काठमाडौं । सत्तारूढ दलहरूले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको अप्रत्याशित नतिजाले गठबन्धनमा कुनै असर नपर्ने निष्कर्ष निकालेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकले कोशीको नतिजाले गठबन्धनमा प्रतिकूल प्रभाव नपार्ने निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । तर, नतिजालाई गठबन्धनले गम्भीर रूपमा लिएको उहाँले बताउनुभयो । परिणाम अप्रत्याशित र गम्भीर भएकाले यसबारे थप छलफल हुने उहाँको भनाइ थियो । ‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ,’ बैठकपछि उहाँले भन्नुभयो, ‘गठबन्धन एकमुष्ट छ, एकीकृत छ । गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन । परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ ।’
बैठकमा निर्वाचनको समग्र परिणामबारे पनि छलफल भएको उहाँले बताउनुभयो । ‘राष्ट्रिय सभाको निर्वाचनपश्चात् गठबन्धन दलका नेताहरूको बैठक बस्यो । राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको छ, ‘उहाँले भन्नुभयो, ‘विश्लेषण भएको छ । कोशी प्रदेशमा सत्तापक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको छ । अरू प्रदेशको बारेमा पनि छलफल भएको छ ।’ तर, अर्को छलफल कहिले हुने भन्नेबारे भने उहाँले केही खुलाउनुभएन ।
गत बिहीबार कोशी प्रदेशमा गठबन्धनबाट गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले उम्मेदवार रुक्मिणि कोइराला अप्रत्याशित रूपमा विजयी हुनुभएको थियो । गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै गठबन्धनका केही जनप्रतिनिधिले माओवादीलाई भोट नदिई एमालेलाई सघाउँदा कार्की पराजित हुनुभएको थियो । कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने कोशी प्रदेश सभामा भएको हल्का ‘क्रस भोटिङ’ का बाबजुद विजयी हुनुभएको थियो । १९ सदस्यमध्ये राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार भने विजयी भएका थिए । कोशीको परिणामपछि कांग्रेसले बारम्बार धोका दिएको भन्दै माओवादी नेताहरू आक्रोशित भएका थिए । माओवादीकै कतिपय नेताले कांग्रेससँगको सहकार्यबारे समेत पुनर्विचार गर्नुपर्ने चेतावनी दिएका थिए ।
फ्लोर क्रसबारे कसैलाई दोष दिन मिल्दैन : लेखक
कांग्रेस सचेतक लेखकले कोशीमा फ्लोर क्रसबारे कसैलाई दोष हाल्न नमिल्ने बताउनुभएको छ । मंगलबार बसेको गठबन्धन बैठकपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै नेता लेखकले प्रारम्भिक छलफलमा गोप्य मतदानका विषयमा कसले फ्लोर क्रस गर्यो भन्ने विषय आगामी दिनमा विश्लेषण हुने बताउनुभयो । ‘राष्ट्रिय सभाको निर्वाचनमा कोशीको परिणामबारे गम्भीर रूपमा छलफल भएको छ । यो प्रधानमन्त्री वा सभापतिको मात्रै कन्सर्न नभएर गठबन्धनका सबैको कन्सर्नको विषय हो,’ उहाँले भन्नुभयो, ‘सबैको उम्मेदवार भएको हुनाले यसमा कसमा कसको के भयो भन्ने भन्दा पनि अहिले प्रारम्भिक छलफल भयो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच