✍️ प्रा.डा. भूपप्रसाद धमला
यथार्थको पहाड उक्लेर माथि जाँदै गर्दा
अनायास म हिँडेको पहाडको एक ढिको
झर्यापझुरुप चोइटिएर तल खस्छ
चोइटासँगै खुर्मुरिएर म तल झर्छु
उठेर फेरि माथि जान्छु
किन्तु उही पहाडको फेदमा पछारिन्छु
अर्धचेतमै गम्भीर सोचमा डुब्छु
फेरि यथार्थको पहाड मैले चढ्नु छ
पहाडको चुचुरोमा पुगेर सफलताको झन्डा गाड्नु छ
त्यसरी नै जसरी मेरा पूर्खाले गर्ने गर्थे
तर अफसोस !
कैयौं पटक म पहाड उक्लिन्छु
त्यति नै पटक म घाइते हुँदै पछारिन्छु
निर्मम पहाडसँगको निरर्थक पौंठाजोरीमा पराजित हुन्छु ।
एकपटक एकैछिन पहाडको फेदमा थरक मारेर हेर्छु
परसम्म पसारिएको अपरिमित मैदान
मैदानभरी लटरम्म फलेका थरिथरिका फल
बागभरी फुलेका रंगीबिरंगी फूल
जिगीषायुक्त लयमा केही गर्दै गरेका युवा
उषाको लालीमा झल्मलाएका युवती
सौन्दर्यले भरपुर मैदान
आहा क्या देदीप्यमान् शहर !
यता पो रमाइलो भन्दै म जुरुक्क उठ्छु
दगुर्छु मैदानभरि फाल्तोड
सोच्छु यही पो हो कि भूस्वर्ग कतै !
हठात् म उही सोचाइमा फर्कन्छु
पहाड सरल छ जस्ताको तस्तै
सर्जकको यथार्थ फोटोग्राफ
कहीं कतै नसिंगारिएको
लिपपोत घसघास नगरिएको
मौलिक छटायुक्त सौन्दर्यले भरपुर
अपराजित, अपरिमेय, अपरिमित ।
यता मैदान झकिझकाउ सिंगारिएको छ
मानवनिर्मित गगनचुम्बी महल छन्
बागभारी लटरम्म फलेका फल छन्
रंगीबिरंगी फुलेका फूल छन्
उषाको लाली झलमल्ल छ
लालीमा सज्जित सुन्दरी युवती
देदीप्यमान् शहरको झिलिमिली
लम्पसार पसारिएको सारा मैदान रमणीय
किन्तु फगत माटोबाहेक सबै कस्मेटिक ।
कस्मेटिक मैदानबाट ठिङ्ग उभिएर माथि हेर्छु
यथार्थको पहाड अझ अग्लिँदो छ
अपरिमेय उच्च शिखर छ
तर पनि एउटा मान्छे निरन्तर पहाड चढ्दो छ
अनायास म देख्छु
पहाडको अर्को एक ढिको चोइटिन्छ
फेरि देख्छु चोइटासँगै मान्छे खुर्मुरिएर तल झर्दो छ
असमन्जस यसै मैदानमै उभिएर आफैँलाई सोध्छु
कुन बढी सुन्दर- पहाड कि मैदान ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच