✍️ डा. प्रकाश भण्डारी
बेलायती नाटककार ‘टम स्टोप्पर्ड’ को भनाइमा यदि संसारलाई परिवर्तन गर्ने हो भने त्यसका लागि तुरुन्तै काम गर्ने क्षणिक हतियार ‘पत्रकारिता’ नै हो । हुन पनि हो-प्रेस जगतले कुनै राजनीतिक संगठनको जस्तो सडकको माध्यमबाट होइन कलमको माध्यमबाट जनमत र देशको वातावरणलाई संलो बनाउन सक्छ । लगानीको लागि उत्प्रेरकको भूमिका खेल्न सक्छ र दबाब समूहको रूपमा काम गर्न सक्छ । भ्रष्टाचार, कुशासन, आर्थिक हिनामिता, वित्तीय अपराध जस्ता विषयलाई महत्वका साथ प्रस्तुत गरेर प्रेस जगतले सरकार, समाज र व्यक्तिलाई समेत जवाफदेही, पारदर्शी र उत्तरदायी बनाइरहेको हुन्छ । प्रेस जगतका यी तमाम भूमिकाको आलोकमा अमेरिकी प्राध्यापक पत्रकार ‘बेन ब्यागडिकियन’ ले आमसञ्चारमाध्यमले औद्योगिक मुलुकहरूको सामाजिक सम्बन्धका साथै राजनीतिक, आर्थिक एवं कानुनी संरचनालाई सकारात्मक ढंगले ‘पान्तरण’ गरेको उल्लेख गरेका छन् ।
उद्योगको वर्गीकरण एवं विशेष आर्थिक क्षेत्रानुरूप कतिपय उद्योगलाई दिइने आयकर छुट, भन्सार महसुल, अन्तःशुल्क एवं मूल्य अभिवृद्धि करमा दिइने छुट, निकासीमा पाइने सहुलियत जस्ता विषयलाई उजागर गरेर स्वदेशी तथा विदेशी लगानीकर्ता उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रेस जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
हुन पनि कुनै पनि देशको आर्थिक विकासका लागि ‘औद्योगिक विकास’ अपरिहार्य मानिन्छ । औद्योगिक विकासले एकातिर स्वदेशमा रोजगारी बढाउने, आयस्तर बढाउने, माग बढाउने, उत्पादन बढाउने, त्यसका लागि लगानी बढाउने, बढेको लगानीले फेरि रोजगारी बढाउने गरी अर्थतन्त्रको सुचक्रलाई गतिशील बनाउन मद्धत गर्दछ भने अर्कातिर उत्पादित वस्तुको घरेलु उपभोग एवं निर्यातको क्रममा सञ्चालन हुने गतिविधिले सरकारी राजस्वमा वृद्धि हुने, विदेशी मुद्राको आर्जन बढ्ने, र समग्रमा राष्ट्रिय आम्दानी नै बढ्न गई देशमा आर्थिक विकासको चक्र स्वचालित हुन पुग्दछ । यसैले कुनै पनि देशको आर्थिक समृद्धिका लागि औद्योगिक विकासलाई ‘अहरिहार्य’ तत्व मानिन्छ ।
विकासक्रम र चुनौती
नेपालको सन्दर्भमा औद्योगिक विकासको विकासक्रम हेर्ने हो भने विसं १८८२ सालमा उद्योग परिषद्को स्थापनालाई पहिलो खुड्किलोको रूपमा लिन सकिन्छ । त्यसपछि, कम्पनी कानुन १९९३ सँगै विराटनगर जुटमिलको स्थापना, २००३ मा मोरङ सुगर मिलको स्थापना हुँदै २०१३ मा योजनाबद्ध विकासको प्रारम्भ भएपछि आद्योगिक विकासका लागि नीतिगत व्यवस्था हुँदै गएको पाइन्छ । २०४६ सालको परिवर्तनपछि २०४९ मा पहिलो औद्योगिक नीतिका साथै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ जारी गरेर देशले औद्योगिक विकासको कानुनी र नीतिगत संरचना विकास गरेको देखिन्छ ।
यति भए पनि अहिले नेपालमा औद्योगिक विकासका भिन्न प्रकारका चुनौती छन् । नेपालको विशिष्ट भौगोलिक अवस्थितिले केही व्यवधान गरेको त छँदैछ, त्यसमाथि अन्य अनगिन्ति आन्तरिक र बाहृय कारणहरूले पनि औद्योगिक विकासमा व्यवधान खडा गरेका छन् । औद्योगिक नीति २०६७ अनुसार नेपालमा राजनीतिक अस्थिरता, औद्योगिक असुरक्षा, असहज श्रमसम्बन्ध, ऊर्जाको न्यून उपलब्धता, कमजोर औद्योगिक पूर्वाधार सुविधा, दक्ष जनशक्तिको अभाव, प्रविधि ग्रहण गर्ने क्षमताको कमी, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुहरूको विविधीकरणमा कमी, कमजोर आपूर्ति व्यवस्थापन स्थिति जस्ता पक्ष औद्योगिक विकासमा देखिएका मुख्य समस्या र चुनौती हुन् ।
यो आलेखको प्रारम्भमै उल्लेख गरिए अनुसार यिनै समस्या र चुनौतीलाई चिर्न प्रेस जगतले भिन्न तरिकाले भूमिका निर्वाह गर्न सक्दछ । यसमा अझ खोज पत्रकारितालाई हेर्ने हो भने त यसले विश्वव्यापी रूपमै आर्थिक र वित्तीय अपराधलाई उजागर गर्दै स्वच्छ व्यवसायको लागि अभिप्रेरित गरेको देखिन्छ । ‘पानामा पेपेर्स’, ‘प्याराडाइज पेपर्स’, अनि कहिले ‘फिन्सेन फाइल्स’ जस्ता विश्वभर तहल्का मच्चाउने सामग्री पस्केर प्रेस जगतले विश्वव्यापी रूपमा नै ‘स्वस्थ र अनुकूल’ औद्योगिक वातावरणका लागि अहं भूमिका खेलिरहेको स्पष्ट नै देख्न सकिन्छ । औद्योगिक विकासमा प्रेस जगतले निर्वाह गर्ने यस्तै भूमिकालाई संक्षेपमा उजागर गर्नु यो आलेखको उद्देश्य हो ।
सूचना र सचेतनाका लागि प्रेस
औद्योगिक विकासको पक्षमा आमधारणाको विकास गर्न प्रेस जगतकै प्रमुख भूमिका रहन्छ । औद्योगिक विकासका लागि आमसचेतना जगाउने र आवश्यक नीतिगत, कानुनी, आर्थिक एवं राजनीतिक वातावरणको लागि पैरवी गर्दै औद्योगिक क्षेत्रका लागि सरकारले नीतिगत, कानुनी र व्यावहारिक रूपमा प्रदान गरेका सुविधा तथा सहुलियतका बारेमा आमउद्यमी र सम्भावित उद्यमीहरूलाई यथोचित जानकारी दिएर लगानी आकर्षित गर्न र नवप्रवर्तन पभिप्रेरित गर्न प्रेस जगतले अग्र पंक्तिमा रहेर भूमिका निर्वाह गरिरहेको हुन्छ ।
उद्योगको वर्गीकरण एवं विशेष आर्थिक क्षेत्रानुरूप कतिपय उद्योगलाई दिइने आयकर छुट, भन्सार महसुल, अन्तःशुल्क एवं मूल्य अभिवृद्धि करमा दिइने छुट, निकासीमा पाइने सहुलियत, महिला उद्यमीहरूका लागि गरिएका विशेष सहुलियतपूर्ण व्यवस्थाजस्ता विषयलाई उजागर गरेर स्वदेशी तथा विदेशी लगानीकर्ता उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रेस जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
जानकारीमात्र होइन, विद्यमान कानुनी, नीतिगत एवं संरचनागत अवस्थिति तथा कार्यप्रणालीका बारेमा समीक्षा तथा विश्लेषण गरी सम्बद्ध पक्षलाई आवश्यक सुझाव पेश गर्ने काममा पनि प्रेस जगतको योगदान रहन सक्छ ।
विदेशी लगानीकर्तालाई आकर्षित गर्न त झन् प्रेसले अहं भूमिका निर्वाह गर्दछन् । देशको आर्थिक, राजनीतिक, एवं व्यावसायिक स्थितिको यथार्थ चित्रण विदेशी लगानीकर्ता समक्ष पुर्याउने एकमात्र माध्यम प्रेस नै हो ।
उद्यमशीलता तथा लगानी प्रवर्धनको लागि प्रेस
उद्यमशीलताको प्रवर्धनमा पनि प्रेस जगतले अहं भूमिका निर्वाह गर्दछ्र व्यवसाय, व्यवसायी, उद्योग, उद्योग पति आदिका सफलताका कथाहरू प्रस्तुत गरी आमजनतामा र निजी क्षेत्रमा यसले उद्यमशीलताको प्रवर्धन गर्न मद्दत पुर्याउने गर्दछ्र सिर्जनशील विचार तथा रणनीतिलाई उजागर गरेर प्रेस जगतले उद्यमशीलताको चलायमान इकोसिस्टम विकास गर्न मद्दत गर्दछ । सकारात्मक संदेशको प्रवाहद्वारा स्वदेशी एवं विदेशी लगानीकर्तालाई आकर्षित गरी लगानी प्रवर्धन गर्ने तथा उद्योग विशेषका सफलताको कथालाई प्रस्तुत गरेर नयाँ उद्योगको लागि अभिप्रेरित गर्ने काम पनि प्रेस जगतले गर्न सक्छ ।
पैरवी र पहरेदारीका लागि प्रेस
समाज र सरकारको पहरेदारको रूपमा यसले औद्योगिक गतिविधिको निगरानी राख्ने तथा वतावारण, श्रमिक, सामाजिक उत्तरदायित्व, श्रमिक अधिकार जस्ता विषयमा समाचार तथा विश्लेषण प्रस्तुत गरी सरकार तथा उद्योग स्वयंलाई जवाफदेही बनाउन भूमिका खेल्छ । औद्योगिक विकासमात्र होइन समग्र आर्थिक विकासको लागि सुशासन प्रमुख शर्त हो र सुशासनको सबैभन्दा महत्वपूर्ण खम्बाको रूपमा ‘पारदर्शिता’लाई लिने गरिन्छ । सरकार, र अन्य सम्बद्ध सबैलाई पारदर्शी र जवाफदेही बनाउन खेल्ने भूमिकाद्वारा प्रेस जगतले प्रकारान्तरले औद्योगिक विकासमा योगदान दिन सक्छ ।
त्यतिमात्र होइन, प्रेस जगतले औद्योगिक क्षेत्रका विभिन्न कार्यक्रम, सम्मेलन, जस्ता विषयको बारेमा प्रस्तुत गर्ने समाचार एवं विश्लेषणले तत्क्षेत्रका निकायबीच समन्वय, सहकार्य र सहयोगको वातावरण त विकास गर्छ नै सम्बद्ध सरकारी एवं अन्य निकायसँग गर्नुपर्ने पैरवीका लागि सम्बद्ध पक्षहरूका बीच बलियो सञ्जाल र सहकार्यको विकास गर्नसमेत उल्लेख्य रूपमा मद्दत गर्दछ ।
प्रविधि हस्तान्तरण र सुसूचित निर्णयका लागि प्रेस
औद्योगिक क्षेत्रमा विकसित भएका नवीनतम् प्रविधि तथा अन्वेषण बारेमा सूचना तथा जानकारी प्रस्तुत गरेर प्रविधि हस्तान्तरणमा समेत प्रेस जगतले भूमिका निर्वाह गर्न सक्दछ । यसरी हुने प्रविधि हस्तान्तरणले औद्योगिक क्षेत्रले आधुनिक प्रविधि, प्रणाली एवं पद्धतिको अवलम्बनद्वारा औद्योगिक उत्पदकत्व बढाउन सक्दछ । निरन्तर रूपमा बजारको विकसित प्रवृत्ति र मागको अवस्थाको बारेमा यथार्थ चित्रण प्रस्तुत गरेर प्रेस जगतले सम्बद्ध पक्षलाई सुसूचित तवरले निर्णय लिन पनि सघाउ पुर्याउँदछ ।
विदेशी लगानी आकर्षित गर्नक लागि प्रेस
विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि त झन् प्रेसले अहं भूमिका निर्वाह गर्दछन् । देशको आर्थिक, राजनीतिक, एवं व्यावसायिक स्थितिको यथार्थ चित्रण विदेशी लगानीकर्ताहरू समक्ष पुर्याउने एक मात्र माध्यम प्रेस नै हो । नाइजेरियाको ड्यान्गोटे समूहले गर्न लागेको ठूलो मात्राको लगानीलाई हतोत्साही बनाउन जे जसरी राजनीतिक क्षेत्रबाट सिमित व्यावसायिक घरानाको स्वार्थमा वातावरण धमिल्याउने काम भयो, त्यस्तो हर्कतको पटाक्षेप गर्न पनि प्रेस जगतले सशक्त भूमिका खेल्न सक्छ, खेल्नुपर्छ । ड्यान्गोटेलाई प्रवेश हुन नदिनका लागि के कस्ता हथकण्डा प्रयोग गरिए भन्ने कुराको सही समयमा प्रेस जगतले पटाक्षेप गर्न सकेको भए ड्यान्गोटे त होइन त्यस्तै अर्को कम्पनी आउने बाटो अवरुद्ध गर्ने प्रयासमा केही कमी भने पक्कै हुने थियो ।
तुलनात्मक लागत-लाभ विश्लेषणका लागि प्रेस
औद्योगिक विकासको बारेमा कुरा गर्दा अहिले सबैभन्दा महत्वपूर्ण विषयका रूपमा तुलनात्मक लागत र लाभका बारेमा चर्चा गर्नैपर्ने हुन्छ । अहिलेको विश्व अर्थव्यवस्थामा आएको परिवर्तनसँगै विश्वव्यापीकरणको सन्दर्भमा यदि तुलनात्मक रूपमा कम लागत पर्ने उत्पादनको पहिचान गरेर सोही अनुरूप उत्पादन नगर्ने हो भने जति उद्योग खोले पनि अन्तत्वगत्वा ती उद्योग देशका लागि भारमात्र सावित हुनेछन् । त्यसैले विश्वव्यापीकरणका प्रभाव, तुलनात्मक लाभ र प्रतिफलको उचित विश्लेषणात्मक प्रस्तुतिद्वारा प्रेस जगतले सरकार र निजी क्षेत्रका लागि उपयुक्त र लाभदायक औद्योगिक क्षेत्रको पहिचान गरी दिगो, भरपर्दो र लाभकारी औद्योगिक विकासका लागि समेत मार्गदर्शकको भूमिका निर्वाह गर्न सक्दछ । (लेखक अर्थविद् डा. भण्डारी बैंकिङ सेवामा कार्यरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच