
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबारदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्नुभएको छ । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व–निर्धारित कार्यक्रमअनुसार थापाले शनिबारदेखि झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा थालनी गर्नुभएको हो । अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी हुनुभएको थियो । यो यात्रा २६ माघसम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म चल्नेछ । यसअघि शुक्रबारदेखि कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सुरु गरेको छ । त्यही अभियानअन्तर्गत थापाले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा सुरु गर्नुभएको हो ।
संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने महामन्त्री थापाले जानकारी दिनुभएको छ । संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने महामन्त्री थापाले जानकारी दिनुभयो । संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र नभई आम नागरिकसँग प्रत्यक्ष संवाद गरिने महामन्त्री थापाले जानकारी दिनुभयो । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्ने बताइएको छ । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गर्नुभएको छ । एक जिल्लामा न्यूनतम पाँचवटा कार्यक्रम गर्ने योजना छ । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।
जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ । महामन्त्री थापाले शनिबार बिहान भद्रपुरस्थित मेची पुलनजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरूप यात्रा आरम्भ गरेको बताउनुभएको हो ।
महामन्त्री आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले आफूहरू भुइँमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको दाबी गर्दै भन्नुभयो, ‘जनतामा निराश छ । त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नुभएको छ । तर, नेपाली कांग्रेसले समाज परिवर्तनसहित निराशामुक्त बनाउनु छ ।’ महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको शहीद राम थापाको शालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकनलगायत गरिएको जानकारी दिनुभयो ।
भागबण्डामा उपकुलपति नियुक्ति गर्न नदिने प्रतिबद्धता
महामन्त्री थापाले यसपटक त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति कुनै हालतमा भागबण्डाको आधारमा हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । भागबण्डाको आधारमा नियुक्त गरिएका उपकुलपतिहरूका कारण त्रिभुवन विश्वविद्यालयको अवस्था नाजुक बनेको आरोप लगाउँदै थापाले भन्नुभयो, ‘मैले पार्टी सभापतिलाई भनिसकेको छु । यो पटक हामी भागबण्डाबिना उपकुलपति नियुक्त गरौँ । भागबण्डा नगर्न प्रधानमन्त्री र अन्य नेताहरूलाई समेत निरन्तर खबरदारी गरिरहेका छौँ । योपल्ट हामी सबैले प्रधानमन्त्री, पार्टी सभापतिसहित सबै नेतृत्वलाई दबाब बढाउन जरुरी छ । भागबण्डाको उपकुलपति स्वीकार्न हुँदैन ।’
हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन् : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । मेची–महाकाली संवाद यात्राको मेची पुलमा आयोजित सुरुआत समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमी कमजोरी पत्ता लगाउनसमेत संवाद यात्राले मद्दत गर्ने बताउनुभयो । महामन्त्री शर्माले अर्का महामन्त्री थापालाई प्रधानमन्त्री बनाउने दोहोर्याउँदै भन्नुभयो, ‘हाम्रो पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हो । प्रधानमन्त्री हुने मान्छे जनताका कुरा सुन्न संवाद यात्रामा निस्कनु भएको छ । यसले नयाँ सन्देश प्रवाह गर्नेछ ।’
हाम्रो लागि होइन राष्ट्र र जनताको लागि काम गर्नुछ : सिटौला
नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीका लागि नभई राष्ट्र र जनताका लागि काम गर्नुपर्ने बताउनुभएको छ । निर्वाचित भइसकेपछि पहिलोपटक झापामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उहाँले गणतन्त्र ल्याएको कांग्रेसले जनताका लागि काम गर्नुपर्ने बताउनुभएको हो । पार्टी महामन्त्री गगन थापाको ‘संवाद यात्रा’को उद्घाटन समारोहमा बोल्दै सिटौलाले भन्नुभयो, ‘तपाईंहरूको हातमा पार्टी छ । हामीले राष्ट्रको हितमा काम गर्नुछ । हामी हाम्रो लागि होइन राष्ट्र र जनताका लागि छौँ । यो यात्राका क्रममा किसान-मजदुरका समस्या बुझ्नुपर्छ । कहाँनिर त्रुटि छ त्यो पत्ता लगाएर अघि बढ्नुपर्छ ।’
समुदायमा कांग्रेस अभियानका लागि खटिए प्रतिनिधि
नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । पदाधिकारीहरू भने केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छैनन् । जिल्लामा खटिएकाहरूले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरूका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नेछ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरू हुनेछन् । २६ माघमा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा यो अभियान समाप्त हुने कांग्रेस नेताहरूले बताएका छन् । चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भन्दै १० वटा हिमाली जिल्लामा भने प्रतिनिधि खटाइएको छैन । ती १० जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् ।
मैले अहिलेसम्म आक्षेप र टकरावको राजनीति गरेको छैन : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको दाबी गर्नुभएको छ । आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति खड्काको दाबी छ । उपप्रधानमन्त्री खड्काले नेताहरूको आफ्नै पत्रपत्रिका र सञ्चारमाध्यमहरू रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताउनुभयो । उहाँले आफू अझै नेता हुन बाँकी नै रहेको आभास भएको जिकिर गर्नुभयो । उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शीर्ष नेताहरूको बैठकमा ९९ दशमलव ९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच