बेरोजगारिको प्रभाव : युवाहरू विदेशमा, सुनसान गाउँघर

हिमालय टाइम्स
Read Time = 6 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । दिन प्रतिदिन जिल्लामा बेरोजगारीको सङ्ख्यामा वृद्धि भएसँगै बाल बच्चा पढाउन र दैनिक घरखर्च जोहो गर्नका लागि यहाँका युवाहरू भारततीर लागेका छन् । युवा, युवतीहरू भारतको ब्याङ्गलोर, नैनिताल, हिमाञ्चल प्रदेश, बम्बई, कलकत्तालगायतका ठाउँमा कामको खोजीमा हिँडेपछि आजभोलि मुगुका गाउँ बस्ती सुनसान देखिन्छन् ।

मुगुका गाउँ घरमा आजकल बिरामी, बुढाबुढी र महिला मात्र भेट्न सकिन्छ । घरमा श्रीमती र छोरा छोरी छोडेर भारत जान बाध्यात्मक स्थिति हुने एउटै कारण हो गरिबी ।

मुगालीलाई आफ्नो खेतीपातीले छ महिनासम्म मुस्किलले गुजारा गर्न सकिने र बाँकी ६ महिना ज्याला मजदुरी गरेर घर खर्च धान्नु पर्ने बाध्यता धेरैको छ ।

विगतका वर्षमा जिल्लामा बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम लागू भएको थियो, जसले गर्दा हजारौँ नागरिकहरू सडक खनेर रोजगार बनेका थिए । केही वर्ष अगाडि जिल्लामा कामको लागि खाद्यान्न कार्यक्रम समेत लागू हुँदा काम गरेर चामल दिने गरिन्थ्यो तर हाल जिल्लामा कुनै किसिमका गौरवका आयोजना भइरहेका छैनन् । वर्षौँदेखि लागू भएका कार्यक्रमको पनि समय अवधि सकिँदा र अन्य कुनै किसिमका उद्योग कलकारखाना नखुल्दा जिल्लामा बेरोजगारीको समस्या चरम बनिरहेको छ । त्यसैले पछिल्लो समय रोजगारीको कुनै अवसर नहुँदा बाध्यात्मक स्थितिमा युवा युवतीहरू भारतका विभिन्न शहर पस्न बाध्य बनेका हुन् ।

रोजगारीका लागि भारत जानेहरूमा धेरै जसो आर्थिक अवस्था कमजोर भएका दलित समुदायका मानिसहरू धेरै छन् । खेतीपाती सकेर अन्न थन्क्याई सकेपछि हिउँदको समयमा गाउँघरमा खासै काम नहुने र भारतमा काम गरि रोगको उपचार गर्न समेत सजिलो हुने भएकाले आफूहरू भारत पस्न बाध्य हुनुपरेको छायाँनाथ रारा नपालिका वडा नं १ निवासी कुज्या नेपालीले बताउनुभयो ।

घरमा बुढीआमालाई छाडेर छायाँनाथ कै अर्का दलित युवा नानाभाउ नेपाली श्रीमतीसहित भारत गएका छन् । ‘केही कमाउला र उपचार पनि गरौँला भनी छोरा बुहारी बुडी आमालाई छोडेर भारत पसे, गाउँमा बुढी आमाको रेखदेख गर्ने मान्छे नै छैनन्, यो हामीहरूको बाध्यता हो’ नेपालीले गुनासो गर्नुभयो ।

छायाँनाथ रारा वडा नं ६ निवासी जुनतारा मल्ल पनि घरमा आर्थिक समस्या भएपछि बालबच्चा पढाउन कै लागि भएपनि आफू रोजगारीको खोजीमा भारत जान लागेको बताउनु भयो । पहिले पहिले महिलाले घरको काम मात्र गर्नु पर्थ्यो तर घरै धान्न मुस्किल हुने भएपछि कमाईका लागि बाध्य भएर भारत जान लागेको पिडा उहाँले सुनाउनु भयो ।

पछिल्लो समयमा जिल्लामा आर्थिक संकट हुन थालेपछि मुगु जिल्लाको छाँयानाथका मात्र हैनन् मुगुम् कार्मोङ, खतेड र सोरू गाउँपालिकाका बस्तीबाट करिब हजार भन्दा बढी मानिसहरू भारत पसेका छन् । सयौँ युवाहरू पढाइ अनुसारको रोजगारी नपाएपछि जापान, कोरिया, पोर्चुगल, माल्टा, कतार, साउदी, मलेसिया लागेका छन् । योग्यता अनुसार रोजगारी नपाएपछि बाध्य भएर जापान जान लागेको छायाँनाथ कै युवा पदमबहादुर हितानको भनाइ छ ।

'जिल्लामा रोजगारी छैन, के गरेर घर चलाउनु,' हितानले गुनासो सुनाउनु भयो । देशमा रोजगारीको अवस्था सृजना हुन नसक्दा आफू जस्ता पढेर डिग्री हासिल गरेका युवाहरू बाध्य भएर ऋण निकाली बिदेशिनु परेको हितानले बताउनुभयाे । धमाधम युवाहरू विदेश गएसँगै यता गाउँ बस्तीमा भने बुढापाका, महिला,बालबच्चा, बिरामी मात्र रहँदा बस्तीहरूमा सधैँ जसो हुने चहल पहलमा कमी आएको छ । धेरै जसो बस्तीहरू सुनसान छन् ।

मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा गाउपालिकाका प्राय गाउँहरुमा युवाहरु नभएको सबै विदेश गएको सुनाउनु हुन्छ । उहाँ भन्नुहुन्छ हाम्रा भोटे समुदायका युवा फान्स, दुबै, पोर्जुगल, युके, अमेरिका र ताइवान गएका छन् । यताको कमाइ भन्दा विदेशको कमाइले नेपालमा खर्च सजिलै धान्ने र बचत भै अन्य प्रगतिका काम पनि गर्न सकिने भएकाले युवाहरु विदेश आकर्षित भएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?