काठमाडौं । सामाजिक सुरक्षा कोषले अब ठूला आयोजनामा लगानी गर्ने भएको छ । अर्बौं लगानीयोग्य रकम रहेको कोषले जलविद्युत्लगायतका ठूला आयोजनामा लगानी गर्ने भएको हो । जसका लागि कोषले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) सँग सम्झौता गरेको छ ।
मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र एचआइडिसिएलतर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतामा दुवै पक्ष आ-आफ्ना नीति, नियम तथा निर्णयको अधिनमा रही जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्नेलगायत उल्लेख छ ।
योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पुर्याउन सम्झौता गरिएको कोषले जनाएको छ । सरकारको स्वामित्वको एचआइडिसिएलले आन्तरिक तथा बाहृय क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनामा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ ।