
१४ पौषको क्रमशः
राष्ट्रिय मेलमिलाप सप्ताह चलिरहेको छ । बीपीको देश फर्कने निर्णयका पक्ष र विपक्षमा अनेक बहसहरू हिजैदेखि हुँदै आएका हुन् र गणतन्त्रप्राप्तिपछि मेलमिलापको आवश्यकता र सान्दर्भिकता समयानुसार परिमार्जन भएर आइरहेकै छ । बीपीको दोस्रो पटकको सुन्दरीजल बसाइको अवस्था र बीपीले व्यक्त गरेका धारणाहरू साँच्चै मननयोग्य छन् भन्ने लाग्छ । फेरि सुन्दरीजल जेल डायरीभित्र बीपी राष्ट्रिय जिम्मेवारीले जति गम्भीर छन् त्यत्ति नै पारिवारिक जिम्मेवारीका कुरामा पनि गम्भीर बनेका छन् । साथै उमेर अवस्था र स्वास्थको प्रतिकूलता आदि के के ले गर्दा हो घरपरिवार र व्यक्तिगत जीवनका विषयले अझै बढी पिरोलिएका छन् । सार्वजनिक जीवन बढी भएका व्यक्तिप्रति मानिसहरूले बनाउने आमधारणाभन्दा धेरै भिन्न, बीपी ज्यादै सामान्य र आममानिसजस्तै कमजोर व्यक्तिका रूपमा पनि देखा परेका छन् । यस लेखमा बीपीको त्यही सामान्य मानिसको रूपको परिचय गराउने उद्देश्य राखिएको छ ।
बीपी, जो राष्ट्रको उत्साह र परिवर्तनका पनि निर्णायक व्यक्ति हुन् तिनलाई हामी औसत मानिस जस्तै सय/पचास रुपैयाँको खाँचो खट्किने, आफ्नो र परिवारको कमजोर आर्थिक अवस्थाले पिरोलिने, घरपरिवार र पत्नी छोराछोरीको स्नेहले छट्पटाउने व्यक्ति हुन् ।
फेरि सुन्दरीजलभित्रका बीपीका आत्माभिव्यक्ति :
२००७ सालको क्रान्तिको नेतृत्व गरेका, राणा र जनताको संयुक्त सरकारका गृहमन्त्री, नेपाली कांग्रेसजस्तो क्रान्तिकारी पार्टीका सभापति, नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्ति, प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, विश्व समाजवादी आन्दोलनका नेता, क्रान्ति र प्रजातन्त्रका पर्याय, नेपाली साहित्यमा नवीन साहित्यिक धारा र विचारका प्रयोक्ता इत्यादि धेरै विशेषणहरूले बीपीलाई सजाउन सकिन्छ । सार्वजनिक जीवन यति गरिमामय र गौरवशाली रहेका बीपी व्यक्तिगत जीवनमा पनि त्यत्तिकै कर्तव्यपरायण, इमानदार, निष्ठावान् र असल सोच्ने स्वभावका प्रष्टवक्ता व्यक्ति थिए । सामान्य मानिसले आँक्न नसकिने बीपीको व्यक्तित्वका उपर्युक्त आयामहरूले गर्दा बीपीका बारेमा ज्यादै कमजोर तहबाट आँकलन र मूल्याङ्कन गर्न कसैलाई साहस र इच्छा दुबै हुँदैन ।
अझ भनौँ ती बीपी, जो राष्ट्रको उत्साह र परिवर्तनका पनि निर्णायक व्यक्ति हुन् तिनलाई हामी औसत मानिस जस्तै सय/पचास रूपैयाँको खाँचो खट्किने, आफ्नो र परिवारको कमजोर आर्थिक अवस्थाले पिरोलिने, घर परिवार र पत्नी छोराछोरीको स्नेहले छट्पटाउने र जीवनमा मनग्गे प्रेम दिएर पत्नीसँग जीवन बिताउन नपाएकोमा दुःखी हुने, आकुलव्याकुल मनस्थितिमा प्रत्येक दिन घर परिवार र पत्नीको सम्झनाले सताइरहेर चिन्तित हुने र कमजोर मनस्थितिका कारण सबै कुरा यथावत्, राम्रो राख्न र त्यस्तै अवस्था कायम गराइ राख्न ईश्वरसँग प्रार्थना गर्ने अनि विचलित बनेर सामान्य मानिसहरू जस्तै आफू र आफ्ना परिवारका विषयमा सोच्न थाल्ने व्यक्ति बीपी हुन सक्छन् भनेर पत्यार गर्न गाह्रो पर्छ तर सत्य माथि भनिएजस्तै पनि छ ।
फेरि सुन्दरीजल (जेल डायरी) भित्र माथि भनिएको अवस्था र परिस्थितिका बीपी कोइरालालाई पढ्न पाइन्छ । फेरि सुन्दरीजल बन्दीगृहमा प्रवेश गरेकै दिनदेखि पत्नी सुशीला (सुशीला आमा), भान्जी शैलजा, छोरा प्रकाश, श्रीहर्ष, शशांक, नातिनी मनिषा, आमा दिव्या, भाइ केशव, तारिणी, गिरिजा, बुहारी रूचिरा, नोना, रोशा र परिवारका अन्य सदस्यहरू, सुभेच्छुकहरू र राजनीतिक जीवनका धेरै व्यक्ति, घटना र प्रसंहरू सम्झेर तयार गरिएको जेल डायरीमा विभिन्न प्रसंगमा निजी जीवन र परिवारका विषयमा बीपीले व्यक्त गरेका केही नितान्त निजी कुराहरू मात्र टिपोट गरेर बीपीको भित्री मनको मानिसका अभिव्यक्तिहरू तल केही दृष्टान्तका रूपमा प्रस्तुत गरिएका छन् ।
दिक्क लाग्छ, घरको सम्झना आउँछ । (फेरि सुन्दरीजल, पृ.३)
मेरो मन अशान्त छ, आफ्ना मान्छेहरू सम्झेर । (पृ.३)
म नानूलाई सम्झिन्छु । प्रकाश र उसका छोराछोरीहरू श्रीहर्ष, रूचिरा, उनीहरूको विहे भएको लगत्तै भएका अप्रत्यासित घटनाहरूबाट अक्क न बक्क हुन्छन् । म उनीहरू सबैलाई सम्झिन्छु । घरको सम्झनाले मलाई सताउँछ । (पृ. ५)
सैनिक शिविरमा एक्लिएर बस्नु परेको र अनि आफ्नो भाग्य राजाको निरङ्कुशतामा छ भन्ने कुराले एकदम एक्लो र अत्यासको अनुभव हुन्छ । (पृ.६)
म सुशीलालाई सम्झिन्छु, एकदम दिग्दार लाग्छ तर प्यारी शैलजा, तिम्रो साह्रै याद आउँछ । दिग्दारी भन्ने कुरा अतीत र घरको सम्झनाले सताउँछ । घरमा मानिसहरू बसिरहेका होलान् । पैसाको दुःख होला, सुशीलाको राम्रो हेरविचार भइरहेको होला, शैलजालाई जेल जीवनको पीडा सहने बानी परिसक्यो होला भन्ने कुराहरूमा ढुक्क हुन सके मलाई यो संसारमा कुनै चिन्ता हुने थिएन । (पृ.६)
घरको सम्झनाले एकदम सताउँछ । कसैको भावनात्मक साथका निम्ति छटपटी हुन्छ । किन यस्तो अन्धकार ? (पृ.७)
आफ्नो एक्लोपनका बारे अब अरू लेख्दिन । यस्तो नितान्त एक्लोपनको तुलना मृत्युपछिको निस्सासिँदो शून्यतासँग गर्न सकिन्छ । शून्यताको अनुभूतिभित्र प्रत्येक कुरा हराएको छ । वास्तविकता यही नै हो । अरू कुराहरू भ्रम हुन् । (पृ.७)
शायद म एकदम भावविहृवल भएको थिएँ । अनि केही अलमल र निकै चिन्तित थिएँ म । (पृ.८)
बेचैनी र अस्थीर मन, यो आन्दोलित मनस्थिति, यो भावुक कोमलता, निस्सासिँदो रुग्ण गलालाई म के संज्ञा दिऊँ । (पृ.१०)
म शैलजालाई एकनाशले सम्झिरहन्छु । (पृ.११)
म भित्रभित्रै डर र शङ्काले बाँचेको छु । (पृ.११)
सुखी मानिसलाई ईश्वरको आवश्यकता पर्दैन अनि दुःखी मानिसलाई ईश्वर प्राप्त हुँदैन । (पृ.१२)
यो सबै अन्धविश्वास, अध्यात्मवाद, भावुकता, प्रेम र आशाको समिश्रण हो । (पृ.१२)
उनीहरूले दैनिक खर्च कसरी जुटाइरहेका होलान् र बालबच्चाहरूलाई पढाउन खर्चको बन्दोबस्त कसरी गर्लान् भन्ने नै जेलमा मेरो एउटै चिन्ता भएको छ । बालबच्चाहरूको पढाइको खर्च जुटाउन सम्पत्ति र गहनाहरू बेच्नू भनी सुशीलालाई उतिबेलै भन्न सकिनँ ।... हामीलाई जम्माजम्मी दुई लाख रुपैयाँ चाहिएला । सुशीला, प्रकाश र श्रीहर्ष व्यावहारिक भइदिए भने उनीहरूलाई पैसाको दुःख हुने थिएन । (पृ.१४)
मैले सुशीलालाई एउटा भावुक चिठी लेखेको छु । विराटनगरको सम्पत्ति र सुशीला र नानुका गहनाहरू बेचेर पढाइ र घरखर्च चलाउन प्रकाशलाई लेखेर पठाएको छु । (पृ.२०)
मृत्युको कुरा मनभित्र आउँछ । यो एउटा भयानक डरलाग्दो कल्पना हो । (पृ.२२)
मैले सुशीलालाई नसम्झेको कुनै दिन छैन । (पृ.२६)
म साँच्चिकै व्याकुल भएको छु । (पृ.२९)
सुशीलासँगै घरको सम्झनाले सतायो । सुशीलाको सम्झना आइरह्यो । मानसिक रूपले म निकै कमजोर भएँ । मलाई लाग्यो सबै कुरा खत्तम भइसक्यो । यो मनोवैज्ञानिक कमजोरीका कारण म ठम्याउन सक्छु । मनमा अस्वस्थ विचार र घोर निराशा छायो । (पृ.३९)
मानसिक रूपले कमजोर भएर घरको सम्झनामा पिल्सिएर र म नहुँदा मेरो परिवारका सदस्यहरूले के गरी गुजारा गरिरहेका होलान् भन्ने चिन्ता गरेर एक महिना खेर फालेँ । दिक्क भएर, अधीर भएर र आपैmँसँग चिढिएर समय बित्यो । म अब धेरै बाँच्दिन । (पृ.४१)
जीवनका बाँकी प्रत्येक पललाई अर्थपूर्ण र राम्रोसँग उपभोग गर्न म एकदम होशियार र व्यवस्थित हुनुपर्दछ । मैले हतार गर्नुपर्छ । समय थोरै छ । दिक्क र खिन्न हुन मसँग समय छैन, पटक्कै छैन । (पृ.४१)
आज हाम्रो विवाह भएको दिन । सन् १९३७ मा आजकै दिन हाम्रो बिहे भएको थियो । ..... प्रिय, म तिमीलाई सम्झिन्छु । छातीमा तिम्रा लागि प्रार्थना जस्तै एउटा मौन चित्कार बहन्छ । म यहाँ एक्लै छु । (पृ.४५)
हिजो म अतीतको स्मृतिमा डुबेको थिएँ । सुशीलासँगका दिनहरूको सम्झना ताजा भएको थियो । उनी मेरो संरक्षणमा हुर्के बढेकी थिइन् । म अत्यन्त भावविभोर भएर उनलाई सम्झिन्छु र मेरो माया एकपल्ट ताजा भएको अनुभव गर्छु । हे ईश्वर उनीजस्ती छिन् त्यस्तै नै रहुन् । (पृ.४६)
म एकदम बेचैन भएको छु । दिनभर घरको सम्झनाले सतायो । मन खिन्न थियो । (पृ.५०)
सुशीलालाई माया एकदम गहिरो मायाका साथ सम्झेँ । गहिरिएर, छटपटाएर, अन्धविश्वासी स्वस्पूmर्त र व्यग्र भएर । (पृ.५७)
मलाई सञ्चै छ । घरको सम्झनाले सताउन कम भएको छ । (पृ.५८)
झोकिँदै र चित्त बुझाउनै नसक्ने गरी दिक्क हुँदै दिन बित्यो । हिजोदेखिको घरको सम्झनाले फेरि नराम्रोसँग सताउन थालेको छ । (पृ.६१)
आज म एकदम प्रसन्न मुद्रामा छु । यसो हुनुमा कुनै ठुलो आध्यात्मिक र धार्मिक काममा व्यस्त छु भन्ने महसूस हुनु नै मुख्य कारण हो । मृत्युको क्षणसम्म जुन कामका लागि पूर्ण निष्ठा चाहिन्छ त्यही नै आध्यात्मिक काम हो । मलाई सताउने मेरो मानसिक कमजोरी, मलाई गाँज्ने निराशा, यी सबै आध्यात्मिक उन्नतिमा बाधाका साक्षीहरू हुन् । बौद्ध दर्शनले यस्ता बाधा अड्चनका कुराहरू गर्छ । यो बन्दी जीवनले मलाई कहिले काहीँ निराशाको अँध्यारो खाडलमा चुर्लुम्म डुबाउँछ तर आफैँले लिएको महान् लक्ष्य जुन आध्यात्मिक लक्ष्य हो पूरा गर्न मैले यो पीडाबाट गुज्रिनै पर्छ । अहिले म आफू हिँडेको तीर्थको बाटोका बाधा अड्चनहरूको प्रकृति बुझ्दै छु । (पृ.६४)
यो डायरीको जिल्दमा आफैँले टाँसेको उनी (सुशीला) को फोटो नियाल्छु । (पृ.६४)
म सुशीलाको सल्लाह सम्झिन्छु । (पृ.६८)
सुशीला कस्ती होलिन् ? उनका बारेमा सोच्छु । (पृ.७३)
आज आमाको खुब सम्झना आइरहेको छ । उहाँ अत्यन्त आदर्श नारी हुनुहुन्थ्यो । सुख र दुःखका नियतिको चक्रबाट गुज्रिँंदै उहाँले थुप्रै अनुभवहरू बटुल्नु भएको थियो । (पृ.७७)
आमा मेरा कमी कमजोरीका लागि क्षमा गर्नुहोला । तपाईंले मलाई देखाउनु भएको बाटो अनुसार म असल मानिस बन्ने कोसिस गर्नेछु । (पृ.७८)
झन् बढी एक्लोपन महसुस हुन्छ । घरिघरि घरको सम्झना आउँछ । (पृ.८०)
हिजोदेखि म व्यक्तिगत, पारिवारिक व्यक्ति हुन छोडेको छु । म सार्वजनिक व्यक्ति भएको छु । ठूलो उद्देश्य र आदर्श बोकेको आन्दोलनको नेता । व्यक्तिबाट सार्वजनिक हैसियतमा भएको यो रूपान्तरणले मलाई अहिलेको शक्ति दिएको हो । व्यक्तिगत चिन्ताहरूले मलाई त्यति बिघ्न दुःखी बनाएको हो । (पृ.८९)
अनौठो कुरा त के भने, यो एकान्त बास सुरु भएदेखि म व्याकुल र मानसिक रूपमा कम अशान्त छु । (पृ.९०)
मलाई घरको सम्झनाले सताउँछ । म एक्लो छु । (पृ.९४)
बुढ्यौलीमा मानिसहरू सायद दुःखमा अलि बढी नै सम्वेदनशील हुन्छन् । (पृ.९७)
घरको सम्झनाले सताउँछ । आफैँमाथि दया र सहानुभूति जाग्छ । (पृ.९८)
दिनमा धेरै पटक उनी (सुशीला) को फोटो हेर्छु । (पृ.९९)
म एक्लोपनबाट पीडित छु । एउटा डरलाग्दो एक्लोपन । (पृ.१०३)
मेरा डायरीका पानाहरू मानसिक पीडा र यातना समेतले भरिएका छन् । (पृ.१०४)
सुशीलासँग कुराकानी गर्न पाइने आशामा दिनभर रोमाञ्चित भइरहेको थिएँ । (पृ.११८)
सुशीलालाई भेटेको दिन-म खुशी छु । सबै ईश्वरलाई धन्यवाद दिन्छु । आमालाई सम्झिन्छु । हलुका महसुस गर्छु । (पृ.१२१)
व्यक्ति सार्वजनिक हुँदा उसको निजी जीवनमा के कस्तो असर पर्छ र आवश्यक पर्दा वा अवस्था र परिस्थितिले के कसरी ती निजी भावनाहरू प्रकट हुन्छन् त भन्ने बोध गराउने उद्देश्यले यो आलेखमा जननायक बीपीको निजी मनस्थितिका अभिव्यक्तिहरूलाई व्यक्त गरिएको हो ।
मेरो कठिन समय आउँदैछ । एउटा अग्निपरीक्षा । भगवान् मलाई बचाऊ । (पृ.१२३)
थुनिएको भोलिपल्टैदेखि घरको सम्झनाले उग्र सताएको छ र एक्लो महसुस हुन्छ । कहिलेकाहीँ एकदम निराश र निरीह हुन्छु । (पृ.१३०)
मलाई सुशीलाको पीर लागिरहन्छ । मैले उनका लागि पैसाको बन्दोबस्त गर्न सकिन । फेरि गिरफ्तार हुन काठमाडौं आएँ । (पृ.१५१)
पक्कै पनि मलाई जेल जीवन सुहाउँदैन । आफ्नो आदर्शप्रतिको प्रतिबद्धता, स्वाभिमान र आत्मसम्मानको रक्षाको भावनाले मात्र मलाई जेलमा टिकाइराखेको छ । जेल पर्नासाथ घरको सम्झनाले सताउँछ । बाहिरका ससाना कुराहरू र आफ्ना मान्छेहरूको झझल्को आइरहन्छ । आपूmले माया गरेका मानिसहरूको अरू माया लाग्छ । मैले हेरविचार गर्नुपर्ने मानिसहरूप्रति आफ्नो कर्तव्य निर्वाह गर्न नसकेकोमा ग्लानि हुन्छ । आफ्ना छोराछोरीहरूको लालनपालन र पढाइलाई मैले बेवास्ता गरेको छु । उनीहरूले जे जति पढिरहेका छन् त्यो मेरो कुनै योजना र हेरविचारविना नै गरिरहेका छन् । उनीहरूले भरपुर माया गर्ने एउटी ममतामयी आमा पाएका छन् । तर उनी आमा मात्र हुन् अभिभावक होइनन् । (पृ.१५२)
आज दिनभर शैलजालाई सम्झिरहन्छु । (पृ.१५७)
व्याकुलता । (पृ.१६८)
माया र अरू कुनै पनि भावना शब्दमार्फत व्यक्त हुँदा यसको मूल मर्म नै हराउँछ । जीवनसँग सहमत हुनुहोस् । सकारात्मक बन्नुहोस् । माया के हो ? यसको महत्व के हो ? । (पृ.१६८)
एकदमै आकुलव्याकुल । (पृ.१६९)
यी अभिव्यक्तिहरू डायरीभित्र विभिन्न प्रसंगमा बीपीले व्यक्त गरेका निजी विचारहरू हुन् जसले हामी जस्तै सामान्य मान्छे बीपीको मनस्थितिको परिचय दिनेछन् । तर यसको अर्थ ती निजी कुराहरूमात्र बाहिर ल्याएर बीपीलाई व्यक्तिगत जीवनका बारेमा मात्र सोच्ने, कमजोर मनस्थिति भएका, अति नाजुक र निजी बीपीलाई चिनाएर उनको महान् लक्ष्य र उद्देश्यको अभियान र इतिहासलाई ओझेल पार्ने मनशाय कदापि होइन । फेरि यी कुराहरू बीपी स्वयंले व्यक्त गरिसेका र अभिलेखीकरण भइसकेका कुराहरू नै हुन् ।
मात्र के हो भने एकजना महान् व्यक्ति, आदर्श व्यक्ति वा असल व्यक्ति जो राष्ट्रको सार्वजनिक सम्पत्ति हो, जसका प्रति राष्ट्रको दायित्व रहेको हुन्छ भने उसको पनि राष्ट्रका प्रति दायित्व रहेको हुन्छ त्यो व्यक्तिको पनि निजी जीवन छ र आम मानिसको जस्तै मन, मस्तिष्क र मुटुले जोडेको सम्बन्ध पारिवारिक जिम्मेवारी छ । व्यक्ति सार्वजनिक हुँदा उसको निजी जीवनमा के कस्तो असर पर्छ र आवश्यक पर्दा वा अवस्था र परिस्थितिले के कसरी ती निजी भावनाहरू प्रकट हुन्छन् त भन्ने बोध गराउने उद्देश्यले मात्र यो आलेखमा जननायक बीपीको निजी मनस्थितिका अभिव्यक्तिहरूलाई यसरी व्यक्त गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच