संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आहृवान गर्नुभएको छ । अक्टोबर ७ मा प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास)ले इजरायलको दक्षिणी सिमानामा गरेको भयानक आक्रमणको तीन महिनासम्म पनि गाजा मृत्यु र निराशाको थलो बनेको उहाँले शुक्रबार बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामी गाजाका जनता र यसका खतरामा परेका छिमेकीहरूका लागि मात्र होइन, तर भावी पुस्ताका लागि पनि युद्धको तत्काल अन्त्यको माग गर्दछौं । युद्धले यी ९० दिनको कहालिलाग्दो हिंसा र मानवतासम्बन्धी सबैभन्दा आधारभूत नियमहरू माथिको आक्रमणलाई कहिल्यै बिर्सने छैनन् ।’
‘यो समय युद्धरत पक्षहरूले नागरिकहरूको सुरक्षा र आधारभूत आवश्यकता पूरा गर्न र सबै बन्धकलाई तुरुन्तै रिहा गर्ने अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना सबै दायित्व पूरा गर्ने समय हो’, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय समुदायले आफ्नो सम्पूर्ण प्रभाव प्रयोग गरेर युद्धरत पक्षलाई युद्धविराम गर्नका लागि दबाब दिने बेला आएको छ ।
युद्धभएको करिब तीन महिना बितिसक्दा पनि गाजाको मानवीय अवस्था दयनीय छ । अधिकांश महिला र बालबालिकासहित करिब २३ हजार मानिस मारिएका छन्, दशौं हजार व्यक्ति घाइते भएका छन् भने लाखौं व्यक्ति युद्धका कारण विस्थापित र प्रभावित भएका छन् । तापक्रम घटेसँगै विस्थापित परिवार खुला ठाउँमा सुतिरहेका छन् । सर्वसाधारणलाई आफ्नो सुरक्षाका लागि अन्यत्र सार्न भनिएको क्षेत्रमा बमबारी भएको छ । चिकित्सा संस्था निरन्तर आक्रमणमा परेका छन् ।
आंशिक रूपमा सञ्चालनमा रहेका केही अस्पताल ट्रमाका बिरामीहरूले भरिएका छन्, सबै आपूर्तिको गम्भीर अभाव छ, र सुरक्षाको खोजीमा मानिसहरू हताश बनेका छन् । जनस्वास्थ्यमा विपत्ति आइपरेको छ । भिडभाड हुने आश्रयस्थलमा ढलहरू बग्दै जाँदा संक्रामक रोगहरू फैलिरहेका छन् । यो अस्तव्यस्तताका बीच दैनिक करिब १८० प्यालेस्टिनी महिलाले बच्चा जन्माइरहेका छन् ।
मानिसहरूले अहिलेसम्मकै उच्चस्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । भोकमरीको जोखिम नजिकिएको छ । विशेषगरी बच्चाहरूका लागि, विगत १२ हप्ता निकै दर्दनाक बनेका छन् । उनीहरूका लागि कुनै खाना छैन । पानी छैन । विद्यालय छैन । उहाँले भन्नुभयो, ‘युद्धको डरलाग्दो आवाजबाहेक दिनदिनै अरू केही सुनिँदैन’, ग्रिफिथ्सले भन्नुभयो, ‘त्यहाँका मानिसहरूले आफ्नो अस्तित्वका लागि दिनहुँ खतरा देखिरहेका छन् र संसारले हेरिरहेको छ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच