
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ का पछिल्ला महिनाहरूमा मुलुकको अर्थतन्त्र सुधारोन्मुख बन्दै गएको छ । नेपाल राष्ट्र बैकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना अर्थात् साउनदेखि पुससम्मको तथ्यांकले मुलुकको अर्थतन्त्र क्रमिक रूपमा सुधार हुँदै गएको देखाएको हो । केन्द्रीय बैंकको तथ्यांकअनुसार पुसमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड मात्रै बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ६ करोडले बचतमा रहेको छ ।
२०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २०८० पुसमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले बढेर १३ अर्ब ६९ करोड पुगेको छ । केन्द्रीय बैंंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
त्यसैगरी, समीक्षा अवधिमा चालु खाता एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २१ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३६ अर्ब २२ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.४ प्रतिशतले बढेर ३९ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब ४० करोड थियो ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय ६०.६ प्रतिशतले बढेर ९२ अर्ब ८७ करोड पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड थियो ।
६ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख सात हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ७५ हजार ६४३ र एक लाख ४२ हजार ५४८ थियो ।
सात खर्बको व्यापारघाटा
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले घटेर.७४ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १२.८ प्रतिशतले घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३७०.९ र १.३ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । ६ महिनामा कुल वस्तु आयात ३.१ प्रतिशतले घटेर सात खर्ब ६८ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले घटेकोे थियो । मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.४ र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ । तयारी पोसाक, विद्युतीय उपकरण, एमएस तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारीसाधन तथा स्पेयर पार्टपुर्जा लगायतको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम लगायतको घटेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा कुल वस्तु व्यापारघाटा २.६ प्रतिशतले घटेर झण्डै सात खर्ब अर्थात् छ खर्ब ९३ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत थियो ।
मूल्यवृद्धि ५.२६ प्रतिशत
चालु आर्थिक वर्षको पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ । २०८० पुसमा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक घटेको छ भने मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप-समूहको सूचकांकमा समेत क्रमशः कमी आइरहेको छ । सो अवधिमा काठमाडौं उपत्यकामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६, तराई ४.७८, पहाड ५.४० र हिमालमा ६.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा क्रमशः ६.९३, ७.४९, ७.३० र ६.६९ प्रतिशत रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच