दैलेख । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको पश्चिमी भैरवी गाउँपालिका-१ मा रहेको जलजलेमा दोस्रो तथा अन्तिम चरणको पेट्रोलियम पदार्थको अन्वेषणको ८० प्रतिशत काम सम्पन्न भएको हो । यहाँ ४५ रोपनी जग्गा अधिग्रहण र स्थानीयलाई मुआब्जा वितरणको कामसमेत सम्पन भइसकेको छ । पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रका २७ घर परिवारको ४५ रोपनी जग्गा अधिग्रहण गरी प्रतिव्यक्तिले प्रतिरोपनी एक लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा पाएसँगै अन्वेषण स्थलले गति लिएको हो । मुआब्जा वितरण भएर खानी तथा भूगर्भ विभागका नाममा लालपुर्जासमेत आइसकेकाले बाहिरी क्षेत्रमा कुनै समस्या नभएको आयोजनाले जनाएको छ । अन्वेषणको काम सुरु गर्ने अन्तिम तयारीसमेत भइरहेको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिनुभयो । प्रमुख नापित भन्नुहुन्छ, ‘अन्तिम ड्रिलिङबाट के कति परिमाणमा ग्यास र पेट्रोल छ भनेर अन्वेषणले देखाउला, तर अहिलेको अध्ययनअनुसार ग्यास र पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लागिसकेको छ, यो ड्रिलिङ परिमाण पत्ता लगाउने अन्तिम चरण हो ।’
निर्माण गर्न लागिरहेको उक्त पोइन्टबाट जमिनभित्र ४ किलोमिटर ड्रिल गरेर अध्ययनपश्चात यस क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको भण्डारणको बारेमा जानकारी हुने आयोजनाले जनाएको छ । पहिलो चरणको अन्वेषणले जिल्लामा ठूलो मात्रामा पेट्रोलियम पदार्थ रहेको प्रतिवेदन पेस गरेको थियो । के-कति मात्रामा पेट्रोलियम पदार्थ रहेको छ भन्ने यकिन गर्ने अहिले भइरहेको अन्वेषणले स्पष्ट पार्ने आयोजनाले जनाएको छ । दैलेख पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुख प्रभाकरप्रसाद सिंहले भन्नुभयो, ‘ड्रिलिङका लागि ठूलो मेसिन चीनबाट हिँडिसकेको छ । कलकत्ता बन्दरगाहसम्म आउन एकमहिना लाग्ने र त्यहाँबाट १५ दिनभित्र दैलेख आइपुग्ने छ । ठूला सवारीसाधन ल्याउनका लागि कर्णाली राजमार्ग र साँगेतडाको सडक फराकिलो गर्ने काम पनि धमाधम भइरहेको छ ।’
नेपाल सरकार र चिनियाँ सरकारबीच पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता भएको थियो । वि.स. २०७६ असोज महिनाबाट पहिलो चरणको अन्वेषणको काम सुरु भएको दैलेखमा श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार, र कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको थियो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यस क्षेत्रमा ठूलो मात्रामा ग्यास र पेट्रोल भएको पुष्टि गरेको थियो ।
दिनदिनै आवश्यकता वढ्दै गएको पेट्रोलियम पदार्थमा अहिले वार्षिक खर्बौ रुपैयाँ नेपालबाट भारत गइरहेको छ ।
दैलेखमा उत्खनन अध्ययनले सार्थकता पायो भने देशले आर्थिक रूपमा निकै सुधार गर्ने देखिन्छ । योजनास्थलको निर्माणमा चासो राखेर पटक-पटक प्रदेश तथा संघीय माननीयहरू समेत योजनास्थलमा पुग्ने गरेका छन् । पेट्रोलियम पदार्थ उत्खनन गर्न सकियो भने जिल्ला मात्र नभई देशसमेत आत्मनिर्भर हुनसक्ने र ठूलो मात्रामा खर्च भएको रकम देशभित्र विभिन्न विकास निर्माणमा लगाउन सकिने प्रदेश सांसद घनश्याम भण्डारी बताउनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा पेट्रोलियम पदार्थ उत्खननको काम अन्तिम चरणमा रहँदा निकै खुसी लागेको क्षेत्र नं. २ का संघीय सांसद दिक्पालकुमार शाही बताउनुहुन्छ ।
हजारौँ वर्षदेखि श्रीस्थान, नाविस्थान, पादुका भन्ने स्थानमा जमिनमुनिबाट आएको ग्यास निक्लेको र उक्त ग्यास निस्केको स्थानमा आगोको ज्वाला हालसम्म पनि बलिरहेको छ । हाल यी स्थानहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरू अवलोकनका लागि आउने गरेका छन् । धार्मिक रूपमा पनि यी क्षेत्रहरूमा तीर्थालु भक्तजनहरूको समेत बाक्लो उपस्थिति हुने गरेको छ ।
भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको बेला नेपाल सरकारले चीन सरकारसँगको छलफलपछि दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति गरेको थियो । उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिक सर्भे कम्पनीबीच दुई अर्र्ब ४० करोडको सम्झौता भएको थियो । मुलुककै आर्थिक अवस्था सुधार गर्ने लक्ष्य लिएको पेट्रोलियम पदार्थ अन्वेषणको कामले तीव्रता लिएपछि छिट्टै प्रतिफल निस्कनेमा जिल्लावासी पनि आशावादी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच