काठमाडौं । विश्व व्यापार संगठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा आइतबादेखि काठमाडौंमा दुई दिने ‘डब्लुसिपी नेपाल-एआइबी साउथ एशिया कन्फ्रेन्स, २०२४’ सुरु भएको छ । विश्व व्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति शृंखला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथ एशियाः कम्पिटेटिभनेस, भ्यालु चेन एण्ड इएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरक खालेको वाणिज्य नीति अवल्बन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषणसहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
एआइबि–एसएसी एक्जुकेटिभ बोर्डका अध्यक्ष प्रोफेसर एस रघुनाथले दक्षिण एशियाली मुलुकको वैदेशिक व्यापारसँग सम्बन्धित नीति निर्माणमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सहज आपूर्ति शृंखला निर्माण गर्न विश्वव्यापी रूपमा एक अर्कादेशबीच अन्तरनिर्भरता रहेको भन्दै उहाँले सबैको समान सहभागिता र योगदान आवश्यक हुने बताउनुभयो । स्थानीयस्तरको उत्पादन प्रवद्र्धनमा नवप्रवर्तन तथा बौद्धिक अधिकारको अधिकतम प्रयोगमा जोड दिनुपर्ने उहाँको सुझाब थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलित रूपमा अघि बढाउन देखिएको नीतिगत खाडल पुर्न अनुसन्धानकर्ता तथा अध्येताबाट आउने सुझाबलाई सरकारले सकारात्मक रूपमा लिने र आवश्यकता अनुसार ती सुझाब कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो । उहाँले विश्वव्यापी आपूर्ति शृंखला निर्माण तथा नेपाली बस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिपस्पर्धी बनाउन आवश्यक नीतिगत, संरचनागत र कार्यान्वयन तहमा देखिएका समस्या समाधानको आवश्यकता औल्याउनुभयो ।
नेपालले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिपछि व्यापार क्षेत्रमा गुमाउने विभिन्न सुविधाको व्यवस्थापनका लागि रणनीतिक रूपमा काम गरिरहेको जानकारी गराउँदै उहाँले दिगो विकास लक्ष्य प्राप्तिमा आन्तरिक उत्पादकत्व बढाएर प्रतिस्पर्धी बजार निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी नियोगका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले वैदेशिक व्यापार, विकास र समृद्धिको इन्जिन भन्दै दक्षिण एशिया विश्व बजारको ठूलो हिस्सा रहेको बताउनुभयो । नेपाललगायत देशहरूले व्यहोरिरहेको उच्च व्यापार घाटा समस्या समाधान, उत्पादन र बजारको विविधीकरण गरिनुपर्नेमा उहाँको जोड थियो । दक्षिण एशियाका नेपाल र बंगलादेश अतिकम विकसित मुलुकबाट सँगसँगै स्तरोन्नति भइरहेकोमा स्तरोन्नतिपछि पनि व्यापारका क्षेत्रमा हाल पाइरहेका शून्य भन्सारलगायत सुविधा (ड्युटी फ्रि, कोटा फ्रि)को निरन्तरताका लागि संयुक्त राष्ट्र संघमा विभिन्न तहको छलफल भइरहेको पनि उहाँले बताउनुभयो ।
डब्लुटिओका डेपुटी डाइरेक्टर जेनेरल सियाङचेन झाङले विश्व व्यापारमा सहजीकरणका लागि विभिन्न क्षेत्र र तहसँग क्षमता विकासका लागि काम भइरहेको बताउनुभयो । पछिल्लो समय विश्व व्यापारको परिदृश्यमा बदलाव भइरहेको सन्दर्भ जोड्दै उहाँले अतिकम विकसित मुलुकको व्यापारसँग सम्बन्धित सुविधाको निरन्तरताका लागि पहल गरिनेसमेत प्रतिबद्धता जनाउनुभयो । जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणसँग सम्बन्धित मुद्दालाई विश्व समुदायले नै गम्भिरतासाथ लिनुपर्नेमा पनि उहाँको जोड थियो ।
काठमाडौं विश्वविद्यालका उपकुलपति प्रोफेसर डा.भोला थापाले क्षेत्रीयस्तर र विश्व बजारमासमेत व्यापारका आयाम परिवर्तन भइरहेको र त्यसले नेपाल जस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भइरहेको भन्दै त्यस्तो समस्या समाधानका लागि सबैको प्रयास आवश्यक हुने बताउनुभयो । न्यून उत्पादनका कारण नेपालको निर्यात पक्ष निकै कमजोर रहेको तथा नेपालले डब्लुटिओका सुविधाको पर्याप्त लाभ लिन नसकेको भन्दै उहाँले अनुसन्धान र आपसी छलफलले राम्रो नीति निर्माणका लागि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय विदेश व्यापार संस्थान, कोलकत्ता क्याम्पसका प्रमुख प्रोफेसर के रंगराजनले दक्षिण एशिया क्षेत्रमा उच्च जनसांख्यकीय लाभ रहे पनि व्यापारका क्षेत्रमा उचित लाभ लिन नसकेको बताउनुभयो । दक्षिण एशियाले क्षेत्रीय र वैश्विक व्यापारमा विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै उहाँले नवीनतम् प्रविधिको उच्चतम प्रयोगबाट यस क्षेत्रका उत्पादन विश्व बजारमा पुर्याउन सकिने सम्भावना रहेको बताउनुयो ।
एसोसिएसन अफ इण्डियन युनिभर्सिटीजको महासचिव डा.पंकज मित्तलले शैक्षिक अध्ययनका विभिन्न कार्यक्रमका माध्यमबाट अन्तरदेशीय आबद्धता कायम गर्न सकिने बताउनुभयो । सम्मेलनमा विभिन्न सात देशबाट ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वको सहभागिता छ । दुई दिने सम्मेलनमा विभिन्न विषयमा शोधपत्र प्रस्तुत हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच