काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनुभएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री र लगानीकर्तालाई सम्बोधन गर्दै उहाँले निम्तो दिनुभएको हो ।
मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्तालाई पनि निम्तो गर्छु । तपाईंहरूको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु ।’
उहाँले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आइटीमा लगानीको ठूलो अवसर रहेको भन्दै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवालगायत क्षेत्रमा लगानीको अवसरको रहेको बताउनुभयो ।
मन्त्री महतले भन्नुभयो, ‘दिगो र समावेशी वृद्धिलाई प्रवद्र्धन गर्न व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ । मोदी जीले २००३ मा परिकल्पना गर्नुभएको भाइब्रेन्ट गुजरात अवधारणा किनै उपयोगी छ । राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौती सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशका लागि प्रेरणाको स्रोत भएको छ ।’
सन् २०१४ मा नेपालको संसद्मा प्रधानमन्त्री मोदीको मन्तव्य स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘विशेषगरी तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो, हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउनसँगै काम गरिरहेका छौं भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ ।’
मन्त्री महतले हालै दुइ देशबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएकोमा नेपालमा जलविद्युत्मा लगानीको ठूलो अवसर खोल्ने बताउनुभयो । नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा संक्रमण लक्ष्य हासिल गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘दुई विश्व आर्थिक शक्ति राष्ट्रबीचमा अवस्थित नेपालले ९० को दशकको सुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको छ र धेरै अन्तर्राष्ट्रिय संस्था र बहुपक्षीय एजेन्सीको सदस्य छ । हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यापार तथा लगानी नीति र नियमन लागू गरिरहेका छौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच