समृद्धिको सपना सबैले देखेका हुन्छन् । सबैमा सबै कुरा परिपूर्ण हुन असम्भव छ । कसैमा कुनै कुरा विशेष रहन्छ भने कुनै कुराको कमी हुन्छ । पूर्ण केवल ईश्वरमात्र रहेकाले मानवजीवन अपूर्णमा पूर्णको खोजी गर्दै बित्ने गर्दछ । उन्नतिका शिखर चुम्ने सबैका सपना हुन्छन् । सबै यही उन्नतिको शिखर चढ्ने यात्रामा नै यात्रारत हुन्छन् । जीवनमा उन्नति कसरी हुनसक्छ भन्ने विषयमा हाम्रा ऋषिमहर्षिले गहिरो चिन्तन गरेको पाइन्छ । वैदिक सूक्त, उपनिषद्, रामायण, महाभारतका साथै देवगुरु बृहस्पति, चाणक्य, विदुनीतिमा यस्ता विषयवस्तु अधिक पाइन्छन् । नीतिशास्त्रका ज्ञाता महात्मा विदुरले मानव जीवनमा उन्नतिका सोपान चढ्ने थुप्रै सूत्र बताएका छन् ।
मूलतः मानव जीवनमा छ दोष र छ गुणको विशेष चर्चा हुने गर्दछ । मूलभूतरूपमा व्यक्तिको उन्नतिका बाधक छ दोष हुन् भनी विदुरले बताएका छन् :
‘षड्दोषाःपुरुषेणेह हातव्या भूतिमिच्छिता ।
निद्रातन्द्राभयं क्रोधआलस्यं दीर्घसूत्रता ।।’
(विदु नीति) अर्थात् उन्नतिका बाधक छ दोषमा निद्रा, तन्द्रा (उँघाइ), भय, क्रोध, आलस्य र सुस्त पन हुन् । जसले यी कुरा त्याग्न सक्छन् ती व्यक्ति नै संसारमा धन ऐश्वर्यको सुख भोग गर्न समर्थ हुन्छन् । अर्थात् ऐश्वर्य सम्पन्न हुन्छन् भनिएको छ । यसैले उन्नतिको मार्गमा अघि बढ्न सर्वप्रथम निद्रालाई त्याग्न सक्नु पर्दछ भनिएको छ ।
उन्नतिको मूल आधार नै सत्यमा टिकेको हुन्छ । सत्य निष्ठापूर्वक आर्जन गरिएको धन दीर्घकालसम्म रहिरहन्छ । सत्यले नै संसारमा सही मार्गदर्शन गर्छ । सत्य नै मानवको परं धर्म भएकाले सर्वप्रथम हामी सत्यमा अडिन सक्नुपर्दछ । यसैले सत्य उन्नतिको मूल आधार हो ।
निद्रा उन्नतिको बाधक हो । ‘नहि सुप्तस्य सिंहस्यप्रविशन्तिमुखे मृगाः’ भने झैँ सुतेको सिंहको मुखमा मृग आएर बसिदिँदैनन् । स्वयं शिकार खोज्न हिँड्नु नै पर्छ । कर्मको वेदीमा निरन्तर अघि बढ्नु नै पर्दछ । निरन्तर कर्मको वेदीमा जागरुक भएर लागिपर्नु नै पर्दछ । निरन्तर कार्यमा लागिपर्ने व्यक्तिले नै सफलता हात पार्ने गर्दछन् । यसैगरी उँघाइ वा सुस्तपन पनि उन्नतिको बाधक हो भनी विदुरले बताएका छन् । सदा जागरुक हुने व्यक्तिले नै उन्नतिका शिखर चुम्न सक्दछन् । जागरुक र छरितो भएर गरेका कार्य प्रभावकारी हुन्छन् । यसैगरी मनमा भय वा डरको भावमा राख्ने व्यक्तिबाट पनि उन्नति असम्भव हुन्छ । उन्नति गर्न चाहने व्यक्तिले निडर भई अघि बढ्न सक्नुपर्दछ ।
भय अर्थात् डर पनि उन्नतिको बाधक हो भनी बताइएको छ । आँट गर्नसक्ने सामथ्र्य नभएको व्यक्तिले पनि जीवनमा उन्नति गर्न सक्दैनन् । क्रोध अर्को उन्नतिको बाधक हो । क्रोधले अहंकारलाई बढाउँछ । क्रोध मानवको एक विकार हो । रिसले स्वयंलाई जलाउने भएकाले शान्त भावका साथै क्रोलाई रोक्नसक्ने व्यक्तिले नै जीवनमा सफलता हात पार्ने गर्दछन् । यसैले निद्रा, तन्द्रा, भय, क्रोध, आलस्य र सुस्तपनलाई त्यागी जागरुक बन्न सक्नुपर्दछ ।
यसैगरी स्थिर वृत्ति पनि जीवनमा उन्नतिको सूत्र हो भनी बताइएको छ । संघर्षमा अघि बढ्दै गर्दा अनेकौं अरोहअवरोह आउन सक्छन् । सुखमा नमात्तिने र दुःखमा नआत्तिने स्वभाव हुनुपर्दछ भन्ने विदुरको नीति वचन रहेको छ । आपत्ति पर्दा पनि कहिल्यै दुःखी नहुने, सावधानीपूर्वक उद्योगको आश्रय लिने, समयले दिएको दुःखलाई सहने व्यक्तिका शत्रु पनि पराजित हुन्छन् र उन्नतिका मार्ग खुल्छन् भनी विदुरले बताएका छन् :
‘प्राप्यापदं न व्यथते कदाचिदुद्योगमन्विच्छतिचाप्रमत्तः ।
दुःखं च काले सहते महात्माधुरन्धरस्तस्यजिताः सप्तनाः ।।’
(विदुर नीति) आपत्तिलाई पनि चुनौतीमा बदल्न सक्ने व्यक्तिले नै संसारमा उन्नति गर्न सक्छन् भनिएको छ ।
यस्ता व्यक्तिका शत्रु स्वयं पराजित हुन्छन् । यसैगरी निरन्तर आफ्नो कार्यमा अघि बढिरहने, उद्योगबाट विचलित नहुने व्यक्तिले व्यक्तिले पनि उन्नतिको शिखर चुम्छन् । आरोहअवरोह, सुख, दुःख हरेक क्षेत्रमा हुन्छन् । यी सबै कुरालाई स्थिर चित्तले अघि बढाउन सक्नु नै उन्नतिको शिखर चुम्नु हो । यसै गरी सत्य, दान, छरितोपन, अनसूया (गुणमा दोष देखाउने प्रवृत्तिको अभाव), क्षमा तथा धैर्य त्याग्नु हुँदैन भनी बताइएको छ ः ‘षडेव तु गुणाः पुंसा न हातव्याः कदाचन । सत्यं दानमनालस्यमनसूया क्षमा धृतिः ।।’ (विदु नीति) सत्यबाट विचलित हुनु अवनतिको मार्गमा लाग्नु हो ।
उन्नतिको मूल आधार नै सत्यमा टिकेको हुन्छ । सत्य निष्ठापूर्वक आर्जन गरिएको धन दीर्घकालसम्म रहिरहन्छ । सत्यले नै संसारमा सही मार्गदर्शन गर्छ । सत्य नै मानवको परं धर्म भएकाले सर्वप्रथम हामी सत्यमा अडिन सक्नुपर्दछ । यसैले सत्य उन्नतिको मूल आधार हो । यसैगरी जीवनमा दान पनि गरिरहनुपर्छ भन्ने विदुरको मत छ । दान गरेर मान्छे गरिब हुने होइन । दानले धनलाई शुद्ध बनाउँछ । यसैले दान पनि उन्नतिको आधार नै हो भन्ने विदुरको मत छ । आलसीपनको त्याग अर्थात् छरितोपन पनि उन्नतिको अर्को लक्षण हो । छिटो र छरितोपन नै सबैले रुचाउने गर्दछन् । यसैले हरेक कार्य र क्षेत्रमा छरितो बन्न सक्नुपर्दछ भनिएको छ ।
प्रतिशोधको भावनाले मनमा अहंकारको आगो पैदा हुन्छ र स्वयंलाई जलाउने गर्दछ । प्रतिशोध त्यागी क्षमाशील हुनु पनि उन्नतिको मार्गमा लम्किनु हो । यसैगरी अर्को छोड्नु नहुने कुरा भनेको धैर्य हो । जीवनमा धैर्यधारण गर्न पनि सक्नुपर्दछ ।
यसैगरी गुणभित्र दोष र दोषभित्रको गुण पनि देख्न सक्नुपर्दछ । हरेक विषय एवं वस्तुका गुण र दोष दुबै पक्ष हुन्छन् । आफ्ना पक्षका गुणमात्र र अरूको पक्षका दोषमात्र देख्ने व्यक्तिले जीवनमा उन्नति गर्न सक्दैनन् भनिएको छ । गुणभित्रको दोष र दोषभित्रको गुण केलाउन सक्नुपर्दछ । हरेक विषयवस्तुलाई समालोचनात्मक दृष्टिले हेर्न सक्नुपर्दछ । नराम्राभित्रको राम्रो पक्षलाई ग्रहण गर्न सक्नुपर्दछ । यसैगरी राम्रोभित्रको नराम्रो पक्षलाई त्याग्न सक्नुपर्दछ । एकपक्षीय दृष्टिले उन्नति असम्भव रहन्छ । सर्वपक्षीय दृष्टि उन्नतिको सूत्र हो । यसैगरी मानवमा क्षमाभाव पनि रहनु आवश्यक छ । क्षमा मानव उन्नतिको आधार हो ।
प्रतिशोधको भावनाले मनमा अहंकारको आगो पैदा हुन्छ र स्वयंलाई जलाउने गर्दछ । प्रतिशोध त्यागी क्षमाशील हुनु पनि उन्नतिको मार्गमा लम्किनु हो । यसैगरी अर्को छोड्नु नहुने कुरा भनेको धैर्य हो । जीवनमा धैर्यधारण गर्न पनि सक्नुपर्दछ । अस्थिर चित्तले गरिएका कार्यमा सफलता नमिल्न सक्ने सम्भावना रहन्छ । चित्तलाई स्थिर बनाई गरिएका कार्य अधिक प्रभावकारी हुन्छन् । चञ्चल वृत्तिले गरिएका कार्यले सही परिणाम दिन सक्दैनन् फलस्वरूप उन्नतिका मार्गमा अवरोध आउने गर्दछ ।
जीवनमा उन्नति सबैको अभीष्ट हुन्छ । यसरी उन्नतिको मार्गमा अघि बढ्ने अनेक उपायका बारेमा पनि हाम्रा ऋषिमहर्षिले गहन चिन्तन गरेका छन् । यस सन्दर्भमा विदुर नीति विशेष मानिन्छ । छ प्रकारका दोषलाई त्याग्ने र छ प्रकारका गुणलाई ग्रहण गर्नसक्ने व्यक्तिले नै जीवनमा सफलता हासिल गर्न सक्दछन् । सत्यको मार्गमा लाग्न सक्नु, समदर्शी हुनसक्नु, समयानुसार चल्न सक्नु, दुःखमा सहन गर्नसक्ने र आपत्तिलाई पनि वहन गर्नसक्ने सामथ्र्य भएका व्यक्तिले नै जीवनमा उन्नति गर्न सक्दछन् ।
विपत्तिलाई चुनौतीका रूपमा स्वीकार गर्नसक्ने, सहासी, निडर, आलसी वृत्तिलाई त्याग्नसक्ने, जागरुक व्यक्तिले नै जीवनमा उन्नति गर्न सक्दछन् । यसैले निद्रा, तन्द्रा, भय, क्रोध, आलस्य र सुस्तपनलाई त्याग नगरी सत्य, दान, जागरुकपन, समदृष्टि, क्षमाभाव तथा धैर्यलाई आत्मसात गर्न सक्नुपर्दछ । सत्यको मार्गमा निरन्तर कर्म गर्ने व्यक्तिले जीवनलाई समुन्नत तुल्याउन सक्दछ । यिनै मानव जीवनका उन्नतिका आधार हुन् भन्ने विदुरका नीतिवचन मननीय छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच