रोहिणी गाउँपालिकामा बालिका बीमा कार्यक्रम सुरु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा बालिका बीमा कार्यक्रम सुरु भएको छ । बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ता जस्ता व्यक्तिगत घटना दर्ताका लागि प्रेरित गर्न, बालिकाको उच्च शिक्षामा सहयोग पुर्याउन, बालिकाको मनोबल बढाउन र आर्थिक रुपमा कमजोर भएका परिवारलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भयो । उहाँले आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ मा जन्मिएका बालिकाको बीमा गरिने बताउनु भयो ।

यो कार्यक्रमबाट भु्रण हत्यामा कमी आउने उनले विश्वास व्यक्त गरे । अध्यक्षले भन्नुभयोे, ‘छोरा र छोरीबीच गरिने भेदभावमा पनि कमी हुन्छ। रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेडबीच बीमाका लागि एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्र अनुसार रोहिणी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा र स्वास्थ्य संस्थाले रेफर गरेकाहरुमध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले‘गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियान’ अन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताउनु भयो । उहाँले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभइ बालविवाह रोक्न, घरमै सुत्केरी गराउने रोकी स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताउनु भयो । उहाँले भने, ‘बालिकालाई संरक्षण गर्ने गाउँपालिकाको अभियान छ ।

अभियान अन्तर्गत विभिन्न कार्यक्रम हुनेछन् । ’ कार्यविधि अनुसार एक बालिकाका लागि गाउँपालिकाले २० हजार रुपैयाँ एकपटक जम्मा गर्ने र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सकिने जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले चालु आर्थिक वर्षमा बालिका बीमा कार्यक्रमका लागि रु. ३० लाख बिनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा १९० जना बालिका रोहिणी गाउँपालिकामा जन्मिएको र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताउनु भयो । उहाँले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख यमलाल न्यौपानेले निश्चित समयपछि रकमको आवश्यकता परेकाले बालिका बीमा कार्यक्रमले सहयोग गर्ने बताउनु भयो ।

उहाँले सबैले बीमा गर्नुपर्छ भन्ने कार्यक्रमले सन्देश दिने बताउनु भयो । ‘२० वर्ष अवधि पुुगेपछि बीमितलाई बीमांक र बोनस रकम प्रदान गरिनेछ । एकैपटक २० हजार तिरेपछि बालिकाको उमेर २० वर्ष पुगेपछि रकम प्रदान हुनेछ, ’उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?