खोला बगरमा बसपार्क !

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । मध्यपहाडी लोकमार्ग छेउमै बडिगाडखोला । त्यहीमाथि पट्टी छ बुर्तिबाङ बजार । बुर्तिबाङ बजार सडकले जोडिएको डेढ दशक बढी भयो । सडकले जोडिएपछि बजारको मुख्य भागमा बसपाक बनाइएको थियो । सुरुसुरुमा थोरै गाडी चल्थे । यहाँ बनाइएको सानो बसपार्कमा पार्किङ गर्न सहज थियो । पछि-पछि बुर्तिबाङ सहरीकरण हुँदै गयो र सवारी साधानको चाप बढ्यो । सवारी साधानको चाप बढेपछि बीच बजारमा रहेको बसपार्कमा सवारी साधान अट्ने छोडे । जथाभावी रुपमा सावारी पार्किङ गर्न थालियो । जसले ट्राफिक व्यवस्थापनमा चुनौति बढेसँगै दुर्घटनाको जोखिम बढायो । पुरानो बसपार्कको विकल्पमा नयाँ सहर आयोजनाले ढोरपाटन नगरपालिका-२ खप्तरीबाङ स्थित बडिगाडखोलाको किनारमा बसपार्कका लागि जग्गा खरिद गरि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

बजार र लोकमार्गलाई पइक पर्ने ठाउँमा बसपार्क निर्माण गरिए पनि खोला किनारमा हुँदा बर्खाको समयमा बाढीले बसपार्कसहित यातायताका साधाननै बगाई दिने जोखिम छ । बजारनै साँघुरो ठाउँमा नहुँदा जग्गा व्यवस्थापनमा समस्या थियो नै, त्यसमाथि बगरमा बसपार्क बनाउनुले ठूलो समस्या निम्त्याउने जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरि रहेका छन् । बर्खाका बेला बडिगाडखोलामा पानीको बहाव बढेर बसपार्कमा आउने गर्छ । खोलामा तटबन्ध गरे पनि ठाउँ निकै साँघुरो भएको हुँदा जुनसुकै बेला बगाउन सक्ने जोखिम देखिन्छ । बसपार्क लोकमार्गबाट निसीखोला हुँदै, रुकुम, रोल्पा लगायत पश्चिम नेपालमा जान सहज हुने ठाउँमा भने रहेको छ । १० नमुना सहरमा पर्ने बुर्तिबाङ बजारमा हाल नयाँ सहर आयोजनाले काम गरि रहेको छ ।

लोकमार्ग छेउमै बसपार्क भए पनि धेरै बजारका लागि अपाइक पर्ने बताउँछन् । वि.सं. २०६८ सालदेखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाई गर्दा बसपार्क निर्माण गत वर्षदेखि सुरु भएको हो । वि.सं. २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको सम्पन्न गर्ने गरि अघिल्लो वर्ष कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका सूचना अधिकारी कमल शाहले जानकारी दिनुभयो । अहिलेसम्म बसपार्क निर्माणको काम ९५ प्रतिशत सकिएको उहाँको भनाइ छ । वि.सं. २०७५ सालमा छ रोपनी जग्गा खरिद गरि विभिन्न प्रक्रिया पूरा गरेर बसपार्क बनाउन थालिएको शाहले बताउनुभयो । ढोरपाटन नगर विकास समितिमार्फत यहाँ बसपार्कमा लागि जग्गा खरिद गरियको उहाँ बताउनुहुन्छ । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रा.लिले पाएको शाहको भनाइ छ ।

“बसपार्कमा लागि धेरै ठाउँमा जाग्गा हेर्‍यौँ तर पाइएन, हाम्रो भब्रेटामा पनि जग्गा छ, तर त्यहाँ बनाउने संभावना देखिएन, नगर विकास समितिसँग सहकार्य गरेर यहाँ जग्गा खरिद गरेका हौँ, बसपार्क बनाउनु पर्ने थियो, जग्गा थिएन, खोलामा तटबन्धन गरेर अहिले जोखिम छैन, खोला किनारदेखि पक्की ‘वाल’ उठाइएको छ” सूचना अधिकारी शाहले भन्नुभयो- “यस वर्ष बजेट कम परेको हुँदा पूरा हुन नसक्ने भयो, अर्को वर्ष बसर्पाक निर्माण सम्पन्न हुन्छ ।”

बसपार्क निर्माण लागि आर्थिक वर्ष २०७९/८० मा दुई करोड २६ लाख ४० हजार चार सय ३१ रुपैयाँमा विनियोजित भएको उहाँको भनाइ छ । अब गाडी पार्किङका लागि ढलान गर्न, गेट निर्माण गर्न, टर्मिनल भवनको फिनिसिङ लगायतका काम बाँकी रहेको शाह बताउनुहुन्छ । बसपार्कमा सना ठूला ३० वटा जीप, २० वटा बस र स-साना दर्जनौँ सवारी साधान अट्ने उहाँको भनाई छ । टर्मिनल भवन तीन तलाको बनेको शाहले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले खोलाको मापदण्ड मिचेर बसपार्क निर्माण भएको बताउनुभयो । बसपार्क बन्नु बुर्तिबाङ बजारवासी र हजारौँ नागरिकका लागि सुखद विषय भए पनि खोला किनारमा बनेको बसपार्क जुनसुकै बेला पनि बगाएर राज्यको करोडौँ रकम नोक्सानी हुने जोखिम रहेको उहाँको भनाइ छ । बसपार्कको जग्गा खरिद गर्ने बेलादेखिनै कमजोरी हुँदै आएको उपप्रमुख कायत बताउनुहुन्छ ।

उपप्रमुख कायतले भन्नुभयो - “बजारमा रहेको बसपार्क निकै साँघुरो छ, अहिले गाडी पार्किङमा समस्या छ, नयाँ ठाउँमा निर्माण गर्नु पर्ने आवश्यता १० वर्ष पहिलेनै थियो, अहिले जुन ठाउँमा बसपार्क बनेको छ, त्यो मापदण्ड अनुसार छैन, निकै जोखिम ठाउँमा निर्माण भएको छ, जग्गा खरिद गर्ने बेलामै सम्बन्धित निकायले ध्यान पुर्‍याउन सकेन, यहाँ यति ठूलो लगानी भएको छ, पछि बाढी पहिरो आयो भने बसपार्क सबै बगाउने जोखिम छ, जोखिम ठाउँमा लगानी गर्न हुने थिएन, त्यस आसपास अलि जोखिम नभएको ठाउँमा बनाउनु पर्थ्याे ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?