नीति कार्यक्रम पास गर्दै सकियो हिटिधारा सहकारीको साधारणसभा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर ८ पोखरेमा सञ्चालनमा रहेको हिटिधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारणसभा नीति तथा कार्यक्रम पास गर्दै शनिवार सकिएको छ ।

सहकारीका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षता तथा जिल्ला सहकारी संघ भोजपुरका ब्यवस्थापक ईश्वरीप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा सहकारीले गर्दै आएको बचत तथा ऋणको अवस्था र आगामी दिनमा सहकारीलाई नमुना बनाउन गरिने प्रयासका बारेमा समेत छलफल भएको थियो ।

सो क्रममा अध्यक्ष थापाले वार्षिक आय ब्यय तथा सहकारीको नीति कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो । १५ वर्ष अगाडि देउसी भैलोबाट संकलित चार हजार पाँच सय रकमले स्थापित भएको सहकारीमा हाल चार सय ९९ जना शेयर सदस्यहरु छन् ।

सो क्रममा आगामी दिनमा सहकारीले सरोकारवाला पक्षसँग छलफल गर्दै ऋणीहरुलाई समयमा साँवा ब्याज रकम भुक्तानी गर्न आग्रह गर्दै ५० हजार भन्दा माथि ऋण प्रवाह गर्दा धितो राखेर मात्र दिने निर्णय पारित गरिएको छ ।

ठुला क्षेत्रमा संचालित सहकारीहरु धारासायी बन्दै गएको अवस्थामा हिटिधाराले सहकारीको ऐन नियम अनुसार आफनो कार्य गरी रहेकाले यसलाई निरन्तरता दिन आवश्यक भएको जिल्ला सहकारी संघ भोजपुरका ब्यवस्थापक ढकालले बताउनुभयो । सहकारीको नियम परिधि भित्र रहेर बचतकर्ताहरुले पनि कार्य गर्न आवश्यक रहेको बताउँदै ढकालले समयमा लगेको क्रणको ब्याज तथा साँवा तिर्ने गरिएमा सहकारी पनि सहजरुपमा संचालन हुने बताउनुभयो ।

सोक्रममा संचालक समितिका सदस्य निरोज कोइरालाले स्वागत सहित आफनो धारणा राख्दै सहकारी आवद्ध नै संस्थाको मालिक हुने भएकाले सहकारी टिकाउन सवै पक्ष चनाखो हुन आवश्यक रहेको बताउनु भएको थियो । उहाँले सहकारी मार्फत संचालन हुने क्रियाकलापहरुमा सक्रिय सहभागी हुँदै सहकारीका हितमा लाग्न शेयर सदस्यहरुलाई आग्रह समेत गर्नु भयो ।

साधारणसभामा सहभागीहरुले सहकारीको हितका लागि आफुहरु कटिबद्ध रहेको बताउँदै ऋण प्रवाहमा देखिने समस्या समाधान तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?