कृष्ण बजगाईं नेपाली साहित्यमा प्रतिभासम्पन्न स्रष्टाका रूपमा देखा परेका छन् । युरेशियाको स्पर्श, भायासाक्रा, दाइबुचु, कमरेड भाउजू, हिउँको तन्ना, कुमारी रात, मौनप्रणय, यन्त्रवत्, रोडम्याप, संवैधानिक पत्नी, आगो ओकल्ने पहाड, कागजको मन्त्री लगायतका दर्जन कृति नेपाली साहित्यलाई दिइसकेका बजगाई यसर्थ होनहार स्रष्टा हुन् । विशेषतः डायस्पोरिक भूमिबाट नेपाली साहित्यप्रति गहिरो अनुराग राख्दै आएका बजगाईंका धेरै कृतिमध्ये अहिले मेरो हातमा उनको पछिल्लो नियात्रा उमिहोतारू (२०७९) रहेको छ । कृति खासगरी पश्चिमी भूगोलको मेहेरो मारेर पूर्वी मुहुडा जापानसम्म आइपुगेर तयार भएको विभिन्न चित्र, चरित्र, परिवेश र घटनाहरू समेटिएको शोधमूलक काव्य नै पो रहेछ ।
दोस्रो विश्वयुद्धपछिको जापानको भौतिक उन्नतिको चुडान्त नमुना समुद्रमुनि बनाइएको सुरुङमार्ग अनि त्यही सडकको बीच भागमा मानवनिर्मित टापु जसलाई संसारको पहिलो समुद्री सुुरुङमार्गको हाइवे बिसाउनी मानिँदो रहेछ र यसलाई जापानीहरूले उमिहोतारू भन्दारहेछन् । रातमा त्यस पहाडमा बल्ने बिजुलीबत्तीहरू साँच्चै जूनकिरीजस्ता देखिने हुनाले तिनै समुद्री जूनकिरीलाई कल्पना गरेर राखिएको शीर्षक उमिहोतारूलाई पुस्तकको शीर्षक राखेर तयार गरिएको यो कृति हाम्रा लागि पश्चिमका केही विषयमाथि मसिनो र तेजिलो प्रकाश दिने जुनकिरी नै रहेछ । जुनकिरीले पूरै उज्यालो दिन त भ्याउँदैन तर केही छ भन्ने सूचना अवश्य दिन्छ । अमेरिका र जापानका केही अनि धेरैजसो बेलायतका विभिन्न ठाउँ, व्यक्ति घटनाहरूलाई शब्दबिम्बमा उतारिएका नियात्रानुभूतिहरू यहाँ समाविष्ट छन् ।
केही कृतिहरू सत्यको नजिक हुन्छन्, केही कृतिहरू तथ्यको नजिक हुन्छन् र केही कल्पनाको नजिक हुन्छन् । केही कृति कलाले पूर्ण त हुन्छन् तर विचारको मियो बलियो नहुनाले कागजका फूलजस्तै हुन्छन् । केही कृतिभित्र प्राण हुन्छ । जीवन्त लाग्छन् त्यस्ता कृतिहरू । मलाई उमिहोतारू यसै प्रकृतिको कृति लाग्यो । यसभित्र रोइलो र अहङ्कार दुवै छैन बरु लेखकीय इमान्दारी यत्रतत्र छचल्किएको पाइन्छ । आफूसँग कलम छ भनेर जे कुरा पनि लेखेर पढ्न बाध्य पार्ने लेखकीय मानसिकताभन्दा धेरै माथि उठेको यो कृतिले बेलायतका कतिपय कुराहरू जानकार्री गराउँछ । आफ्ना पाठकलाई के कुरा दिने ? के कुरा नदिने भन्ने बोध भएका लेखकले आफ्नो लेखकीय निष्ठा बचाएका हुन्छन् । स्रष्टा बजगाईंले त्यो निष्ठा बचाएको लाग्यो ।
नियात्रकार कृष्ण बजगाईंको यात्राशैली र त्यस यात्राका विषयको प्रारम्भिक जानकारी र त्यसको प्रस्तुति औसत लेखकको भन्दा अलि पृथक् लाग्यो । लेखकले आफू यात्रा गर्नुपूर्व त्यस यात्राका विषयमा प्रारम्भिक जानकारी राखेरमात्र यात्रामा हिँडेका छन् ।
यो नियात्रा कृति हो तर यसको भाव र प्रवाहको गति काव्यात्मक छ अनि यसले समेटेको विषय र त्यसबाट प्राप्त हुने निष्कर्षात्मक ज्ञान पनि काव्यसदृश भएकाले मैले यसलाई बेलायत, अमेरिका र जापानका माध्यमले पश्चिमा संस्कृति, दर्शन, कला र इतिहास खिचिएको काव्य भनौँ कि भनेर प्रस्ताव गर्न चाहेको छु । जसरी कुनै विषयको ज्ञान गर्न पठन, अनुशीलन अनि अनुसन्धान आवश्यक पर्छ त्यसरी नै ज्ञान लिन र दिनको निम्ति पनि ज्ञान चाहिँदो रहेछ भन्ने कुरा यस नियात्रा कृतिले सचेत गराएको छ । सामान्यतया नियात्रा लेख्नु भनेको हामीले कुनै ठाउँमा यात्रा गर्दा त्यस ठाउँको भौगोलिक, ऐतिहासिक, पुरातात्त्विक, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, साहित्यिक वा अन्य यसै प्रकृतिका जानकारी समेटेर आफ्नो संलग्नता र अनुभूतिसहितको निबन्धात्मक लेखन गर्नु हो ।
हामी त्यस्तै केही उद्देश्य लिएर घुम्र्छौं तर हामीले यात्रामा आँखा अगाडि उपस्थित केही वस्तु वा दृश्यलाई समेटेर एउटा आयामको मात्र जसोतसो वर्णन गर्छौं । अग्ला घर, सफासुग्घर ठाउँ, अग्ला टावर, झिलिमिली टाउन, फराकिला बाटा, सुन्दर तालतलैया आदिका कुरा गरेर आफ्नो प्रफुल्लता जाहेर गर्छौं कहीँ कतै केही गुनासाहरू पनि भए देखाउँछौँ र नियात्रा समाप्त पार्छौं । हाम्रो त्यस यात्राबाट नियात्राका पाठकहरूले के पाए भन्नेतिर हाम्रो चासो रहँदैन ।
आफ्नो ज्ञानको सीमामा रहेर गरिने यस्ता यात्रा वर्णनले पाठकलाई के कति ज्ञान दिन सक्यो ? के कति उत्साह उमार्न सक्यो ? केकस्तो सन्तुष्टि दिनसक्यो ? भन्नेतिर त्यति सचेत हुँदैनौँ । कुनै पनि ठाउँको अवलोकन, भ्रमण गर्नु र त्यसका बारेमा लेख्नु भनेको त्यहाँ पुग्न नसकेका र त्यहाँका बारेमा जान्न चाहनेहरूका धेरैभन्दा धेरै जिज्ञासाहरूको उत्तर दिनसक्नु पनि हो । त्यसको निम्ति नियात्रु आफू कुन तहको हुन्छ उत्तरहरू पनि त्यही तहमा आउँछन् । यति कुरा किन गरियो भने नयाँ ज्ञानको निम्ति पनि रैथाने (स्टक) ज्ञान चाहिन्छ । कोरा कागजमा सानो थोपा मसीले पनि केही भएको सूचना त गर्छ त्यही थोपाले सबै कुराको जानकारी गराउँदैन ।
नियात्रकार कृष्ण बजगाईंको यात्राशैली र त्यस यात्राका विषयको प्रारम्भिक जानकारी र त्यसको प्रस्तुति औसत लेखकको भन्दा अलि पृथक् लाग्यो । लेखकले आफू यात्रा गर्नुपूर्व त्यस यात्राका विषयमा प्रारम्भिक जानकारी राखेरमात्र यात्रामा हिँडेका छन् । आफ्नो गन्तव्यमा पुगेर आफ्नो लक्ष्य आनुसारको अवलोकन गरेका छन्, सम्बन्धित क्षेत्रका बारेमा यथासम्भव जानकारी लिएका छन् । त्यो विषयसँग सम्बन्धित कुराहरूका बारेमा सानोतिनो शोध नै गरेका छन् र ती कुरालाई रोचक अनि आकर्षक ढङ्गले प्रस्तुत गरेका छन् । यसको तात्पर्य के भने उनी नियात्रा लेखनमा सिद्धहस्त देखिएका छन् ।
प्राभाववादी सिकारु लेखकहरूको भन्दा धेरै फरक स्रष्टा बजगाईंको नियात्रा लेखनबाट केही खास जानकारीको आश गर्न सकिने देखिन्छ । सबन्धित ठाउँ, व्यक्ति र घटनाका बारेमा जानकारी गराउनु, नयाँनौला कुराहरूप्रति पाठकमा अभिरुचि जगाउनु, आफूले देखेका कुराहरूप्रति आलोचनात्मक चेत राख्नु, आफ्नो पूर्वजानकारीसँग तालमेल मिलेनमिलेको भन्ने बारेमा सस्यानो शोध र विश्लेषण गर्नु नियात्राकारको विशेषता देखिन्छ । अनि स्रष्टा बजगाईले यी कृतिका माध्यमले आफ्नो जन्मभूमि र कर्मभूमिलाई आजसम्म जोड्दै आएका छन् त्यसबाट धेरै पाठकहरू लाभान्वित भएका छन् ।
बतासे सहरमा बादलको गेट, क्याम्ब्रिजमा निर्वस्त्र सुन्दरी, क्यान्टरबरी टेल्स र क्याथड्रेल, योनि म्युजियममा चियाउँदा, ग्रिनबिचको काल्पनिक रेखामा पाइला, कुकुरको चिहानमा चार थोपा आँसु, प्रजातन्त्रको जन्मस्थलमा म्याग्नाकार्टा खोज्दा, बिटल्स र यायावर, लण्डनमा शरणार्थी फ्रायड, डिएच लरेन्स र ब्लु ट्रेल, बेलागती गाउँमा कुपर, रोमबाट किट्सलाई पछ्याउँदै लन्डनसम्म, मिल्टन्स कलेजमा गणतन्त्रवादी कवि, भर्जिनिया उल्फको मङ्क हाउस, वर्डस्वर्र्थको जन्मस्थलमा रोमान्टिक मन, जापानमा चारदिने साहित्यिक म्याराथुन, सेन्सोजी मन्दिरमा किमोनो गर्ल, उपन्यासकार नात्चुमे र जापानी बिरालो, पहाडको टुप्पादेखि समुद्रमुनिसम्म, टोकियोमा सपनाको यात्रा र यासुकुनी जिन्जामा आत्माको वास गरी जम्मा एक्काईसवटा नियात्राहरूयस पुस्तकमा समेटिएका छन् ।
पुस्तकका यी धेरै शीर्षक सुन्दै अनौठा लाग्ने पनि छन् । माथि उल्लेख भएका कति कुरा हामी धेरैलाई थाहा नभएका पनि होलान् सायद जसरी मलाई नयाँ लागे । केहीका बारेमा आंशिक जानकारी होला केही हाम्रा लागि नितान्त नयाँ कुरा हुन् । बेलायतको भूमि जहाँ विश्वप्रसिद्ध साहित्यकारहरू मिल्टन, किट्स, कुपर, डिएच लरेन्स, फ्रायड, भर्जिनिया उल्फ, वर्डस्वर्थका जन्मर कर्मभूमिका बारेमा साहित्यका केही पाठकलाई थोरै जानकारी भए पनि ती बारेका मसिना धेरै कुरा यी नियात्राले जानकारी गराएका छन् । तीबाहेक हाम्रा नेपाली नेताजस्तै बतासे भएकाले सिकागोलाई बतासे सहर भनिएको कुरा, क्याम्ब्रिजका अगाडि उभिएका निर्वस्त्र सुन्दरीहरूका अनौठा माग, योनि म्युजियममा राखिएका यौनचेतनामूलक सामग्रीहरू, कुकुरको चिहानका विशेषता, प्रजातन्त्र जन्मिएकै ठाउँमा म्याग्नाकार्टा नभेएिको सूचना, अस्टियाका फ्रायड लन्डनमा किन शरणार्थी लागे ?
पानीमा नाम लेखाएर जान चाहने स्रष्टा को हुन् ? राजतन्त्रात्मक मुलुकमा गणतन्त्रवादी कविको उपस्थिति कस्तो थियो ? भर्जिनिया उल्फ बाइसेक्स्युअल थिइन् जस्ता धेरै विषयमा हामीलाई नयाँ जानकारी नहुन पनि सक्छ र ती कुराको जानकारी लिन हामीलाई उमिहोतारूले मदत गर्छ । साथै यी विषय र घटनाका बारेमा हामीले बनाएका आम धारणाहरूलाई फेर्न र नयाँ जानकारी थप्न पनि यी नियात्राका विवरणले मदत गर्नेछन् । त्यस्तै पुस्तकमा त्यस्ता धेरै जानकारीमूलक कुराहरू छन् त्यसको निम्ति पुस्तक आफैँले पढेर मनन गर्नुपर्ने हुन्छ ।
जापान हामीदेखि त्यति धेरै टाढाको देश नभए पनि जापानी साहित्य, संस्कृति र जापानको भौतिक सम्पन्नताका विषयमा यहाँ प्रस्तुत नियात्रा विवरणले धेरै नै नयाँ कुराको जानकारी गराएका छन् । कति कुरा निकै रोचक अनि कति कुरा निकै घोचक पनि लाग्ने यी नियात्राका विवरणले बेलायत, अमेरिका र जापानका केही ठाउँ, घटना र व्यक्तिका विषयमा हामीलाई सुसूचित गराउँछन् ।
जब पुस्तक हात लाग्यो यो शब्द उमिहोतारू रहेछ । यो जापानिज भाषाको शब्द अनि यसको अर्थ समुद्री जूनकिरी हो भन्ने बुझेपछि आफ्नै नादानीमा हाँसो लाग्यो । सामाजिक सञ्जालमा यस पुस्तकका विषयमा आएको प्रारम्भिक चरणको जानकारीका बेलाको कुरा हो यो ।
हामी जहाँ छौँ, जसरी छौँ तर हामीभित्र हाम्रो सुन्दर देश छ । भलै हामी विभिन्न कारणले आप्रवासी नै भएका किन नहोऊँ हामीलाई बेलाबेलामा देशले थप बाँच्ने प्रेरणा दिन्छ भन्ने कुरा स्रष्टा बजगाईंमा पनि लागू भएको छ । उनी जहाँ जाँदा पनि देशलाई साथमा लिएर हिँडेका छन् । कतिपय राम्रार कतिपय नराम्रा अवस्थामा देशलाई दाँजेका छन् । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीलाई चरितार्थ गरेका छन् । उनीसँग यात्राको हुटहुटी र ज्ञानको अभिरुचि दुवै रहेकाले उनले यात्रालाई पनि ज्ञान आर्जनको माध्यम बनाएको पाइन्छ । तेस्रो मुलुकका बासिन्दा भएका उनले त्यस देशको इतिहास, संस्कृति, सभ्यता, दर्शन, साहित्य र कलाका विषयमा जेजति जानकारी राखेका छन् र पाठकका निम्ति पस्किएका छन् त्यति नै पनि प्रशंसनीय रहेको मान्न सकिन्छ ।
लामो समयदेखि बेलायतलाई नै कर्मथलो बनाएका बजगाईंको कलम निकै नै परिष्कृत रहेको छ । लेखकको कलम माझिएको र विचार सुल्झिएको लाग्यो । विषयको उठान, विस्तार अनि समापन सबैतिर स्रष्टा बजगाईँको लेखनसीप प्रकट भएको छ । पाठकलाई लाग्ने केही अनुभूतिहरू छन् । आकर्षक साजसज्जामा सिकारू लेखकले आफ्ना कट्मिरा अभिव्यक्तिहरू बजारमा पठाएर पाठकलाई गिज्याइरहेको छ । यस्तै नियात्रा लेखनको भीडमा एउटा अर्को ढाँड थपियो वा केही नयाँ कुरा पनि आयो ? कसैको यात्रा हाम्रा लागि किन सरोकारको विषय बन्ने त ? भनेर लेखकले कृतिप्रकाशन गर्नुपूर्व एकपटक सोच्ने हो भने अवश्य पाठक निराश हुनुपर्दैन ।
जाँदाजाँदै मनका कुरा यहाँ गरिहालूँ ! पुस्तकको शीर्षक पहिलो पटक झट्ट हेर्दा मैले यसलाई उमिहोताहरू लेख्न खोजेको ज्या ! कस्तो शीर्षकमै त्रुटि हुन पुगेछ भन्ने ठानेँ । शब्दकोश खोलेर हेरेँ त्यस्तो शब्दै रहेनछ । त्यसलाई तीन टुक्रा पारेँ उमी+होता+हरू ! उमीहोताहरू । अनि क्रमशः अर्थ गर्दै गएँ । उमीको अर्थ गहुँ वा जौको कलिलो दाना, होताको अर्थ हवन गर्ने र हरू बहुबचनसूचक पद । यसरी उमिहोताहरू अर्थात् गहुँका कलिला दाना हवन गर्नेहरू । उमिहोता भनेका पूर्वमा यज्ञकर्ता । अनि गहिरो अर्थबोधक यस शब्दको तात्पर्यमा प्राच्य ऋषि मनीषिहरूलाई सङ्केत गर्न खोजेको होला भन्ने ठानेँ । प्राच्य सभ्यता र वाङ्मयप्रति कति गहिरो ज्ञान र आस्था रहेछ यी लेखकमा भन्ने लाग्यो ।
जब पुस्तक हात लाग्यो यो शब्द उमिहोताहरू नभएर उमिहोतारू रहेछ । यो जापानिज भाषाको शब्द अनि यसको अर्थ समुद्री जूनकिरी हो भन्ने बुझेपछि आफ्नै नादानीमा हाँसो लाग्यो । सामाजिक सञ्जालमा यस पुस्तकका विषयमा आएको प्रारम्भिक चरणको जानकारीका बेलाको कुरा हो यो । अब पुस्तक पढेपछिको सुझाब यसपछि आउने पुस्तकले मेरो भ्रमलाई यथार्थमा परिणत गरोस् । यत्तिको अध्यनशील, विचारवान् स्रष्टाबाट पूर्वीय वाङ्मयसँग सम्बद्ध विचारहरू पनि बाहिर आउनुपर्छ । स्थापित लेखक भएपछि लेखकमा एकप्रकारको विश्वास आउँछ ।
अर्को भाषामा मैले जे लेखेपछि हुन्छ भन्ने भ्रमबोध जसले गर्दा पढ्ने काम कम र लेख्ने काम बढी हुन थाल्छ त्यसले स्रष्टालाई मूल ठाउँमा फर्किनै नसकिने गरी कताकता लखेट्दै लैजान्छ । अर्को कुरा लेखकभित्रको चर्को व्यावसायिकताले पनि लेखकलाई लेखकबाट व्यापारीमा परिणत गराउँछ । हतारहतार पुस्तक तयार गर्ने बजारमा पठाउने मोह बढ्दै जाँदा लेखकीय निष्ठा, मर्यादा र इथिक हराउँदै जान्छ । म प्रिय लेखक बजागाईंमा त्यो प्रकारको हतारो नपरोस् भन्ने कामना गर्दछु ।
आफूसँग कलम छ भनेर जे कुरा पनि लेखेर पढ्न बाध्य पार्ने लेखकीय मानसिकताभन्दा धेरै माथि उठेको यो कृतिले बेलायतका कतिपय कुराहरू जानकार्री गराउँछ । आफ्ना पाठकलाई के कुरा दिने ? के कुरा नदिने भन्ने बोध भएका लेखकले आफ्नो लेखकीय निष्ठा बचाएका हुन्छन् । स्रष्टा बजगाईंले त्यो निष्ठा बचाएको लाग्यो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/01/194982/?fbclid=IwAR1U0V2tj6ausGHFn7DFnE9S2ndukEuveG8bE46q0z1Q_LDaYtJanmoXdwU
हार्दिक धन्यवाद सर ।