![शिक्षकलाई अभिमुखीकरण गर्दै लुम्बिनी आयुर्वेद चिकित्सालय](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/lumbini-programme.jpg)
✍️ हरि उप्रेती
अमेरिका । भाषा र साहित्य प्रथमतः सम्पूर्ण मानव जातिको मौलिक पहिचान हो । भाषा रहेन भने न पहिचान जोगिन्छ न त मानवको अस्तित्व नै रहन्छ । भाषा आफैंमा साहित्यको मूल आधार मानिन्छ । भाषा साहित्यका धेरै विधाहरू हुन्छन् । कथा, कविता, गीत संगीत, गजल आदि । भाषा साहित्य लिपिबद्धमात्र हुन्छ भन्ने मान्यता स्थापित हुँदै जानु आजभोलि निकै डरलाग्दो विषय बनिरहेको पाइन्छ । साहित्यलाई गलत ढंगबाट नबुझ्ने हो भने यो मानवका हरेक चालहरूमा रमाइरहेको हुन्छ । दैनिकरूपमा तपाईं हामीले बोल्ने भाषामा देखिने शारीरिक प्रतिक्रियाले साहित्यको हरेक विधालाई प्रवाहित गरिरहेको हुन्छ । हुन त म भाषाविज्ञ नभए पनि भाषा साहित्यको अनुयायी भएका कारण यति चाहिँ भन्न सक्छु कि भाषा साहित्यका बारेमा केही बोल्नु वा लेख्नुअगाडि थोरै भए पनि भाषा विज्ञानको ज्ञान हुनु आवश्यक हुन्छ । अब लागौँ, हाम्रो नेपाली भाषा साहित्यको वर्तमान अवस्थाका बारे केही बुझ्नतर्फ :
नेपाली भाषा साहित्य र त्यससँग जोडिएका स्रष्टाहरूलाई सामान्य ढंगले ग्रहण गर्नु लज्जास्पद कुरा हो । एकातिर विश्वव्यापीरूपमा विभिन्न संघ संस्थाका माध्यमद्वारा नेपाली भाषा साहित्यको श्रीवृद्धि भएको पाइन्छ भने अर्कोतर्फ जुन ठाउँ वा देशमा यसको विकास, संरक्षण र प्रवद्र्धन हुनुपथ्र्यो त्यहाँबाट नै हाम्रो साहित्यलाई माध्यम बनाएर बजारलाई व्यापारीकरण गरिएको दृष्टान्त प्रशस्त भेटिन्छ । रियालिटी शोका नाममा विभिन्न साहित्यिक र सांगीतिक कार्यक्रम गरिन्छ जुन अति नै सराहनीय लाग्दछन् । जब ती कार्यक्रमसँग जोडिएका गतिविधिलाई नजिकबाट नियालिन्छ कैयौँ भाषाप्रेमी र स्रष्टाको मन खिन्न हुने गर्दछ ।
साहित्यको व्यापार गरेर सर्जक, कलाकार, कवि, भाषाविज्ञ र आमदर्शक, श्रोता र पाठकको खिल्ली उडाउन तल्लीन हुनुले आफ्नै अस्तित्व र पहिचानमाथि प्रहार गरिरहेको हुन्छ । यसले न त व्यक्तिको स्तरलाई उठाउन सक्छ न भाषा साहित्यको विकास नै हुन्छ । त्यसैले भाषा साहित्यको विधालाई सही पहिचान गरेर त्यस सम्बन्धका संरचनात्मक कुरालाई ध्यानमा राखी त्यसैसँग सम्बन्धित स्रष्टालाई न्यायको पंक्तिमा राखेर उनीहरूको मार्गदर्शनमा हिँड्न सिक्नु अति आवश्यक देखिन्छ ।
यस्तो हुनुका पछाडि धेरै कारणहरू लुकेको पाइन्छ । जस्तै नेपाली भाषा साहित्यको महत्व नबुझ्नु, भाषा विज्ञानको ज्ञानको कमी हुनु, मानव अस्तित्व र पहिचानलाई ग्रहण गर्न नसक्नु आदि । केही सामान्य दृष्टान्त यहाँहरूमाझ राख्न चाहेँ, एउटा सांगीतिक रियालिटी शो गरिन्छ भने त्यहाँ भाषा र साहित्य व्यापकरूपमा जोडिएको हुन्छ तर त्यही भाषा र साहित्यको निष्पक्ष न्याय दिने स्रष्टा भने कहीँ-कतै न्याय दिने ठाउँमा राखेको देखिन्न । यसबाट के स्पष्ट हुन्छ भने यहाँ विद्वान् र स्रष्टाहरूको महत्व नरहेको देखिन्छ । त्यस्तै, अर्को दृष्टान्त नेपाली भाषामा चलाइएको पोएट आइडललाई हेरौँ उक्त कार्यक्रमका न्यायाधीश पंक्तिमा न त कुनै भाषाविज्ञ देख्न पाइन्छ न कुनै विज्ञ कविहरू देखिन्छ, त केवल रंगमञ्चका कलाकर्मीहरू । कैयौँ सिर्जनाकारहरूले भाषा र साहित्यलाई माया गरी सिर्जित गरिएका रचनाले न्याय नपाएर बलात्कृत हुनुपरेको अवस्था देखिन्छ । तपाईं आफैं भन्नुहोस् एउटा कवि गोष्ठीमा वा कविता प्रतियोगितामा संगीतकार, चलचित्रकर्मीलाई राखेर न्याय दिन लगाउनु कति सान्दर्भिक हुन्छ ? मैले यसो भन्दा संगीतकर्मी वा चलचित्रकर्मीलाई अपमान गरेको भने पटक्कै होइन । उहाँहरूको पनि आफ्नो क्षेत्र छ जहाँ उहाँहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित क्रियाकलापमा निर्धक्कसँग न्याय दिन सक्नुहुन्छ । यसले ती सम्पूर्ण कलाकर्मीहरूको उच्च सम्मान हुनुका साथै आफ्नो कलाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुग्दछ । पछिल्लो पटक पोएट आइडलसँग सम्बन्धित समाचारले ल्याएको तरंगले पनि स्पष्ट हुन्छ कि भाषा साहित्यका सर्जक कविहरूको सही सम्मान हुन नसकेको वा गर्न नचाहेको शोका सञ्चालकको आशय देखिन्छ ।
अब एकैछिन गाउँ शहर, देश अनि परदेशमा हुने सांगीतिक कार्यक्रम अनि मेला महोत्सवको कुरा गरौँ । गीत संगीत भाषा साहित्यको एक अपरिहार्य विधा हो । सिर्जनाकारले हरेक मानव जातिको परिस्थितिलाई बुझेर कलम चलाउनुहुन्छ अनि तिनै सिर्जनामा संगीत भरिन्छ त्यो पनि सिर्जनाकारकै लगानीमा । त्यसपछि गायकगायिकाको स्वर भरिन्छ अनि बजारमा ल्याइन्छ । तिनै सिर्जनामार्फत् आफू स्थापित हुन्छन् । श्रोता दर्शकमाझ नायक कहलिन्छन्, सबैको मनको ढुकढुकी बन्न पुग्छन् । मेला महोत्सवमा उनै नायकहरू मञ्चमा उपस्थित हुन्छन् र सम्पूर्ण दर्शनहरूलाई झुमाउँछन् तर विडम्बना आफ्नै अघि त्यही सिर्जनाका स्रष्टा हुन्छन् तथापि नामसम्म लिन सक्दैनन् ।
यस्ता घटना एक होइन अनेक भएको पाइन्छ । अब तपाईं सोच्नुहोस् उनीहरूलाई स्रष्टाको नाम लिन के कुराले रोक्छ ? के एउटा इमानदार र वास्तविक कलाकारले यसो गर्नु उचित हुन्छ र ? यसो भन्दै गर्दा मैले फेरि गायकगायिका अनि कलाकारको अपमान पटक्कै गरेको होइन तर सानो कुरालाई बेवास्ता गरियो भने एकछिन आनन्द त होला, चर्चा बटुल्न सकिएला तर अमर र असल स्रष्टा भएर कालान्तरसम्म जिउन सकिन्न भन्ने आशयमात्र राख्न चाहेको हो । रियालिटी शोको नाममा व्यापार गर्नुभन्दा पनि कविशिरोमणि, स्वरसम्राट स्रष्टा योञ्जनका उत्तराधिकारीहरूको खोजी गर्नु आजको आवश्यकता देखिन्छ । यो आवश्यकता तबमात्र पूरा हुन सक्छ जब तपाईं हामी सच्चा भाषा साहित्यप्रेमी बन्न सक्छौँ, जब एक असल स्रष्टालाई चिन्न सक्छौँ । कागती उत्पादन गरेर यो सुन्तला हो भनेर व्यापार गर्नु र कविता प्रतियोगितामा रंगमञ्चको कलाकार राखेर जज गर्नु उस्तै उस्तै हो । यसले न व्यापार चल्न सक्छ न त एउटा कलाकारको सम्मान हुन सक्छ, न कुनै सिर्जनाको महत्व रहन्छ ।
समग्रमा भन्नुपर्दा साहित्यको व्यापार गरेर सर्जक, कलाकार, कवि, भाषाविज्ञ र आमदर्शक, श्रोता र पाठकको खिल्ली उडाउन तल्लीन हुनुले आफ्नै अस्तित्व र पहिचानमाथि प्रहार गरिरहेको हुन्छ । यसले न त व्यक्तिको स्तरलाई उठाउन सक्छ न भाषा साहित्यको विकास नै हुन्छ । त्यसैले भाषा साहित्यको विधालाई सही पहिचान गरेर त्यस सम्बन्धका संरचनात्मक कुरालाई ध्यानमा राखी त्यसैसँग सम्बन्धित स्रष्टालाई न्यायको पंक्तिमा राखेर उनीहरूको मार्गदर्शनमा हिँड्न सिक्नु अति आवश्यक देखिन्छ । जय भाषा साहित्य ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच