गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय सञ्चालन गरिएको छ ।

बुधबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको उद्घाटन गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सरकारी सेवा गाउँ–गाउँमा पु-याउने उद्देश्यका साथ यो कम्पनीको शाखा कार्यालय सञ्चालनमा आएको बताउनुभयो ।

उहाँले शाखा कार्यालय सञ्चालनमा आएसँगै आम नागरिकलाई सहज र सुलभ तरिकाले खाद्य सामग्रीको आपूर्ति हुने बताउँदै जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितता समेत भएको बताउनुभयो । खाद्य सुरक्षाको सुनिश्चतामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनिकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा खाद्य खरिद तथा बिक्री केन्द्र स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मीका प्रमुख पुष्पा पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार रेसुङ्गा नगरपालिकाको हाटबजार, रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार, मदाने गाउँपालिकाको बाँझकटेरी र मालिका गाउँपालिकाको अर्खाबाङ्गमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खरिद तथा बिक्री केन्द्र स्थापना भएको छ । प्रत्येक डिपोमा एक स्थायी र एक जना दैनिक ज्यालादारी कर्मचारी परिचालन गरिएको छ । अहिले खाद्य डिपोबाट चामल मात्र बिक्री भइरहेको छ । डिपोबाट चामलसहित दाल, नुन, तेल, चिनी लगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने पाण्डेयले बताउनुभयो ।

सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ५ देखि ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्ने छन् । यसका साथै अन्य स्थानीय तहहरूबाट डिपो सञ्चालनका लागि माग आएमा कम्पनीसँग समन्वय गर्ने पाण्डेले बताउनुभयो । लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाको मातहतमा गुल्मी जिल्लामा शाखा कार्यालय विस्तार गरी सञ्चालन गरिएको सो संस्थाका धर्मबहादुर बस्नेतले बताउनुभयो । यस जिल्लामा बिक्रि केन्द्र, डिपो र शाखा कार्यालय स्थापना गरी यस जिल्लाका सर्वसाधरण जनतालाई सुपथ तथा सहज तरिकाले खाद्यान्न उपलब्ध गराउन सुरु गरिएको बस्नेतले बताउनुभयो ।

यस जिल्लामा उत्पादित स्थानीय रैथाने बालीहरु कोदो, फापर, लगायतका खाद्यान्न खरिद, प्रक्रिया पनि अगाडी बढाउने कार्यक्रम रहेको यस कार्यमा स्थानीय तह तथा किसानहरुलाई समन्वयका लागि आग्रह गर्नुभयो । विगत जिल्लामा धेरै लामो समयसम्म नेपाल खाद्य संस्थान मार्फत सर्वसाधरण जनतालाई खाद्यान्न उपलब्ध गराउँदै आइरहेको थियो । तत्कालिन समयमा निजि क्षेत्रको पर्याप्त आपूर्ति तथा सहज बाटाघाटाहरु बनेको कारण २०५९ सालमा यस जिल्लाबाट शाखा कार्यालय र डिपो बन्द गरिएको बस्नेतले स्मरण गराउनुभयो ।

शाखा कार्यालय बन्द भएको २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा स्थापना भएको हो । हाल थप परिस्कृत सेवा सहित शाखा कार्याल पुनःस्थापित भएको उहाँले बताउनुभयो । मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पु-याउने कम्पनीको उद्देश्य रहेकाले खरिदबिक्रीको काम डिपोबाट हुनेछ । नजिकको डिपोबाट एक जनाले एक क्विन्टलसम्म खाद्यान्न खरिद गर्न पाउने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?