
काठमाडौं । भारतका विदेशमन्त्री डा.एस जयशंकर दुईदिने भ्रमणका लागि आज (बिहीबार) काठमाडौ आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. जयशंकर काठमाडौं आउन लाग्नुभएको हो । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन जयशंकर नेपाल भ्रमणमा आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत-नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो ।
उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्छन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले नेपालको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यतालिका छ । दुई घनिष्ठ र मित्रवत छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको बताइएको छ । जयशंकरको टोलीमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्ची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने बताइएको छ ।
भारतीय वायुसेनाको विशेष विमानबाट भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको टोली आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ । लामो समयदेखि तयारी चलिरहेको संयुक्त आयोगको बैठकका बारेमा नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत घोषणा गरेका छन् । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउने भारतीय विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयले भने जयशंकरले राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड र समकक्षी साउदसँग मात्रै बिहीबार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जयशंकर नेतृत्वको प्रतिनिधिमण्डलका लागि परराष्ट्रमन्त्री साउदले रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रिभोजमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट हुनेछ । विदेशमन्त्री जयशंकर आयोगको बैठक सकेर शुक्रबार दिल्ली फर्किने कार्यक्रम रहेको छ ।
यस्तो छ भ्रमण तालिका
संयुक्त आयोगको बैठक बिहीबार नै सुरु हुनेछ । आज बिहान ११ बजे विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटवार्ता राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । राष्ट्रपतिलाई भेटेर बाहिरिएपछि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालसँग मध्याहृन १२ बजे शिष्टाचार भेटवार्ता तय भएको छ । भेटवार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा हुनेछ । दिउँसो १ बजे विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दरबारमार्गथित होटल याक एण्ड यती जाने कार्यक्रम छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व जयशंकरले गर्नुहुनेछ । बैठकमा सहभागी हुनुअघि समकक्षी एनपी साउदसँग भेटवार्ता गर्ने कार्यतालिका छ । बिहीबार दिउँसो १ः४५ बजे नेपाल र भारतबीच विद्युत् र आर्थिक सहायतासम्बन्धी दुईवटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम हुनेछ । बिहीबार दिउँसो २ बजे भारतीय विदेशमन्त्री जयशंकर आफ्नो सम्मानमा परराष्ट्रमन्त्री साउदले आयोजना गर्ने दिवा भोजमा सहभागी हुने कार्यक्रम छ । सोहीदिन साँझ साढे ६ बजे परराष्ट्रमन्त्रीले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुने कार्यक्रम छ ।
शुक्रबार बिहान साढे नौ बजे भारतीय विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र अन्य भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । विदेशमन्त्री शंकर शुक्रबार मध्याहृन साढे १२ बजे भारत फर्किने भ्रमण तालिका छ ।
यी हुन् भ्रमणका एजेण्डा
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले विद्युत् व्यापार सम्झौतामा जोड दिने तयारी गरेको छ । यस्तै, भारतले नेपाललाई दिँदै आएको साना सहयोग परियोजना अन्तर्गतको सहयोग पाँच करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पु¥याउने सम्झौतामा पनि हस्ताक्षर हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालले आफ्नो तर्फबाट अन्तर्राष्ट्रिय हवाई मार्गको अनुमति दिन भारत पक्षसँग प्रस्ताव राख्ने तयारी गरेको छ । नेपालले लामो समयदेखि महेन्द्रनगर, नेपालगञ्ज र भैरहवाबाट हवाई मार्गको माग गरिरहेको छ ।
यस्तै, भारतीय पक्षले मुआब्जा विवादका कारण रोकिएको अरुण तेस्रो जलविद्युत् आयोजना तोकिएकै मिति सन् २०२५ सम्म सकिने अवस्था बन्ने/नबन्नेबारे छलफल गर्ने तयारी छ । साथै, तमोर जलविद्युत् आयोजना आफूलाई दिन आग्रह गर्ने तयारी भारतको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा भारतले तयार पारेको डिपिआरमा भने अहिलेसम्म सहमति हुन नसकेको बताइएको छ ।
गत जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको बताउनुभएको थियो । दुवै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि ‘एमओयू’ भएको थियो भने गोरखपुर-भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ गरिएको थियो । सेप्टेम्बर चारमा भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । सबैले महत्व दिएको विषय भएकाले भारतले नेपालबाट १० वर्षमा १० हजार बिजुली लैजाने मोडालिटीको बारेमा सम्झौता गर्ने गरी नै नेपाल पक्षबाट तयारी भईरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । नेपालले उत्पादन गरेको र भारतीय लगानीमा नेपालमा उत्पादन भएको दुवै प्रकारका विद्युत् बिक्री गर्नेबारे नै सम्झौताको तयारी भइरहेको बताइएको छ ।
जयशंकरको भ्रमणका क्रममा तीनवटा प्रसारणलाईन समेत उद्घाटन हुनेछ । भ्रमणका क्रममा नेपाल र भारतका विदेशमन्त्रीले संयुक्त रूपमा १२३ केभिए क्षमताको कटैया-कुशाहा प्रशारण लाइनको दोस्रो खण्ड उद्घाटन गर्नेछन् । यसबाहेक, १३२ केभिए क्षमताकै रक्सौल-परवानिपुर प्रशारण लाइनको दोस्रो खण्ड र १३२ केभिए क्षमताकै नौतन्या-मैन्हिया प्रशारणलाई समेत उद्घाटन हुने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । यस्तै, जयशंकरले त्रिभुवन विश्व विद्यालयमा निर्माण भएको नयाँ पुस्तकालयको उद्घाटन गर्नेसमेत कार्यक्रम छ । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक २०७७ माघ १ र २ गते नयाँदिल्लीमा भएको थियो । यसपटक नेपालको आग्रहअनुसार नै नेपालमा हुन लागेको हो ।
१० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार
नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौता गर्न ड्राफ्ट तयार गरेको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले नेपाल र भारतबीच हुने दीर्घकालीन सम्झौतामा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले सम्झौता गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय विदेश मन्त्रीको उपस्थितिमा दुई देशका ऊर्जा सचिवले प्रारम्भिक सम्झौतालाई अन्तिम रूप दिनेछन् । नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिम रूप पाएपछि भने बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ ।
विदेश मन्त्रालयका प्रवक्ता परिवर्तन
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको तयारी चलिरहँदा विदेश मन्त्रालयका प्रवक्ता परिवर्तन भएका छन् । यसअघि प्रवक्ता रहनुभएका अरिन्दम बाग्चीको ठाउँमा रवीन्द्र जयसवाल नियुक्त हुनुभएको छ । सन् १९९८ सालका ब्याची जयसवालले बुधबारदेखि नै जिम्मेवारी सम्हालिसक्नु भएको छ । यसअघिका प्रवक्ता अरिन्दम बाग्चीलाई जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा भारतका स्थायी प्रतिनिधि नियुक्त गरिएपछि जयसवाललाई विदेश मन्त्रालयको प्रवक्तामा नियुक्त गरिएको हो । विदेशमन्त्री जयशंकरसँग अरिन्दम बाग्ची पनि नेपाल आउने कार्यक्रम तय भएको थियो । अब मन्त्री जयशंकरसँग प्रवक्ता जयसवाल पनि नेपाल आउने हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच