सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य

हिमालय टाइम्स
Read Time = 3 mins

बागमती । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताउनुभयो । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उहाँको भनाइ थियो ।

रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ ।

दैनिक सात सय पँचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तररुपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया सुरु गरिएको बताउनुभयो । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ ।

आव वर्ष २०७६/७७ देखि २०७८/७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो । गत आवमा मात्र रु २३ करोड ५५ लाख नोक्सान भएको थियो ।

उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर सङ्घले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् । यसैबीच हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?