बार्सिलोनामाथि रियलको सानदार जित

Read Time = 4 mins

बार्सिलोना । ‘एल क्लासिको’ मा बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिडले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । बुधबार राती भएको दोस्रो लिगमा बार्सिलोनालाई उसैको मैदानमा ४-० को अन्तरले पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो । रियलको सानदार जितमा कप्तान करिम बेन्जेमाले हृयाट्रिक गर्नुभयो । यस्तै, भिनिसियस जुनियरले एक गोल थप्नुभयो । पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाउनुभयो ।

५०औँ मिनेटमा बेन्जेमाले टोलीका लागि दोस्रो गोल गर्नुभयो । ५८औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसपछि ८०औँ मिनेटमा बेन्जेमाले हृयाट्रिक पूरा गर्दै रियललाई सानदार जित दिलाउनुभयो । यस जितसँगै रियलले दुई साताअघि स्पेनिस ला लिगामा भोगेको हारको बदला लिन सफल भएको छ । २० मार्चमा भएको खेलमा रियल बार्सिलोनासँग २-१ ले पराजित भएको थियो ।

यता, इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले वेस्ट हृयाम युनाइटेडमाथि ५-१ को सानदार जित निकाल्यो । न्युक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले समान दुई गोल गर्दा एलेक्साण्डर इसाकले एक गोल थप्नुभयो । वेस्ट हृयामका कर्ट जुमाले एक गोल फर्काउनुभयो ।

लण्डन स्टेडियम लण्डनमा बुधबार राती भएको खेलको छैटौँ मिनेटमा कलुम विल्सनको गोलबाट न्युक्यासलले अग्रता लियो । १३औँ मिनेटमा जोइलिन्टनले गोल गर्दै न्युक्यासलको अग्रता दोब्बर पार्नुभयो । ४०औँ मिनेटमा कर्ट जुमाले गोल गर्दै खेललाई पहिलो हाफमा २-१ को स्थितिमा ल्याउनुभयो ।

४६औँ मिनेटमा विल्सनले न्युक्यासलका लागि तेस्रो, ८२औँ मिनेटमा इसाकले चौथो र इन्जुरी समयमा जोइलिन्टनले पाँचौँ गोल गर्नुभयो । यस सानदार जितसँगै न्युक्यासल २८ खेलबाट ५३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित वेस्ट हृयाम २७ अंक जोडेर १५औँ स्थानमा छ ।

अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा ब्रेन्टफर्डलाई १-० ले पराजित गरेको छ । युनाइटेडको जितमा पहिलो हाफमा मार्कस रासफर्डले गरेको गोल नै निर्णायक बन्यो । उहाँले खेलको २७औँ मिनेटमा मार्सेल सवित्जरको पासमा गोल गर्नुभएको थियो ।

यस जितसँगै युनाइटेड २८ खेलबाट ५३ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । समान ५३ अंक नै रहे पनि न्युक्यासल गोल अन्तरमा अघि छ । पराजित ब्रेन्टफर्ड २९ खेलबाट ४३ अंक जोडेर नवौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?