सदरमुकाम मै छैन व्यापार : ब्यापारीहरूलाई किस्ता तिर्नै मुस्किल

हिमालय टाइम्स
Read Time = 6 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको प्रमुख ब्यापारी केन्द्र गमगढी बजारमा केही बर्ष यता व्यापार ब्यवसाय क्रमिक रूपमा घट्दै जाँदा ब्यापारीहरू चिन्तित बनेका छन् ।

जिल्लामा बेरोजगारीको संख्या बढ्दै गएपछि रोजगारीको लागि बैङ्क तथा बित्तिय संस्थाबाट ऋण लिएर व्यापार ब्यबसाय गर्दै आएका ब्यापारीहरू हाल दैनिक जसो अपेक्षित ब्यापार नहुँदा चिन्तित बनेका हुन् ।

लाखौं रूपयाँको लगानी गरी सोचे अनुसारको ब्यापार नचले पछि केही व्यापारी सटरको भाडा र बैंकको किस्ता तिर्न नसकेपछि बिस्थापित भैसकेका छन् भने केही ब्यापारीहरू बिस्तापित हुने क्रममा रहेका छन् ।

केही बर्ष अगाडि सामान्य अवस्थाको ब्यपार ब्यवसाय पछिल्ला दिनहरूमा ह्वात्तै घटेको ब्यापारीहरूले बताएका छन् । गमगढी तल्लो बजारमा फेन्सीलगायत अन्य खु्ु्द्रा पसल सन्चालन गर्दै आएका व्यापारी नरजङ् शाहीले भन्नूभयो केही बर्ष अघि राम्रो व्यापार हुने गर्दथ्यो तर आज भोली दिनमा पाँच सयको पनि व्यापार हुँदैन ।

'गाउँका मान्छेसँग पैसा पनि छैन । बिगतमा तल्लो हुम्लाबाट ग्राहकहरू किनमेलका लागि यहाँ आउँथे । तर कर्णाली करिडोर बनेपछि हुम्लाका ग्राहक पनि आउँदैनन् । विकासको पैसा हो जनतासङ्ग हुने साना साना योजना हुदैनन् । ठुला ठेकेदारवाला योजनाका कामदार जिल्ला बाहिरबाट ल्याउछ्न् अनि कसरी चल्छ व्यापार ? अब कसरी बैङ्कको किस्ता तिर्ने ? अनि सटरको भाडा ?' शाहीले प्रश्न गर्नुभयाे । अब केही महिनामा पसल छोड्नुको बिकल्प नभएकाे उहाँले बताउनुभयो ।

व्यापार नभएको पीडा केवल नरजङ् शाहीको मात्र हैन । यस्तै पिडा गमगढी माथिल्लो बजारका फेन्सी पसल गर्दै आउनु भएका हरिकृष्ण ऐडीको पनि छ । उहाँ भन्नुहुन्छ,- 'मैले लाखौ रूपैयाँ लगानी गरेर फेन्सी पसल सन्चालन गरेँ तर भने जस्तो ब्यापार नै छैन, व्यापार धेर‌ै घटेको छ । पहिले धेरै चहल पहल हुने गमगढी बजार अहिले दिनमा सुनसान जस्तै हुने गर्छ ।'

शाही र ऐडि गमगढि बजारका प्रतिनिधि व्यापारी हुन् । यहाँ रहेका सबै साना ठुला व्यापारी तथा होटल ब्यवसाय गर्दै आएकाहरू पीडा समान छ ।

पछिल्लो समयमा गमगढी बजारबाट व्यापार नभएपछि ब्यापारीहरू बिस्तापित हुने क्रम बढेको नेपाल उ्द्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताउनु भयो । जिल्लामा बेरोजगारको संख्या बढ्दै जानुका साथै जिल्लामा ठुलो संख्यामा जनतालाई रोजगार दिएको ग्रामिण पहुँच कार्यक्रमको म्याद सकिनु र अन्य कुनै किसिमका रोजगार मुलक आयोजनाहरू जिल्लामा सन्चालन नहुँनु तथा जिल्लाको आर्थिक स्थिति चलायमान नहुँदा ब्यपार ब्यवसाय चौपट परेको अध्यक्ष बुढाको भनाई छ ।

नेपालकै प्रमुख पर्यटकिय गन्तब्यको रूपमा रहेको नेपालकै ठुलो र गहिरो ताल राराबाट केही हुन सक्छ कि भनेर कुरेका गमगढीबासी जनता तथा ब्यापारीहरू रारा आएका पर्टकहरू गमगढी नझरी उतैबाट फर्कने गरेकाले ब्यापारीहरूको आशा आशामै सिमित रहेको पनि अध्यक्ष बुढाको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिका वडा नं ७ पिनाको राताचौरबाट मालबाहक गाडी साबिक कै रोडमा पठाउने र पर्यटक तथा अन्य यात्रु बोकेका गाडीहरू गमगढी आउने तल्लो बाटो सुधारेर बालै हुँदै गमगढी-रारा जाने ब्यवस्था मिलाएको खण्डमा सुक्न लागेको गमगढी बजारको ब्यवसायमा केही सुधार हुने थियो । अध्यक्ष बुढाले नेतृत्व तह र राज्यका अगुवालाई यो खण्ड खुलाउन आग्रह गर्नुभयो ।

हाल पिनाको राताचा‌ैर देखि बालै बगर र बालैदेखि बोटुधाराका केही स्थानका सडक खण्डहरू २०७९ साल असोजमा लगातार एक हप्ता परेको भिषण पानीले तहस नहस पारेको उक्त सडक हाल सम्म पनि मर्मत हुन नसक्दा स्थानियहरू सवारी साधनबाट सवार हुँदा बैकल्पिक लामो बाटो प्रयोग गरिरहेका छन् ।

यथासिघ्र पिना-बालै-गमगढी-रारा सडक मर्मत गर्नुपर्ने स्थानिय जनताले माग गरेका छन् । यो खण्डको सडक सडक मापदण्ड अनुसार बनाएमा सदरमुकाम गमगढी आउन १० कि.मि छोटो पर्ने र गमगढी बजारको व्यापार व्यवसायहरु चलाएमान हुने व्यापारीहरु बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?