सत्तासीनहरूका लागि जहिल्यै प्रजातन्त्र नै हुन्छ । जुनसुकै प्रणाली भए पनि तिनले सुख-सुविधा भोग गर्न पाएकै हुन्छन् । राणा शासनकालमा जनतालाई अधिकार थिएन तर राणाहरूलाई कुनै कुराको कमी थिएन । पञ्चायतमा पनि त्यही हो । मन्त्री, प्रधानमन्त्री र अन्य पदासीनले अधिकार पाएकै थिए, सुख-सुविधा भोगेकै थिए । उनीहरू जहाँ गए पनि रातो कार्पेटको स्वागत पाउँथे । त्यसैलै पञ्चायतमा प्रजातन्त्र छैन भन्दा उनीहरूलाई पत्यार हुँदैनथ्यो । पञ्चायतका नेताहरू एक ठाउँ स्याल बन्ने र अरू सबै ठाउँमा बाघ बनेर हिँड्ने नीतिका साथ चल्ने गर्थे । राजाका सामु स्याल बनेपछि जनताका सामु बाघ बन्न पाइन्छ भन्थे ।
तिनलाई पञ्चायतमा पनि प्रजातन्त्र थियो । उनीहरू ‘पञ्चायती प्रजातन्त्र’ भन्ने गर्थे । वर्तमान सरकार जनताको सरकार हो, प्रजातान्त्रिक सरकार, लोकतान्त्रिक सरकार वा गणतान्त्रिक सरकार जे भने नि हुन्छ । तर, यो राज्यपद्धति जनताको सहयोगमा उनीहरूकै पहलमा ल्याइएको भए तापनि उनीहरूलाई नै यसप्रति भरोसा छैन । त्यसैले जसरी, जहिलेसम्म भए पनि सत्ताको सुविधा लिने एकमात्र अभिष्ट आजका नेताहरूले लिएको पाइन्छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने नेताहरूले जनतालाई ‘जनार्दन’ भन्ने गर्नुभएको थियो तर आज निर्वाचनका बेला आफूसँग भएको अकूत सम्पत्तिले भोट किनेर भए पनि जित्छु, अरू बेला जनताको आवश्यकता किन पर्यो ? भन्ने मानसिकताबाट नेताहरू गुज्रिरहेका छन् । यसले गर्दा देश झन् दुर्गतिको गर्तमा भासिँदै गइरहेको छ ।
गत शुक्रबार बालकुमारीमा राज्यसत्ता उल्ट्याउने गरी वा पञ्चायतमा भन्ने गरेको राजगद्दी नै ताक्ने गरी कुनै ठूलो आन्दोलन भएको थिएन । केही बेरोजगार युवाहरूले विदेश जानका लागि जाँच दिन पाऊँ भनेर नारा जुलुससँगै अवरोध गरे । भोकाहरूले खाना पाऊँ भनेर माग गरेका थिए तर सरकारले तिनका छातीमा ताकी-ताकी गोली ठोक्यो । ती कलिला युवाहरूको अनाहकमा ज्यान गयो । हुनसक्छ भोलि सरकारले तिनका नाममा केही रकम दिन्छ र आफन्तको आँसु पुच्छ । ती बीस-बाइस वर्षका युवाहरूको हत्या हुँदा तिनका आमाबाबु, आफन्तजनले कसरी सहने ? कसरी सरकारलाई प्रजातान्त्रिक सरकार अथवा आफ्नो (जनताको) सरकार भन्ने ? यो सरकारले यस्ता प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ?
देशका अधिकांश युवा श्रम गर्न विदेशमा गएका छन्, क्रम दिन प्रतिदिन बढिरहेको छ । श्रमिक आपूर्ति गर्ने देशका रूपमा देशको चिनारी स्थापित भइरहेको छ । सरकार अरू थप श्रम गन्तव्य पहिचान गर्नतिर तल्लीन छ । सरकार विभिन्न देशलाई आफ्ना श्रमिक लिइदिन अनुनय गरिरहेको छ । देश दिनप्रतिदिन पराधीनताको गर्तमा जाकिँदै गइरहेको छ । बालकुमारी काण्ड जनतालाई गोली ठोक्नै पर्ने अवस्थाको थिएन । जसले त्यहाँ गोली हान्ने आदेश दिएको छ त्यसले मानव अधिकारको उल्लंघन गरेकै छ । माननीय गृहमन्त्रीले सिधैं आदेश दिएको होस् वा ललितपुरको प्रमुख जिल्ला अधिकारी वा प्रहरीको उपल्लो स्तरको अधिकारी जसले आदेश दिएयो सर्वथा अनुचित हो ।
लोकतन्त्र वा गणतन्त्रकै अनुहारमा कालो पोतिएको छ । हत्याको राजनीति गरेर सरकारमा पुगेकाहरूबाट पुनः हत्याकै राजनीतिको पुनरावृत्ति गरियो भनेर जनस्तरबाट व्यापक रूपमा विरोधका आवाज उठेका छन् । प्रतिपक्षी दलहरूले छानविनको माग छ भने सरकारमा सहभागी दलले समेत छानविनको माग गरेका छन् । सामान्य घटनामै गोली चलाउने र मानिस मार्ने हो भने हिजोका निरंकुश प्रणालीहरू र आजको लोकतान्त्रिक प्रणालीबीचको फरक जनताले कसरी थाहा पाउने ? भोलि के कसो होला आज सत्तामा रहेका बेला जे जति सकिन्छ कमाउनुपर्छ भन्ने मान्यताले डोहो¥याएर विभिन्न पार्टीका नेताहरू आफ्नो निकटका व्यक्तिका माध्यमबाट अनियमिता र भ्रष्टाचारका घटनामा फस्तै गइरहनु भएको छ ।
यस्तै स्वार्थ, लोभानी पापानी आदिका कारण हिंसात्मक घटना सिर्जना हुन पुग्नेहुन् । केही समयपूर्व दुर्गा प्रसाईले आयोजना गरेको प्रदर्शनमा समेत सरकार बढी आक्रामक बन्न पुगेको थियो । राष्ट्रिय पोशाक र ढाकाटोपीलगाएका मानिसलाई पनि प्रहरीले पक्राउ गरेको थियो । आफ्नै देशमा आफ्नै भेषभूषाको प्रयोग गर्न नपाउनु भनेको अर्को धर्म संस्कार संस्कृतिलाई प्रोत्साहित गर्नु हो । त्यसको केही समय बित्ता नबित्दै पर्यटनमन्त्री मुखपात्र बनेर यो कुरा सार्वजनिक समेत बन्नपुग्यो । सम्यमता सरकारले अपनाउने हो जनताले होइन । हातमा हतियार भएकाले हतियार कहाँ र कसरी प्रयोग गर्ने भन्ने विवेक राख्नसक्नुपर्छ नत्र आँखा नभएको हतियारले जसलाई पनि प्रहार गर्न सक्छ भन्ने हो भने त्यसको परिणाम गलत निस्कने कुरा ध्रुवसत्य हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच