काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा यही पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ । विश्व कराते महासंघको चार मुख्य विधामध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करणमा पुरुष र महिलामा एकल र कातासहित समान ६/६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराउनुभयो ।
पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, खुल्ला तौल समूह र एकल काता इभेन्ट्स छन् । त्यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुल्ला तौल र एकल काता रहेका छन् ।
प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ । प्रत्येक प्रदेशबाट हरेक तौलमा छानिएका एकजना खेलाडी मात्र सहभागी हुनेछन् । जसअनुसार एक प्रदेशबाट एक तौल समूहमा समान ६-६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुनेछन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन् ।
प्रतियोगितामा पदक जित्ने खेलाडी, टिम च्याम्पियन प्रथम, द्वितीय, तृतीय, बेष्ट फाइटर पुरुष र महिला सबैलाई नगद पुरस्कारको व्यवस्था गरेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुने सातवटै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजकका अनुसार सहभागी खेलाडीको बीमा पनि गरिएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरू बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुनेछ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष पुरुषोत्तम भण्डारी, नेपाल सोतोकान कराते संघका अध्यक्ष श्याम शेर्पा लगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच