ललितपुर । बासमती धानको आधिकारिकताको दाबी गर्दै आएको नेपालले अन्ततः बासमती धानको आधिकारिकता गुमाएको छ । बासमती धानको आधिकारिकताका सबालमा अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालले दरिलो लबिङ गर्न नसकेका कारण बासमती धानको आधिकारिकता भारतले पाएकोे छ । बासमती धानका लागि नेपाल, भारत र पाकिस्तानले आफ्नो दाबी गर्दै आएका थिए ।
भारतले बासमती धानमा आफ्नो आधिकारिकताका लागि २०७७ मा युरोपियन युनियन(इयु)मा निवेदन दिएपछि नेपालले पनि आफ्नो दाबी प्रस्तुत गर्दै निवेदन दिएको थियो । त्यसो त सन् २०२० सेप्टेम्बर ११ मा इयुले बासमती धानमाथि अन्य देशको दाबी छ कि छैन भनेर सूचना जारी गरेपछि मात्रै नेपालले पनि उक्त दाबी प्रस्तुत गरेको हो । भारत र पाकिस्तानले प्रस्तुत गरेका दाबीभन्दा नेपालको दाबीमा प्रमाण उत्कृष्ट हुँदाहुँदै पनि नेपालतर्फबाट दरिलो उपस्थितिसहितको लबिङ नहुँदा नेपालबाट बासमती धानको स्वामित्व फुत्किन पुगेको राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक)ले जनाएको छ ।
जुम्ली थाली, गुज्मुजे रायो, पोखरेली बदाम, फर्पिङको नास्पाती, जुम्ली मार्सी, तोङ्वा, जुम्ली सिमी, अकबरे खुर्सानी, कुभिण्डे फर्सी, इलामको चिया, मुढेको आलु, गाँजालगायतको पनि नेपालले स्वामित्व लिनुपर्ने सूचीमा रहेका छन् ।
राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रद्वारा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा केन्द्रका वरिष्ठ वैज्ञानिक आरपी मैनालीले बासमती धानको भौगोलिक संकेत लिन नेपालको पहुँच नपुगेको बताउनुभएको हो । मैनालीका अनुसार इयुमा तीनवटै देशले आ-आफ्ना प्रमाण प्रस्तुत गरेकामा नेपालले ७० वटाभन्दा बढी प्रमाण पेश गरेको थियो । तर, नेपालतर्फबाट प्रभावकारी कानुनी पहल हुन सकेन । भारत र पाकिस्तानका मन्त्री नै लागेका थिए । उहाँले भन्नुभयो, ‘भारत, पाकिस्तानले इयुमा धेरै पैसा खर्च गरेर ठूला-ठूला पहुँचवाला वकिल नै राखेका छन्, वकिललाई डलरमा रकम दिएर त्यसको कानुनी उपचार खोज्न खटाएका छन् । त्यहाँको सरकार नै लागेको छ तर आवश्यक प्रमाणसहित हामीले निवेदनमात्रै दियौँ, अरू पहल हुन सकेन ।’ नेपालबाट जीन बैंकका प्रमुखले मात्र पहल गरे पनि सरकारीस्तरबाट वास्ता नगरेपछि सम्भवतः त्यसको आधिकारिकता भारतले प्राप्त गरेको बुझिएको पनि मैनालीले बताउनुभएको छ । किनभने भारतले त्यसको ब्राण्डिङ पनि सुरु गरेको छ । तथापि पाकिस्तान अझै पनि लडिरहेको छ ।
नेपालले २५ सय वर्षअघिदेखि उत्पादन हुँदै आएको प्रमाणका साथै नेपालको बासमती धानबारेमा प्रकाशित जर्नल, पुस्तक, गीत, कविता, विभिन्न लेखरचनालाई आधार मानेर प्रमाणहरू संकलन गरी इयुमा बुझाइएको थियो । नार्कको जीन बैंकमा अझै पनि २६ प्रकारका बासमती धानका जात राखिएका छन् । बासमती धानमात्रै नभई गुन्द्रुकको टे«कमार्क पनि एक अमेरिकनले लिइसकेको जीन बैंकका वरिष्ठ वैज्ञानिक मैनालीले बताउनुभएको छ ।
मैनालीका अनुसार ती अमेरिकनले गुन्द्रुकमा नुनको संयोजन मिलाएर ट्रेडमार्क लिएको तथ्य पत्ता लागेको हो । नेपालका धेरै रैथाने उत्पादनको टे«डमार्क लिनुपर्ने भए पनि तत्कालका लागि जीन बैंकले भक्तपुरको जुजु धौ, गुल्मीको सख्खर र मनकामनाको सुन्तलाको ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाएको पनि उहाँले जानकारी दिनुभएको छ ।
त्यसो त जुम्ली थाली, गुज्मुजे रायो, पोखरेली बदाम, फर्पिङ नास्पाती, जुम्ली मार्सी, तोङ्वा, जुम्ली सिमी, अकबरे खुर्सानी, कुभिण्डे फर्सी, इलामको चिया, मुढेको आलु, गाँजालगायतको पनि नेपालले आधिकारिकताका लागि आवश्यक तयारीमा लाग्नुपर्ने आवश्यकता रहेको मैनाली बताउनुहुन्छ । बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारका सबालमा नेपाल सरकारको उदासीनताका कारण बासमती धानमात्रै नभई अरू पनि धेरै वस्तुको त्यसैगरी अर्कै मुलुकले ट्रेडमार्क लिएको हुन सक्ने विज्ञहरूले बताएका छन् । नीतिगत समस्याका कारण पनि बौद्धिक सम्पत्तिको अधिकार संरक्षणका सबालमा नेपाल धेरै पछि परेको बौद्धिक सम्पत्ति संरक्षण समाजले जनाएको छ । सोसम्बन्धी नियामक निकाय उद्योग विभागले पनि नीतिगत समस्या र साधन स्रोतको अभावमा ट्रेडमार्कसम्बन्धी काम गर्न सकेको छैन । जसका कारण टे«डमार्क दर्तासम्बन्धी सयौँ निवेदन पेण्डिङमा रहेका विभागकै अधिकारीहरूले बताउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच