सरकारले गैरआवासीय नेपाली संघसँगको चलखेल तत्काल बन्द गर्नुपर्छः उपाध्यक्ष पौडेल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए) माथि सरकार आफैँले चलखेल गरिरहेको आरोप लगाउनुभएको छ ।

एनआरएनएभित्र झगडा निम्त्याएर वर्तमान सरकार र सत्तारुढ दलहरुले तमासा देखाइरहेको उल्लेख गर्दै उहाँले त्यस्तो कार्य तत्काल बन्द हुनुपर्ने पनि बताउनु भयो । एनआरएनएको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिमाथि अविश्वास खडा गरेर सरकारले नै उनीहरुलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको जस्तो व्यवहार गरेको जिकिर गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो काम सरकार र राजनीतिक दलहरुले कुनैपनि बहानामा नहुने बताउनु भयो ।

एनआरएनएले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एनआरएनए कोष परिचालनमा कन्जुस्याँई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । सरकारले सो कोषको परिचालनमा कन्जुस्याँई गरेका कारण गैर आवासीय नेपालीहरुले ठूलो परियोजनामा लगानी गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको दाबी थियो । उहाँले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने र त्यसको पूर्ण रुपमा उपयोग गर्ने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘चुनाव लड्नुप¥यो भने प्रवासी नेपाली संघ खोज्नुपर्छ हामीले ? त्यहाँ भित्र झगडा मच्चाउनु पर्छ ? २०७९ मा चुनाव लड्यौं । अव २०८४ मा लडे भईगयो नि । जे जे प्रतिष्पर्धा गर्ने, त्यही गरेँ भइ गयो नि । गैर आवासीय नेपालीहरु भित्र खेलेर त्यत्रो एउटा साझा संगठन कुनै दल विशेषको जनसंगठन वा भ्रातृ संगठन होइन गैर आवासीय नेपाली संघ भन्ने कुरा सबैले मानेको छ । फेरि पनि त्यसलाई भ्रातृ संगठन जस्तो गरेर ह्वीप जारी गरेर, उम्मेदवार उठाएर, निर्वाचन मान्दिन भन्न लगाएर यो तमासा कुनैपनि राजनीतिक दलहरुले गर्नुहुँदैन । सरकारमा रहेका दलहरुले त गर्नु हुँदैहुँदैन । सरकारले त झन गर्नै हुँदैन । त्यसकारण यो स्थितिको शिघ्रातिशिघ्र अन्त्य होस भनेर अपेक्षा गर्न चाहन्छु । म एकहदसम्म के कुरामा सन्तुष्ट छु भने त्यतिबेला यहाँहरुले जुन प्रकारको अपेक्षा गर्नुभएको थियो । तदनुकुलका स्टेपहरु चालिएका थिए । र त्यो कोष स्थापनाका निमित्त नेपाल सरकार स्वयं पनि एउटा स्केट होल्डर भएर त्यसको एउटा पार्टनर भएर यो कोष स्थापनाका निम्ति पहल गरिएको थियो । त्यसले एउटा उचाई प्राप्त गरेको थियो । तर आज यो कोष घरी अर्थ मन्त्रालयले यो समस्या सृजना गरेको छ । घरी अरुले गरेको छ । यसमा अरु प्रकारका समस्याहरु पनि छन । ती समस्याहरुको जन्जालमा अल्झिएको पाउँछु । मैले बुझ्दा चाहीँ के बुझिरहेको थिए भने यो एनआरएनए कोष स्थापना गरेर संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले त्यो कोषमार्फत एउटा भिजिबल इन्भेष्टमेन्ट नेपालमा गर्ने र नेपालको आर्थिक उन्नतिमा एउटा निर्णायक योगदान दिने जुन तपाईहरुको संकल्प हो । त्यो संकल्प सराहनीय छ । त्यो संकल्पका निम्ति अहिले जे, जस्तो कन्जुस्याईहरु गरिएका छन । त्यसबाट सरकार बाहिर आउनुपर्छ । जोसुकैको कुरा भएपनि त्यो चीजबाट बाहिर आउनुपर्छ । र, यो कोषलाई प्रभावकारी बनाउन सरकारले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । अहिले जसरी जहाँ पुग्नु पर्दथ्यो, यो कोषमा संसारभरका प्रवासी नेपालीहरुले यसमार्फत लगानी गरेर केही महत्वपूर्ण आयोजनाहरु निर्माणका काम भइसक्थ्यो । त्यो चिज हुुन सकेको छैन । त्यसका निम्ति यहाँहरुको प्रयास जारी रहोस् । आफ्नो पोजिसनअनुसार हामीले भुमिका खेल्छौं ।’

कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अब्बल भएर काम गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गर्नुभयो । संगठनमा आवद्ध सबैलाई एकतावद्ध भएर अघि बढे मात्रै संगठन र राष्ट्रको प्रतिष्ठा बढ्ने भएकाले सबैलाई समेटेर एनआरएनए अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

सांसद सापकोटाले भन्नुभयो, ‘अब एनआरएनएले अब्बलताका साथ काम गर्ने इच्छाशक्तिका साथ अघि बढनुपर्छ । यसमा देखिएका समस्या समाधान गर्न पनि काममा अब्बलता देखाउनुपर्ने हुन्छ । अव पराजित भएका साथीहरुलाई धेरै गाली नगर्नुस् । सबैलाई विश्वासमा लिएर तपाईहरु अघि बढ्नुपर्ने हुन्छ ।’

सत्तारुढ नेपाली काँग्रेसका नेता शंकर भण्डारीले नेपालमा राजनीतिक स्थायित्व नभएका कारण देशलाई अघि बढाउन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले राजनीतिक दलहरु आफैं भित्र समस्या भएकाले उनीहरुले देशको पक्षमा काम गर्नसक्ने अवस्था नभएको बताउनु भयो ।

नेता भण्डारीले भन्नुभयो, ‘नेपालमा मुल रुपमा पोलिटिकल स्टाविलीटी नै भएन । अब त यतिसम्म समस्या आयो कि हरेक राजनीतिक पार्टीमा समस्या छ । एमाले भित्र ओलीको हाईकमाण्ड छ । तर भित्रभित्र त्यहाँ भित्र समस्याहरु छन् । हाम्रो त खुला पार्टी केन्द्रिय समितिमा नबोले पनि हुन्छ । बाहिर जति बोले पनि हुन्छ । रास्वपा भर्खर आएको छ । शुभकामना छ राम्रो होस् । जबसम्म पदीय मर्यादाभन्दा माथि उठेर अघि बढ्दैनौं, त्यससम्म देशलाई अघि बढाउन सक्दैनौं ।’

काँग्रेस नेता भण्डारीले संविधानलाई माध्यम बनाएर नेताहरुले आफ्नो स्वार्थपूर्ति गरिरहेको आरोप समेत लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?