सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ : प्रथम राष्ट्रपति यादव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शनिवार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले अहिलेको सरकारले र अहिलेको नेपाली काँग्रेससहितका पार्टीहरुले राम्रो काम गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताउनु भयो ।

उहाँले दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति पनि गुनासो गर्नुभयो । उहाँले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताउनु भयो । उहाँले सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली काँग्रेस वा अरु पार्टीहरुले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो । गर्न सकिरहेको छैनन् । तर हामी एउटा बाटोमा छौँ । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ । निश्चय नै शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय छ । ५० औं लाख मानिस विदेश छन् । तर हामी लोकतान्त्रिक प्रोसेसमा छौँ । कोर्स करेक्शन हुन्छ भन्ने आशा गरौँ । हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । यो देश, राष्ट्रको अस्तित्व कायम रहोस् भनेर काम गर्नुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौँ ।’

प्रथम राष्ट्रपति यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरु एक हुनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?