‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा बिहीवारदेखि क्यान इन्फोटेक २०२४ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो २९औं संस्करण हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल एपको प्रयोगमार्फत क्यान इन्फोटेको औपचारिक उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने भन्दै यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।

उहाँले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक सुधारमा लागेको र राष्ट्रिय साइबर सुरक्षा नीति जारी गरि कार्यान्वयनमा समेत ल्याइसकेको जानकारी दिनुभयो । सरकारको मुख्य कार्यभार सुशासन, सामाजिक न्याय र समृद्धिमा सूचना तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिको विकासमार्फत सेवा विकास गर्न सकिने र यसबाट रोजगारी सिर्जना गर्दै बढ्दो विदेश पलायनलाई पनि रोक्न सकिने बताउनुभयो । अबको लगानी सूचना प्रविधि क्षेत्रमा हुनुपर्ने र सूचना प्रविधिको क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने उहाको भनाइ छ ।

माघ २९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा चल्ने मेलामा दुईसय भन्दा बढी स्टल रहेका छन् । मेला अवलोकनाका लागि सर्वसाधारणका लागि रु१०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ भने मेलाको झण्डै तीन लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

समुद्घाटनको अवसरमा दुई ओटा ड्रोनबाट झाकीसमेत प्रस्तुत गरिएको थियो । यसअन्तर्गत पहिलो ड्रोनबाट पुष्प वृष्टि र दोस्रो ड्रोनबाट लिडबोर्ड सहित आकाशमा क्यान इन्फोटेक शुभाराम्भ सन्देश सहितको भिडिओ प्रदर्शनी गरिएको थियो । समारोहमा बोल्दै मन्त्री शर्माले क्यान इन्फोटेकको भव्य सफलताको शुभकामना दिँदै सरकारको तर्फबाट सधैं साथ रहने बताइन् ।

उद्घाटन समारोहमा विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्ट, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारी, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रमेश मल्ल, क्यान महासंघका संस्थापक निर्देशक विमल कुमार शर्मा, असोसिओका उपाध्यक्ष एवं क्यान महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवर लगायतले बोल्दै क्यान इन्फोटेकको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्र सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधि, क्यान महासंघका सदस्य, पत्रकार लगायतको उपस्थिति थियो ।  सो अवसरमा बोल्दै क्यान महासंघका अध्यक्ष रणजीत पोदारले सूचना प्रविधि सम्बन्धी नयाँ नीति, कानून तथा निर्देशिकाहरूमा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै यो क्षेत्रमा देखिएका समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?