विकास आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति गुल्मी काँग्रेसको खबरदारी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । देशको समृद्धिका लागि अगाडि बढाइएका विकास आयोजनाहरूको निर्माण कार्य तोकिएको समयासीमा भित्र पूरा हुँदैनन् । निर्धारित समयमा सम्पन्न नहुँदा आयोजनाको लागत खर्च अधिक बढ्ने मात्र होइन, अन्य आयोजनामा समेत त्यसको प्रतिकूल असर परी विकास प्रक्रियामै शिथिलता छाउने गरेको छ ।

ठूला आयोजनामा यस्तो प्रवृत्ति देखिनु त छँदै छ, साना खालका सडक तथा पुल निर्माणमा पनि यस्तै प्रवृत्ति देखिनुले ठेकेदारप्रतिको विश्वास गुम्नुका साथै सरकारी संयन्त्रमाथि नै अनेक प्रश्न उठ्छन् । यसै तथ्यलाई दृष्टिगत गरी नेपाली काँग्रेस गुल्मीले सम्बन्धित निकायलाई खबरदारी गरेको छ । काँग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई खबरदारीस्वरुप ध्यानाकर्षण गराएको हो ।

बुधबार पार्टी सचिव जगदीश भट्टराई, काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पारिश्वर ढकालले संयुक्त रुपमा सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख इं.बाबुराम सापकोटालाई सडक र पुल निर्माणका विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

उहाँहरुले कार्यालयमै गएर डिभिजन प्रमुख सापकोटालाई रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य रोकिएका कारण सडक अस्तव्यस्त हुनुको साथै पुल नहुँदा स्थानीयले सास्ती खेप्नु परेकाले तत्काल काम अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । रुद्रवेणी–वामीटक्सार हुँदै ढोरपाटनसम्मको सडक यस क्षेत्रकै सबैभन्दा धेरै सवारी र मालवाहक यातायातका साधनहरु चल्ने पुरानो सडक भएकाले प्रत्येक वर्ष बजेट परेर ठेक्का समेत हुने तर निर्माण कार्य समयमा नहुँदा जनताले सास्ति भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत विभिन्न ठाउँहरुमा गएका पहिराहरु र कज्बेहरुको समयमा मर्मत सम्भार नहुँदा कठिनाई भएकाले तत्काल काम अगाडि बढाई दिन पार्टी सचिव जगदीश भट्टराईले डिभिजन प्रमुख सापकोटालाई आग्रह गर्नुभयो । उहाँले रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गत बादरे पहिरो, जोहाङ्ग–खैरेनी बजारको साघुरो बाटोको बैकल्पिक व्यवस्थाका लागि आवश्यकता अनुसार पहल गरी कार्यान्वयन गर्न पनि माग गर्नुभएको छ । यस्तै सो सडक खण्डा अन्तर्गतको नादेवा खोला, डहरे खोला, भार्से खोला, गेदी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का भइसकेको तर काम समयमा सुरु नभएका कारण समस्या भएकाले सो तत्काल गर्नु/गराउनुहुन क्षेत्रीय सभापति ढकालले डिभिजन प्रमुखसँग आग्रह गर्नुभयो ।

उहाँले सिंचाई अन्तर्गत रहेको कुलोका लागि सडक डिभिजन कार्यालयले समेत समन्वय गरिदिन आवश्यक रहेको बताउनुभयो । क्षेत्रीय सभापति ढकालले स्थलगत अवलोकन गरेरै भए पनि यथाशक्य छिटो काम अगाडि बढाउन डिभिजन प्रमुख सापकोटालाई आग्रह गर्नुभयो । ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन प्रमुख सापकोटाले सडक र पुल निर्माणका विषयमा भएको ध्यानाकर्षणलाई आफुले सक्दो पहल गर्ने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?