काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कानुनको परिपालन पूर्ण रुपमा हुन नसकेका कारण सुशासन कायम हुन नसकेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त राईले कानुन बनाउने संघ, प्रदेश र स्थानीय तहले आफै कानुन कार्यान्वयन नगर्दा उपभोक्ता समिति र कन्सल्टेन्सीले विकृति बढाएको धारणा राख्नुभएको हो ।
उहाँले नीतिगत निर्णयको विषयमा थप परिभाषित हुन आवश्यक रहेको पनि धारणा राख्नुभयो । प्रदेश तहमा हुने नीतिगत निर्णय प्रदेश मन्त्रिपरिषद्बाट र प्रशासनिक निर्णय तत् तत् प्रशासनिक तहमै हुने कुराको सुनिश्चितता गरी प्रशासनिक निर्णयलाई मन्त्रिपरिषद्मा लैजाने कुराको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । उपभोक्ता समितिमार्फत काम गराउँदा उपभोक्ता समितिको क्षमताले गर्न सक्ने काम मात्र दिने र उपभोक्ता समितिले पाएको कार्यलाई अरूलाई ठेक्का दिन नपाउने व्यवस्था गर्न जरुरी रहेको अख्तियारका प्रमुख आयुक्त राईले बताउनुभयो । उपभोक्ता समितिमार्फत हुने कार्यमा लागत साझेदारी, मेशिनरी तथा उपकरणको प्रयोग, जमानत/धरौटी, मूल्य अभिवृद्धि कर बिलको आधिकारिकता लगायतका विषयमा समेत ध्यान दिन आवश्यक रहेको उहाँले औल्याउनुभयो ।
सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्दै राईले आयोगमा परेका उजुरीलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी टुंगो लगाउने बताउनुभयो । कुनै पनि विकास आयोजनाको कार्यान्वयन गर्नुपूर्व आयोजना बैंकको तर्जुमा, उक्त आयोजनाको लागि आवश्यक बजेट विनियोजन, वातावरणीय प्रभाव मूल्यांकन, आवश्यक जग्गा प्राप्ति तथा सोको मुआब्जा वितरण, साइट क्लिेरेन्स एवं उक्त आयोजना बहुवर्षीय प्रकृतिको भए खरिद गुरु योजना एवं लागत अनुमान समेत तयार गर्न आवश्करहेको उहाँको भनाइ छ । उहाँले आयोजना/कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन गर्ने काममा विशेष दिनुभयो ।
प्रमुख आयुक्त राईले सरकारी कार्यालयमा कर्मचारी भर्ना गर्दा, विशेषज्ञ सेवा लिँदा वा सल्लाहकार राख्दा सोको औचित्य, कानुनी आधार, आवश्यक दरबन्दी लगायतका कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नेतृत्वमा रहेको सरकारबाट बजेटको दुरुपयोग नहुने बताउनुभयो । अर्को आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत काम गर्ने योजनाहरूलाई शून्यमा झार्ने सोच राखेको उहाँको भनाइ छ । कार्यक्रममा मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले सबै राष्ट्रसेवक कर्मचारीहरूले जनताहरूको अपेक्षा पूरा गर्न जनकेन्द्रित भएर जिम्मेवारीपूर्ण ढंगले प्रतिबद्ध भई काम गर्नुपर्ने बताउनुभयो । अनियमितताको विषयलाई सबैले जिम्मेवार भएर चिर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच