काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बुधबार)देखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा आसन्न महासमिति बैठक र सरकारको समीक्षासहितका एजेण्डामा छलफल हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेस सहभागी छ । गठबन्धन सरकारमा कांग्रेसको ठूलो हिस्सा छ । प्रचण्ड नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सहभागी कांग्रेसबाट नौजना मन्त्री छन् । मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो ।
कांग्रेसले बैठकमा मुख्यगरी मन्त्रीहरूका काम कारबाहीको समीक्षा गर्ने तयारी गरेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री र समग्र सरकारका काम कारबाहीसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने तयारी गर्नुभएको छ । मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउने कार्यसूची छ । साथै, बैठकमा महासमिति बैठक तयारी र राष्ट्रियसभा निर्वाचनलगायत विषयमा पनि छलफल हुने बताइएको छ । फागुनमा ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय भएको थियो । २०७८ मंसिरमा १४औँ महाधिवेशन गर्दा कांग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो । नीति महाधिवेशनको समेत काम गर्ने गरी महासमिति बैठक आहृवान गरिएको हो । विधानमा महाधिवेशन भएका वर्षबाहेक अरू वर्ष कम्तीमा एकपटक महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ । तर, १४आँै महाधिवेशनपछि कांग्रेसले एकपटक पनि महासमिति बैठक गरेको छैन ।
केन्द्रीय समिति बैठकमा आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनको तयारीबारे पनि छलफल गर्दै छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० पद रिक्त हुँदै छ । तीमध्ये राष्ट्रियसभाका १९ सिटका लागि चुनाव हुन लागेको हो । एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । राष्ट्रियसभा चुनावमा कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गर्ने निर्णय गरिसकेको छ । राष्ट्रियसभा अध्यक्षसमेत लिने गरी कांग्रेसले चुनावी तालमेल गर्ने गृहकार्य गरेको छ । राष्ट्रियसभा अध्यक्षका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता गोपालमान श्रेष्ठ लगायतको चर्चा छ । निर्वाचन आयोगले यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ । यस्तै, बैठकमा राष्ट्रियसभाको उम्मेदवारको मापदण्ड पनि तयार पार्ने बताइएको छ । कांग्रेसमा अहिले केन्द्रीय नेताहरूले नै राष्ट्रियसभामा जाने आकांक्षा गरेपछि उम्मेदवार छान्न सकस परिरहेको छ । तर,कांग्रेसमा चुनाव हारेका र समानुपातिकमा बसेकालाई राष्ट्रियसभामा ल्याउन नहुने चर्को आवाज उठेको छ । संस्थापनइतर समूहले उम्मेदवार तय गर्दा निश्चित मापदण्ड बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराइसकेको छ ।
मन्त्रीहरूको ‘रिपोर्ट कार्ड’ केन्द्रीय समितिमा
सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सरकारको समीक्षाका साथै पार्टीबाट सरकारमा गएका मन्त्रीहरूसँग रिपोर्ट कार्ड माग्ने भएको छ । बुधबार धुम्बाराहीमा भएको छलफलले बैठकको एजेण्डा तय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । केन्द्रीय समिति बैठकमा पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूले एक वर्षसम्म आफूले गरेको कामको प्रगति विवरण बुझाउने जानकारी दिँदै प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘बैठकमा मन्त्रीज्यूहरूले आफ्नो रिपोर्ट बुझाउनुहुन्छ । उहाँहरूको प्रगति विवरण सुनेपछि केन्द्रीय सदस्य साथीहरूले उहाँहरूलाई प्रश्नोत्तर गर्नुहुन्छ ।’
बैठकमा मन्त्रीहरूले दिएको जवाफमा चित्त बुझे राम्रो, नबुझे त्यही अनुसारको निर्णय बैठकले लेख्ने उहाँको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारप्रति संस्थापन पक्ष नरम रूपमा प्रस्तुत भए पनि इतर पक्ष कडा रूपले प्रस्तुत हुने तयारीमा छ । इतर पक्षको नेतृत्व गरिरहनुभएका डा.शेखर कोइरालायो सरकारको विकल्प खोज्न ढिला गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । महामन्त्रीद्वय थापा र शर्मा, अर्का नेता प्रदीप पौडेललगायत अधिकांश नेताहरू सरकारको नेतृत्वप्रति मात्रै नभइ पार्टीबाटै सरकारमा गएका मन्त्रीहरूको कामप्रति सन्तुष्ट छैनन् । प्रधानमन्त्री प्रचण्डले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई हटाउने तयारी गर्नुभएको छ । मंगलबार आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै काम गर्न नसके मन्त्रीले मात्रै नभई आफूले पनि ठाउँ ओगटिराख्न नहुने बताउनुभएको थियो । तर, कांग्रेस सभापति देउवाले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै मन्त्री फेरबदल गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री प्रचण्ड रोकिएको नेताहरूको भनाइ छ ।
राष्ट्रियसभा सदस्यको लागि २५ केन्द्रीय नेता आकांक्षी
नेपाली कांग्रेसका २५ केन्द्रीय नेताले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवार आकांक्षीको सूची तयार पार्दा २५ केन्द्रीय सदस्यको नाम आएको छ । कोशी र बागमतीबाट आठ÷आठ जना, गण्डकीबाट पाँच, लुम्बिनीबाट चारजना र कर्णालीबाट एकजना केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य उम्मेदवारको आकांक्षी छन् । सुदूरपश्चिम प्रदेश समितिले भने जिल्लाबाट प्राप्त सबै नाम पठाउने निर्णय गरे पनि अन्तिम टुंगो लगाएको छैन । मधेशले नाम संकलन गरिनसकेको प्रदेश तहका नेताले जानकारी गराएका छन् ।
कोशीबाट केन्द्रीय नेताहरू कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल, डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरुङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम सिफारिस भएको छ । नेताहरू महेश आचार्य र गुरुराज घिमिरेको नाम प्रदेशबाट सिफारिस गरिएको छ । सिटौला गत आम निर्वाचनमा झापा-३ बाट पराजित हुनुभएको थियो । गत निर्वाचनमा प्रतिनिधिसभामा उम्मेदवारको आकांक्षी रहनुभएका केन्द्रीय सदस्यद्वय रिजाल र संग्रौलाले मोरङमा टिकट पाउनुभएको थिएन । सुजाता मोरङ-२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएको थियो । पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिमा पराजित महेश आचार्यले गत निर्वाचनमा टिकट पाउन सक्नुभएन । घिमिरे गत निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित हुनुभएको थियो । कोशीमा अन्य र महिला दुई क्लष्टरका लागि चुनाव हुँदै छ । सिटौलालाई अन्यबाट पहिलो नम्बरमा र सुजातालाई महिलाबाट पहिलो नम्बरमा राखेर नाम सिफारिस गरिएको छ । दुई पदका लागि कोशीबाट कांग्रेसले ७० जनाको नाम सिफारिस गरेको छ । बागमती प्रदेशबाट केन्द्रीय सदस्य मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठ उम्मेदारको आकांक्षी सूचीमा हुनुहुन्छ । काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, काठमाडौं महानगरका सभापति निलकाजी शाक्यको नामसमेत सिफारिस भएको छ ।
गण्डकीबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, धु्रव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ । पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सहमहामन्त्रीका उम्मेदवार देवराज चालिसे लगायतको नाम गण्डकीबाट पठाइएको छ । लुम्बिनीबाट केन्द्रीय सदस्यहरू डा. गोविन्द पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ । कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीको नाम भएको छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनका लागि प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा रहेकामा आठ र प्रदेशसभा निर्वाचनको समानुपातिक सूचीमा रहेका १० जनाले नाम फिर्ता लिएका थिए ।
नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस
राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाउनुभएको हो । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । शाहले आफू राष्ट्रियसभा सदस्यको आकांक्षी रहेको यसअघि नै बताइसक्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच