सीताराम अधिकारी अङ्ग्रेजीका प्राध्यापक हुनुहुन्छ । पञ्चायतको अन्तिम र प्रजातन्त्रपछिको लामो समयसम्म भृकुटीमण्डपस्थित नेपाल ल क्याम्पसमा उहाँ अङ्ग्रेजीको प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँका अङ्ग्रजीको विज्ञतामात्र होइन नेपालीमा छन्दसाधनामा समेत उहाँ पोख्त हुनुहुँदोरहेछ भन्ने कुरा हालैमात्र प्रमाणित हुन आएको छ उहाँको ‘पृथु’ महाकाव्यबाट । उहाँले ‘पृथु’ शीर्षकमा महाकाव्य लेख्नुभएको छ । महाकाव्य रचनाको आँट सितिमिति कसैले गर्दैनन् । यो निकै दुरुह कार्य हो तर त्यही दुरुह कार्य गर्नुभएको छ अङ्ग्रेजीका गुरु सीतारामले । उहाँ गोरखाको हुनुहुन्छ । त्यसैले हुनसक्छ उहाँले गोरखाका राजा र नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायणका बारेमा महाकाव्य लेख्नुभएको छ ।
डिएमआई साइजको उक्त पुस्तकको प्रकाशन गोरखा सर्जक समाज, काठमाडौंले गरेको छ भने यसको सर्वाधिकार महाकाव्यकार अधिकारीमै रहेको छ । पहिलो संस्करणका रूपमा आएको यो पुस्तक ५०० को सङ्ख्यामा छापिएको छ । भूमिका खण्डमा २६ र पाठ्य खण्डमा २२४ गरी २५० पृष्ठको पुस्तकको मूल्य ३५० रहेको छ । महाकवि आफैंले टाइप गरेको यस पुस्तकको मुद्रण शारदा प्रिन्टिङ एन्ड ट्रेडर्स प्रा.लि. पुतलीसडक काठमाडौंमा भएको छ । यसको आवरण स्टार डिजाइन एन्ड प्रिन्ट प्रा.लि.पुतलीसडकबाट गरिएको छ ।
पृथ्वीनारयण शाहका सन्दर्भमा थप जानकारी राख्न चाहनेहरूका साथै साहित्यका अध्येताहरूका लागिसमेत यो पुस्तक धेरै महत्वको छ । यो प्रत्यक्ष रूपमा साहित्य र परोक्ष रूपमा इतिहासको पुस्तकसमेत हो भन्दा अत्युक्ति हुनेछैन । यो पुस्तक नेपाली साहित्यको महत्वपूर्ण प्राप्ति हो ।
आवरणमा माथि ठूला अक्षरमा ‘पृथु’ लेखिएको छ भने सादा पृष्ठभूमिमा कलमलाई बिम्बका रूपमा देखाइएको छ । तल साना अक्षरमा महाकाव्यकारको नाम ‘सीताराम अधिकारी’ भनेर दिइएको छ । पुस्तकमा स्तरीय कागज प्रयोग भएको छ र छपाइ स्तरीय छ । कतै–कतै अशुद्धिहरू भने भेटिन्छन् । पृष्ठ आवरणमा फोटोसहित महाकाव्यकारका बारेमा छोटो जानकारी दिइएको छ । जसअनुसार उहाँ चक्रपाणि अधिकारी र लीलादेवी अधिकारीका छोराका रूपमा हाल अजिरकोट गाउँपालिकामा पर्ने हंसपुर गोरखामा जन्मिनुभएको भन्ने थाहा हुन्छ । उहाँको हालको बसोवास अनामनगर काठमाडौंमा रहेको जानकारी यही पृष्ठबाट पाइन्छ । यही पृष्ठमा प्रा.हरिप्रसाद पराजुली र तीर्थराज अधिकारीको भनाइ पनि दिइएको छ ।
पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यका राजा हुन् । पछि उनले नेपाल राष्ट्रको एकीकरण गरी राष्ट्रनिर्माता बन्न पुगे । यस अर्थमा उनी नेपालको गौरवपूर्ण व्यक्तित्व हुन् । सम्पूर्ण नेपालीले गौरव गर्नुपर्ने व्यक्तित्वका सन्दर्भमा गोरखालीहरूले गौरव नगर्ने भन्ने कुरै हुँदैन । त्यस कारणले गर्दा गोरखाली सीताराम अधिकारीको छनौटमा उनीसम्बन्धी विषय परेको हुनसक्छ । पृथ्वीनारायण शाहका बारेमा राजनीतिज्ञ चीरञ्जीवी वाग्लेले ऐतिहासिक उपन्यास लेख्नुभएको छ भने राष्ट्रकवि माधव घिमिरेले राष्ट्रनिर्माता शीर्षकको खण्डकाव्य लेख्नुभएको छ । त्यही पंक्तिमा पर्नुभएको छ प्रा.सीताराम अधिकारी ।
अङ्ग्रेजीका प्राध्यापक अधिकारीमा छन्दको ज्ञान पनि प्रसस्त मात्रामा रहेको पाइयो । महाकाव्य भनेको गद्यमा लेखिने उपन्यास सरह पद्यमा लेखिएको कथानकसहितको काव्यग्रन्थ हो । यसका लागि निकै ठूलो साधना चाहिन्छ । राष्ट्रकविले महाकाव्यको रचना सानो साधनाले हुँदैन भन्नकै लागि जीवनको अन्तिममा मात्र महाकाव्य लेख्नुभएको थियो । यही कठिन काम गर्नुभएको छ अधिकारीले ।
पुस्तकको सुरुमा समर्पपण छ र उहाँले आफ्ना पितामातालाई यो पुस्तक समर्पण गर्नुभएको छ । त्यसपछि प्रा.हरिप्रसाद पराजुलीको ‘केही बुँदाहरूमा पृथु काव्यमाथि सतही देष्टि’को भूमिका छ । र प्रहृलाद पोख्रेलको ‘पृथुको आलोकमा छन्दयात्राको रौनक’ शीर्षकको शुभकामना रहेको छ र त्यसपछि महाकाव्यकारको ‘आफ्नै केही शब्द’ रहेका छन् । त्यसपछि विषय सूची छ । पुस्तक विभिन्न एक्काइस सर्गमा रचना भएको छ । महाकाव्यको परम्परा अनुसार पहिलो सर्ग ‘अक्षरको आराधना’ शीर्षकको मङ्गलाचरणबाट सुरु हुन्छ र विभिन्न सर्गमा पृथ्वीनारायणका बारेमा विस्तार गरिएको छ ।
उनको राज्यविचरण आमाको आशीर्वाद, शिक्षा व्रतबन्ध विवाह, राज्यारोहण, युद्धआयोजना, विभिन्न राज्यमाथि हमला तथा विजय, दिव्योपदेश र अन्त्यमा उपसंहार दिइएको छ । पृथ्वीनारयण शाहका सन्दर्भमा थप जानकारी राख्न चाहनेहरूका साथै साहित्यका अध्येताहरूका लागिसमेत यो पुस्तक धेरै महत्वको छ । यो प्रत्यक्ष रूपमा साहित्य र परोक्ष रूपमा इतिहासको पुस्तकसमेत हो भन्दा अत्युक्ति हुनेछैन । यो पुस्तक नेपाली साहित्यको महत्वपूर्ण प्राप्ति हो । यसका लागि महाकाव्यकार प्रा.सीताराम अधिकारीलाई बधाई साथै कृतिको सफलताको कामना । यसका साथै उहाँबाट यस्ता अरू पनि प्रयास भइरहून् भन्ने अपेक्षाका साथ उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच