इलाममा माघे सङ्क्रान्ति मेला

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । विगतका वर्षमा जस्तै यस पटक पनि इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने धार्मिक क्षेत्र माईबेनीमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ ।

इलामको इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको संगमस्थल माइवेनीमा बर्सेनि लाग्दै आएको माघे सङ्क्रान्ति मेला यसवर्ष पनि सुरु भएको हो ।

माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्ज्लििङ, सिक्किम, मिरिकबाट हजारौं सर्वसाधारण एक साता देखि नै माईबेनी आइपुगेका छन् ।

यस पटक राम्रो बजार व्यवस्थापन र माइखोलाको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाइएको मेला आयोजक समितिले जनाएको छ ।

मेलामा सयौं अस्थायी पसल खोलिएका छन् । माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीयस्तरमा उत्पादन हुने उखु र सुन्तलाको धेरै किनबेच हुनेछ ।

माई र जोगमाईको संगम स्थल

जोगमाई र माई खोलको दोभानमा रहेको माइबेनी इलामका तीन स्थानिय तह इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगम स्थल हो । माइबेनी इलाम जिल्ला कै महत्वपूर्ण धार्मिक स्थल पनि हो । हरेक बर्षको माघेसक्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ ।

स्थानिय उत्पादित कृषि उपज तथा कला संस्कृतिको प्रचार प्रसार गर्ने साथै धार्मिक आस्थालाई बचाइराख्ने उदेश्यले मेला आयोजना गरिँदै आएको छ । फराकिलो खेत र खोला बगरमा लाग्ने मेला पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै गएको छ ।

उक्त मेलामा इलाम, झापा, पाँचथरका साथै भारतको पश्चिम बंगाल सिक्क्मि, दार्जिलिङ्ग, मिरिक लगायतका क्षेत्रबाट पर्यटक तथा दर्शनार्थीहरु आउने गरेका छन । यसरी आएका धर्मावलम्बीहरुले जोगमाई र माइ खोलामा स्नान गरी त्यसै स्थानमा रहेको माइ भगवती मन्दिरमा पूजाआजा गर्ने गरेका छन् ।

यसरी पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । विभिन्न प्रकारका तरुल, सुन्तला, बदाम र उखुलाई माइबेनीको प्रशिद्ध खानेकराका रुपमा लिइन्छ । माइबेनी जिल्लाकै प्रख्यात मेला भए पनि बर्षमा तीन चार दिन रमझम हुने र बर्ष भरि सुनसान हुने गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?