आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 8 mins

जुम्ला । मुगु जिल्लामा अवस्थित राराताल आन्तरिक पर्यटनको प्रमुख आकर्षणको मुख्य गन्तव्य हो । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट २ हजार ९९० मिटर उचाइमा रहेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी यस रारा निकुञ्ज भित्र पाइन्छन् । रारा ताल जानका लागि बर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धैरेजसो आन्तरिक पर्यटन जाने गर्छन । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेको छायाँनाथरारा नगरपालिका-७ का स्थानीयवासि राजु मल्ले जानकारी दिनुभयो ।

रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिलीचौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नु पर्छ । तर, पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाहरुको व्यवस्था समेत छ । सवारी साधन छोडेपछि करीब ३० मिनेटको यात्रापश्चात तालको छेउ पुग्न सकिन्छ । तालको छेउ पुगेपछि हिडाइँको थकान सबै मेटिने गर्छ । राराताल मुगुको मात्रै नभएर देशकै गहना हो । यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ । कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार रारालाई बनाउन स्थानीय तहदेखी प्रदेश सरकारले उचित नीतिको व्यवस्थापनमा जोड दिन आवश्यक रहेको छायाँनाथरारा नगरपालिका स्थानीयवासि बताउँछन् ।

यस राष्ट्रिय निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १० दशमलव ६५ वर्ग कि.मी. छ । यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराई १६७ मिटर छ । नेपालको सबभन्दा ठूलो तालको रूपमा रहेको रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत दर्शाउँछ । पर्यापर्यटनको अधिकतम सम्भावना भए तापनि भौगोलिक विकटता र यातायातको अभावको कारण यहाँ पर्यटनको समुचित विकास हुन बाँकी नै रहेको छ ।

मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ । जुम्लाबाट हिडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहे पनि नेपालगञ्ज तथा सुर्खेतको विरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ ।

जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ । रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नु पर्छ ।

तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ । डाँफे लेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैले पानी बोक्नु पर्छ । रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । तालको दपानी पनि जमेको जस्तो देखिन्छ ।

दशैं तथा तिहारको बीचमा रारा घुम्न आन्तरिक पर्यटन बढी आउने गरेको छायाँनाथरारा नगरपालिका-७ मा रहेको जीविका होटल एण्ड रेष्टरेन्टका संचालक अविनारा बुढाको भनाइ छ । दशैं र तिहारको बिचमा यहाँका होटल आन्तरिक पर्यटनले भरिपूर्ण हुने गरेकाछन् । जीविका होटलका संचालक बुढाले भन्नुभयो,“रारा आउने आन्तरिक पर्यटनबाट यहाँका होटलले राम्रोसंग आम्दानी गरेकाछन् । पर्यटनलाई राम्रो सेवा सुविधा दिनका लागि कुनै कुरामा कमी नगरेको होटल संचालक बुढाले जानकारी दिनुभयाृे । ” रारा पुगेर जुम्ला फर्केका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नूपेन्द्र महतले रारासम्म पुग्नका लागि सडक मार्गलाई स्तरवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ देखि मंसिर मसान्तसम्म आन्तरिक पर्यटक ६ हजार ७५, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी पाँच महिनामा ६ हजार २ सय पर्यटकले रारा भ्रमण गरेको जनाएको छ । पाँच महिनाभित्र ६ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेकाछन् ।

यस वर्ष रारामा आन्तरिक तथा बाह्य पर्यटक आगमनको संख्या आशालाग्दो हिसावले वृद्धि भएको निकुञ्ज कार्यालयका सुचना अधिकारी धितालले जानकारी दिनुभयो । पाँच महिनाभित्र पर्यटकबाट करिब १८ लाख राजश्व असुली भएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?