्षा शिक्षण गर्दा केही न केही हिसाबले पढ्नमा असर त गरिहाल्छ । तथापी पनि हामी बाध्यभएर एउटै कोठामा फरक-फरक राखेर पढाईरहेका छौ ।” प्रअ रिजालले भन्नुभयो ।

नेर्पाकै मोहोरीयामा अवस्थित नेर्पा प्राथमिक विद्यालयले कक्षा १ का युगल राई, कक्षा २ का स्मल राई, कक्षा ३ का सन्देश राई र कक्षा ४ का सन्दिप राईलाई पनि एकै ठाउँमा राखेर पढाईरहेको छ ।

विद्यालयमा स्थायी दरबन्दी दुई शिक्षक थिए । प्रअ नवराज घिमिरे र रघुनाथ दाहाल । तर, विद्यार्थी कम भएकाले वडा शिक्षा समितिले शिक्षक दाहाललाई १४ मंसिरमा नेर्पाकै निरौली प्राविमा काजमा पठाईदिएपछि १ देखि ४ कक्षा सम्मका चारजना विद्यार्थीलाई एकै कक्षाकोठामा राखेर पढाउनु परेको प्रअ घिमिरे बताउनुभयो । बाध्यताका कारण बहुकक्षा शिक्षण गराउनु परेको उहाँको भनाइ छ ।

बालबिकासका चार जनालाई बालबिकास शिक्षिका मनकुमारी खनालले पढाउँनुहुन्छ । बालबिकास बाहेक कक्षा १ देखि ४ सम्म एक-एकजनामात्रै विद्यार्थी छन् यो विद्यालयमा ।

एकै ठाउँमा विद्यार्थी राखेर पढाईरहेको विषयमा अनुगमनमा निस्केर आ-आफ्नो कक्षाकोठमा पढाई हुने वातावरण बनाईने नेर्पाका वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक माधव राईले बताउनुभयो । नेर्पाको शिक्षाका विषयमा फरक ढंगले अघि बढ्नलाई वडाभरीका विद्यालयमा प्रअ, विव्यास अध्यक्ष र अभिभावकसँग अनुशिक्षण कार्यक्रम समेत गरिसकिएको वडाध्यक्ष राई बताउँनुहुन्छ ।

भूकम्पले तीनकोठे भवन जीर्ण भएपछि भवनअभावमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेल सोल्मा कार्कीढुंगामा रहेको पुनस्थापित आधारभूत विद्यालयले टहराको एक कोठामा बालबिकासका सातजना र कक्षा-१ का आठ जनालाई एकै कोठामा राखेर पढाईरहेको प्रअ विन्दा कुमारी अधिकारीले बताउनुभयो ।

विद्यालयमा भवन पार्न पहल भईरहेको सोल्माका वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक ध्रुबविक्रम राई बताउँनुहुन्छ ।

विद्यार्थी संख्या घट्नुले झन विद्यार्थी नै मारमा पर्न थालेको अभिभावकहरु बताउँछन् । विद्यार्थी संख्या घट्दा शिक्षकले पढाएको राम्ररी बुझ्ने, शिक्षकले विद्यार्थीको गृहकार्य सबै जाँचगर्ने वातावरण बन्नुपर्नेमा सबैलाई एकै ठाउँमा भेलापारेर पढाउँदा झनै बालबालिकाको पढाई गिजोलिएको अभिभावकहरु बताउँछन् ।

अहिले सामुदायिक विद्यालयहरुमा दलित समुदाय र निम्नआर्थिक अवस्थाका परिवारका बालबालिकामात्रै अध्ययनरत छन् । दिनदिनै विद्यार्थी घट्दा सबैलाई एउटै कक्षामा राखेर पढाउँदा शिक्षाको गुणस्तर झन खस्किन थालेको छ ।

कक्षा १ देखि कक्षा ३ सम्म बहुकक्षा शिक्षण गर्न पाउने तर, कक्षा ४ लाई बहुकक्षा शिक्षण गराउन नपाईने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षाशाखा प्रमुख शिक्षा अधिकृत तिर्थबहादुर विश्वकर्माले बताउनुभयो ।

नियमविपरीत बहुकक्षा शिक्षण भएको भए अनुगमन गरेर नियमन गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराईले बताउनुभयो ।

जथाभावि बहुकक्षा शिक्षण गर्दा बालबालिकाको शिक्षण सिकाईमा हानी पुग्ने सरस्वती माध्यमिक विद्यालय दिक्तेलका पूर्व प्रधानाध्यापक एवंम् पूर्व शिक्षक ध्यानबहादुर राईले बताउनुभयो ।

बालबालिकालाई एकै ठाउँमा राखेर बहुकक्षा शिक्षण गराउनु कुनै पनि हिसाबले प्रभावकारी नहुने शैक्षिक रुपान्तरण अभियान्ता सुर्य राई बताउँनुहुन्छ । ‘एउटा तह र उमेर अनुसार कोर्ष हुने भएकाले बालबालिकालाई एकै ठाउँमा राखेर शिक्षण गराउनु त कुनै पनि हिसाबले प्रभावकारी हैन।’ अभियान्ता राईले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?