सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रियसभा अध्यक्षमा माओवादीको पनि दाबी रहन्छ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताउनु भएकाे छ ।

राष्ट्रिय सभाको भावी अध्यक्षमा सत्तारुढ दल नेपाली कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने लगभग निश्चित भएका बेला सत्तारुढ दल नेकपा माओवादी केन्द्रले समेत आफ्नो दाबी रहने बताएसँगै गठबन्धनकाे भाबी यात्रामा समस्या आउनसक्ने अनुमान हुन थालेका छन् । अध्यक्षमा गठबन्धनको मुख्य दल कांग्रेसले पहिलेदेखि नै दाबी गरेको छ ।

माओवादी संसदीय दलको बैठकमा मंगलबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलले दाबी गर्ने बताउनु भएको हाे । राष्ट्रियसभामा सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो दलको पनि अध्यक्षमा दाबी रहने उहाँले बताउनु भएको हो । बैठकमा अधिकांश सांसदहरुले पनि राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलले दाबी गर्नुपर्ने बताएका थिए।

केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले हाम्रो दाबी स्वाभाविक रहन्छ । तर, साझेदार दलको सहमतिकै आधारमा ती कुराहरु तय हुने हुँदा गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्ने उहाँले बताउनु भएको एक नेताले बताए ।

प्रधानमन्त्रीले यसबारे गठबन्धन बैठकमा कुरा राख्ने जवाफ सांसदहरुलाई दिनुभएको उनले बताए । यद्यपि राष्ट्रिय सभा सदस्य निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा गठबन्धनका दलहरूबिच औपचारिक रुपमा छलफल भने भएको छैन ।

कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीको हारसँगै झस्किएको माओवादीका अधिकांश सांसदहरुले संसदीय दल बैठकमा कांग्रेस गठबन्धनका क्रममा इमान्दार नभएको आरोप लगाएका थिए।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने सार्वजनिक भइरहेका बेला माओवादी अध्यक्ष तथा प्रधानमन्त्री स्वयम्बाट यस प्रकारको धारणा आएपछि गठबन्धनमै समस्या निम्तिन सक्ने अनुमान समेत हुन थालेका छन् ।

राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदै छ। आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र १९ जना सदस्य ६ वर्षे कार्यकाल पूरा गरी बहिरिँदैछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?