‘जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्नू’ भन्नु कत्तिको जायज !

चिन्तन क्षेत्री
Read Time = 8 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने संकेत गर्नुभयो ।

उहाँले तत्काल ल्याउन नसकिने मात्रै होइन ‘जागिर भन्दैमा जहाँ पायो त्यहीँ नजानू, सरकारले पठाएको हो र ?’ जस्ता वाक्यहरु पनि सार्वजनिक पत्रकार सम्मेलनमा नै बोल्नुभयो । त्यो पनि एक प्रतिष्ठित कार्यक्रममा सहभागी भएर आएका प्रधानमन्त्रीको हैसियतले । प्रचण्डको भनाईलाई तल उल्लेख गरौँला त्यो भन्दा पहिले केही प्रतिनिधिमूलक घटनाको चर्चा यहाँ आवश्यक छ ।

घटना १

‘हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागि बन्दुक बाेकेर झण्डै १ दशक रगत र पसिना बगाइयो । अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन । परिणामत आज पनि सत्ता र शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपतिहरुकै जगजगी छ । परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्धाहरु आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ ।’

मथिको यो भनाई रसियन आर्मीमा रहेका एक माओवादीका पूर्व लडाकुको हो । म्याग्दी स्थायी घर भइ सामाजिक सञ्जालमा डाइमण्डका नामले परिचित यी पूर्व लडाकुले परिवार पाल्नकै लागि अहिले विदेशका गल्लीमा भौंतारिनु पर्ने बाध्यात्मक अवस्था आएको बताएका थिए । उनीसँग उनकी पत्नी प्रेरणा शेर्पाली पनि पूर्व माओवादी लडाकु हुन् ।

घटना २

स्याङ्जा वालिङ नगरपालिका-१४ का २३ वर्षीय हरिप्रसाद अर्याल नेपाली सेनाको जागिर छाडेर रुसतिर लागेका थिए ।

सेनाको जागिर खाएको तीन वर्ष नपुग्दै बहराइन पुलिसमा जान भनेर उनले जागिर छाडेका थिए । तर भिसा लागेन । त्यसपछि पनि उनले साउथ अफ्रिकादेखि कम्बोमा सुरक्षा गार्डमा जाने प्रयास गरे त्यो पनि सफल नभएपछि दलाल मार्फत उनी गत कात्तिक ३ गते एजेन्टमार्फत भिजिट भिसामा दुबई हुँदै रुस गएका थिए ।

रुसी सेनामा भर्ती भएका बखत अर्यालले डिसेम्बर ४ मा आफ्नो सामाजिक सञ्जालमा ‘यस्तै छ जिन्दगी बाँचे भेट, मरे त त्यत्तिकै’ लेखेर भिडियो पोस्ट गरेका अर्याल भनेजस्तै उनको जीवन ‘त्यत्तिकै’ मा सकियो ।

स्याङ्जा पुतली बजार-५ का प्रितम कार्कीको पनि रुस-युक्रेनको युद्धमा मृत्यु भएको थियो । कार्कीले १६ वर्षे सेवापछि नेपाली सेनाबाट अवकाश लिएर रुसको बाटो रोजेका थिए ।

यी प्रतिनिधिमुलक घटना मात्रै हुन । सरकारकै तथ्याङ्कले अहिलेसम्म १० जना नेपालीको रुस युक्रेन युद्धमा मृत्यु भइसकेको पुष्टि गर्छ । अझ यो संख्या बढी हुनसक्ने कूटनीतिक क्षेत्रका जानकारहरु दाबी गर्छन् ।

यो अवस्थामा देशको प्रधानमन्त्रीले आफ्नो संविधान, कानून पालनाका कुरा गर्नु, आफ्ना नागरिकलाई राहत, उद्दारमा सरकार छ भन्नलाई केही गरेर देखाउनलाई कुनै रोकतोक थिएन/छैन । बरु सरकारकै वाहीवाही हुने थियो । तर जाबो परिवार पाल्नका लागि आफ्नो जीवनमै बन्दगी राख्नेहरुलाई ‘जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्नू’ भन्नुको कत्तिको जायज हो ?

विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँले भन्नुभएकाे थियाे, ‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति छैन । जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति, संविधानको मर्म र हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत भर्ती हुन जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डको यो भनाई सुनेपछि हरिप्रसादहरुको आत्माले शान्ति पाउँछ ? प्रधानमन्त्री ज्यू, तपाईलाई आजको यो पोजिसन र शक्तिमा पुर्‍याउन श्रीमान र श्रीमती नै बन्दुक बोकेर आफ्नै नेपाली दाजूभाइसँग लडाई लड्न गएका डायमण्ड र प्रेरणाहरुको सपनाले पोल्दैन होला ? डायमण्डहरु अहिले पनि रुसी भूमिमा युद्ध लडिरहेका छन् । प्रेरणाहरु बाटो कुर्दै उनको दीर्घायुको कामना गरिरहेका छन् । हरिप्रसादका आत्माहरु परलोकबाट अझै पनि देशको चिन्ता गर्दैछन् । के तपाईंलाई आफ्ना नागरिकको दीर्घायु र भोकमरीको चिन्ता छ ?

तपाईंले विमानस्थलमा भन्नुभयो, ‘रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता गर्न हामीले कूटनीतिक पहल जारी राखेका छौँ । रुस-युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन । राज्यको नीति विरीरित गए ।’

अनि जनतालाई भोकै मार, विकासका सपना देख्न छोड, शिक्षा र स्वास्थ्य सुलभका कुरा गर्न छाड भनेर भन्ने तपाईको राज्यको नीति हो ? तपाईको सरकारको नीति हो ?

बस ! धेरै भन्नु छैन तर ती जनयुद्ध ताकाका १७ हजार बढीले राज्यको नीतिअनुसार नै आफ्नो जीवनको बलिदानी दिएका हुन् त ? होलान पनि त्यही भएर त तपाईं उनीहरुको लास माथि खेल्दै तीन तीन पटक देशको प्रधानमन्त्री भइसक्नुभयो । होइन भने अहिले परिवार पाल्नकै लागि जीवन दाउमा राखेर देश छाड्नेहरुलाई सम्बोधन गर्न यति निच र घटिया शब्दावली तपाईँको मनमा आउने थिएन होला ।

पशुपतिनाथले सबैको कल्याण गरुन !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?