जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार

हिमालय टाइम्स
Read Time = 4 mins

टालिन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गर्नुभएको छ । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उहाँले बताउनुभयो ।

“युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन”, इस्टोनिया भ्रमणका क्रममा उहाँले भन्नुभयो, “युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि हामीलाई कुल्चन सक्नेछ ।”

सन् २०२२ फेब्रुअरीमा रुसको पूर्णस्तरको आक्रमणपछि कहिलेकाहीँ सीमित युद्धविरामको प्रस्ताव गरिएको छ तर कहिले पनि यसलाई लागु गरिएको छैन । करिब एक हजार पाँच सय किलोमिटरको फ्रन्ट लाइन अधिकांश चिसो मौसमका साथ स्थिर रहन्छ ।

यस्तो अवस्थामा लामो दूरीको हमलालाई सक्षम बनाउन दुवै पक्षलाई तोपखाना गोला, मिसाइल र ड्रोनको आवश्यकता पर्छ । मस्कोले कथितरूपमा उत्तर कोरियाबाट तोपखाना गोला र मिसाइल तथा इरानबाट ड्रोन किनिरहेको जेलेन्स्कीले बताउनुभयो ।

रुस–युक्रेन युद्धमा युक्रेनको कट्टर समर्थकमध्येको बाल्टिक मुलुकहरूको दुई दिने भ्रमणका रूपमा जेलेन्स्की इस्टोनियाको राजधानी टालिनमा हुनुहन्थ्यो । आफ्ना पश्चिमी सहयोगीहरूबाट पहिला नै अर्बौं डलरको सैन्य सहायता प्राप्त गरेपछि युक्रेनी राष्ट्रपतिले आफ्नो मुलुकलाई थप समर्थन प्रदान गर्नका लागि सहयोगीहरूमाथि दबाब दिइरहनुभएको छ ।

“युक्रेनलाई थप आवश्यकता छ, उसलाई राम्रा हतियारको आवश्यकता छ”, इस्टोनियाली राष्ट्रपति अलार कारिसले राष्ट्रपति भवनमा जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “युक्रेनले आफूलाई चाहिने कुराहरू प्राप्त गर्न सकोस् भनेर हामीले सैन्य उत्पादन क्षमतालाई बढाउन आवश्यक छ र यो भोलि होइन उसले आजै पाउनुपर्छ ।”

कारिसले युरोपेली युनियन ९इयु० का मुलुकहरूले अहिलेसम्म युक्रेनलाई ८५ अर्ब युरो (९३ अर्ब अमेरिकी डलर) सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । यद्यपि समर्थनको गति सुस्त हुँदा आफ्नो ठूलो छिमेकीविरुद्ध एक्लै उभिन गार्हो हुने भएकाले युक्रेनीहरू चिन्तित छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले किएभलाई ६० अर्ब डलरको नयाँ अनुदान पठाउने योजना कांग्रेसमा अड्किएको छ । मार्चमा १२ महिनाभित्र १० लाख तोपखाना गोला उपलब्ध गराउने युरोपको प्रतिज्ञा पूरा भएको छैन । अहिलेसम्म तीन लाख गोला मात्र वितरण गरिएको छ ।

दोस्रो विश्वयुद्धका क्रममा जोसेफ स्टालिनले तीनै मुलुकमाथि कब्जा गर्नुभएको थियो र सन् १९९१ मा सोभियत सङ्घ विघटन भएसँगै पुनः उनीहरू स्वतन्त्र भएका हुन् । उनीहरू सन् २००४ मा नाटोमा समावेश भए र स्वयंलाई अमेरिका र उसको पश्चिमी सहयोगीहरूको सैन्य सुरुक्षामा राखेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?