बागलुङ महोत्सवले व्यवसाय चलायमान हुने अपेक्षा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । डेढ दशक अगाडिसम्म बागलुङ बजार व्यापारीक केन्द्र जस्तै थियो । जब गाउँ–गाउँसम्म मोटरबाटो पुग्यो त्यसपछि बजारको व्यापार व्यवसाय घट्दै गयो । चाडपर्व र मेला महोत्सवमा भने यहाँ निकै व्यापार हुने गर्दथ्यो । व्यापार व्यवसाय फस्टाउनका लागि उद्योग वाणिज्य संघले बागलुङमा हरेक तीन÷तीन वर्षमा महोत्सव लगाउँदै आएको थियो भने वर्षेनी चैते दसैँ मेला लाग्ने गर्दथ्यो ।

वि.सं. २०७६ मा कोरोना संक्रमणले विश्वलाई आक्रान्त बनायो । त्यसपछि बागलुङमा मेला महोत्सव ठप्प भए भने व्यापार पनि ह्वात्तै घट्यो । अहिले फेरि बागलुङमा सातौँ महोत्सव सुरु भएको छ । पुस ११ गतेबाट सुरु भएको महोत्सव आगामी २१ गतेसम्म संचालन हुने छ ।

महोत्सवले बजारको व्यापार व्यवसाय चलायमान बनाउने भन्दै व्यवसायी उत्साहित भएका छन् । बजारका व्यवसायी मात्रै होइन ग्रामीण क्षेत्रमा उद्यम गर्दै आएका किसानलाई पनि महोत्सवले ठूलो टेवा पु¥याउने छ । कला, संस्कृतिको संरक्षण, पर्यटकीय क्षेत्रको प्रचार प्रवद्र्धनमा मेला महोत्सवले ठूलो भूमिका खेल्दै आएका छन् । तीन वर्ष यता बागलुङ बजारको व्यवसाय सुस्त बनेको छ । वि.सं. २०७६ सालपछि अहिले बल्ल यहाँ महोत्सव संचालन भएको छ । गत वर्षनै गर्ने भनिए पनि आर्थिक मन्दी, एकै पटक म्याग्दी र पर्वतमा महोत्सव संचालन हुँदा बागलुङ हुन सकेको थिएन । चैते दसैँ मेलामा पनि बजारको व्यवसायमा चलायमान आउन सकेको थिएन ।

अहिलेको दिनप्रति दिन घट्दै गएको बजारको व्यवसायलाई जगाउन सकरात्मक भूमिका खेल्ने होटल व्यवसायी गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । मेला महोत्सवमा धेरै ठाउँबाट मान्छेहरु व्यापार व्यवसाय तथा रमाइलो गर्न आउने हुँदा बजारमा किनेमल बढी हुने उहाँको भनाइ छ । चाडवाड र पर्यटन याममा होटल व्यवसाय चले पनि साना व्यापारी भने थला परेको अध्यक्ष चोखालले बताउनुभयो । महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दा यसको गरिमा बढेको र देशव्यापी रुपमा प्रचार भएको भन्दै व्यवसायी गतिबिधि बढी हुने उहाँ बताउनुहुन्छ ।
“यो महोत्सवले व्यवसायीहरु खुसी हुनुहुन्छ, कहिले कोरोना, कहिले आर्थिक मन्दीले गर्दा बजार चलायमान हुन सकेको थिएन, दिनदिनै व्यवसायीहरुले पसल बन्द गरि रहेको अवस्था छ, यो महोत्सवले फेरि पनि व्यवसाय चलायमान बनाउन सकरात्मक भूमिका खेल्छ भन्ने लागेको छ,” अध्यक्ष चोखालले भन्नुभयो – “होटल व्यवसायहरु राम्रो छ, किनमेल बढेको छ, गाउँबाट मान्छे आउँछन्, उनीहरुले बजारबाट नुनदेखि सुनसम्मको कारोबार गरेर फर्किन्छन्, त्योसँगै पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खेल्छ, राष्ट्रपतिले उत्घाटन गर्नुभयो, प्रचार पनि बढी भयो धेरै ठाउँबाट मान्छे आउने हुँदा व्यवासय पनि राम्रो हुने देखिन्छ ।”

बागलुङ नगरपालिका– २ का फेन्सी व्यवसायी डिबी कार्कीले लामो समयदेखि व्यापार नहुँदा महङ्गी र चर्को घर भाडाका कारण व्यापारी पलायन हुँदै आएको भन्दै महोत्सवले केही राहत मिल्ने बताउनुभयो । महोत्सव आयोजक समितिले बाहिरीभन्दा स्थानीय व्यापारीलाई प्राथमिकता दिनु पर्ने उहाँको भनाइ छ । एकै वर्षमा दर्जन बढी पसलहरु बन्द गरेर व्यापारी विदेशिनु परेको कार्कीले बताउनुभयो । महोत्सव सुरु भएदेखि सकिदासम्म आर्थिक कारोबार राम्रो हुने अपेक्षा गरेको उहाँ बताउनुहुन्छ ।

कार्कीले भन्नुभयो – “महोत्सवमा चलहपल बढ्दै छ, मान्छेहरु पनि टाढा–टाढाबाट आउने क्रम चलेको छ, बजारमा हिँजो अस्तिको भन्दा केही चलहलपहल बढेको पनि छ, मेला महोत्सव गर्नुले व्यापारीलाई सबैभन्दा धेरै फाइदा हुन्छ, मेला हेर्न आएकाहरुले बजारबाट केही न केही किनेरै जाने हुँदा व्यवसाय सक्रिय हुन्छ, अहिलेसम्म सुस्ताएको बागलुङको व्यवसायहरु अब चाही अलि चलायमान हुन्छन् भने अपेक्षा छ, कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म हामीहरु धेरै मारमा परि रहेका थियौँ ।”

उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जिल्लाको कृषि, पर्यटन र व्यवसायलाई प्रवद्र्धनक गर्नका लागि महोत्सव आयोजना गरेको बताउनुभयो । लामो समयदेखि यहाँका व्यवसायी कहिले कोभिड–१९ त कहिले सहकारीका कारण पीडित बन्दै आएको भन्दै उनीहरुलाई पलायन हुनबाट रोकी सहज रुपमा काम गर्ने वातावरण सिर्जना गर्न महोत्सवले महोत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । यस पटक स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिएको र ब्राण्डिङ गर्न तर्फ उत्साहितसमेत गरि रहेको अध्यक्ष कँडेलले बताउनुभयो ।

“विभिन्न कारणले गर्दा गत वर्षमा महोत्सव हुन सकेन, यस वर्ष सबै व्यवसायीहरुसँग सहकार्य गरेर सुरु गरेका छौँ, महोत्सव सुरु भए पनि व्यवसायीहरु पनि उत्साहित हुनु भएको छ, मेला महोत्सवले बजारमा चहलपहल बढ्ने हुँदा व्यापार पनि स्वभाविक रुपमा हुनेनै भयो” अध्यक्ष कँडेलले भन्नुभयो – “पर्यटक पनि बढीभन्दा बढी भित्राउने लक्ष्य राखेका छौँ, महोत्सवले व्यवसायसँगै पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसा हुने आशा गरेका छौँ ।”

१० दिनसम्म संचालन हुने महोत्सवका करिब १० करोडको कारोबार हुने अनुमान गरेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव ऋषि गोतमले बताउनुभयो । महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?