काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको विद्युत््मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) खुला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा गत २४ माघमा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग जहिले र जति पनि पिपिए गर्ने निर्णय गरेको हो ।
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेऊ या तिर’ अर्थात् टेक अर पे प्रावधानका आधारमा खरिद गरिनेछ । आयोजनाको विद्युत् सुक्खायाम (१६ मंसिर-१५ जेठ) र वर्षायाम (१६ जेठ-१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमशः ८.४० र ४.८० प्रतियुनिटमा खरिद हुनेछ ।
स्थानीय प्राकृतिक स्रोतको अधिकतम् प्रयोग र स्वदेशी साना लगानीकर्ताको लगानी जलविद्युत्् क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनामा उत्पादन सम्मिश्रणका आधारमा तय गरिएको पिपिए सीमा लागू नहुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम् प्रयोग र स्वदेशी साना लगानीकर्ताको लगानी जलविद्युत् क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनामा उत्पादन सम्मिश्रण (जेनेरेसन मिक्स)का आधारमा तय गरिएको पिपिए सीमा लागू नहुने व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पिपिए हुन सकिरहेको थिएन, अब १० मेगावाटसम्मका आयोजनालाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको पनि पिपिए गर्न सकिन्छ, यसले स्वदेशी साना लगानीकर्तालाई प्रोत्साहन गर्नेछ । अब ग्रिड आबद्ध सम्झौता अर्थात् ग्रिड कनेक्सन एग्रिमेन्ट भएका र हुने १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पिपिए जति र जहिले पनि गर्नेछौँ ।’ १० मेगावाटसम्मका ८९ आयोजनाले पिपिएका लागि प्राधिकरणमा निवेदन दिएका छन् ।
ती आयोजनाको क्षमता तीन सय ५१ मेगावाट छ । जसमध्ये एक सय ९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आबद्ध सम्झौता सम्पन्न भइसकेको छ । दीर्घकालीनरूपमा आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने उद्देश्यले आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआरको ३० प्रतिशत, आरओआरको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो भने सोही आधारमा पिपिएको सीमा तय गरिएको थियो ।
आरओआर आयोजनाका लागि तय गरिएको अर्थात् ६७ सय ५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पिपिए हुन सकिरहेको थिएन । १० मेगावाटसम्मका अधिकांश आयोजना आरओआर छन् । प्राधिकरणले हालसम्म ९२ सय मेगावाटको पिपिए गरिसकेको छ ।
बढेको क्षमताको विद्युत् किन्ने
प्राधिकरण सञ्चालक समितिले पिपिए भइसकेका जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ । आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म वृद्धि भएमा पिपिए सीमा लागू नहुने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको डिजाइन परिवर्तनलगायतका कारण जडित क्षमताको २५ प्रतिशतसम्म अभिवृद्धिबाट उत्पादन हुने विद्युत्् ‘लेऊ वा तिर’ प्रावधान राखी पिपिए संशोधन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘२५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भएमा ‘लेऊ वा तिर’ र त्यसभन्दा बढी भएमा पुरानै ‘लेऊ र तिर’को व्यवस्था लागू हुन्छ । हाल गरिएको व्यवस्थाले आयोजनाको क्षमता अभिवृद्धि हुनुका साथै आयोजनालाई लगानी जुटाउनसमेत थप सहज बनाउनेछ ।’
सौर्य ऊर्जाको सीमा बढ्यो
प्राधिकरणले सौर्य जलविद्युत् आयोजनासँग गरिने पिपिएको सीमा बढाएको छ । प्राधिकरणले सौर्य आयोजनाको पिपिए प्रतिस्पर्धाबाट गर्दै आएको छ । प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पिपिए भइसकेका आयोजनालाई समेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जाको पिपिए गर्नेछ । यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर सौर्य आयोजनाको पिपिए हुँदै आएको थियो ।
सौर्य आयोजनाको विद्युत् प्रतिस्पर्धाबाट खरिद गर्न प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसा अधिकतम् आधारदर तय गरिएको छ । प्रतिस्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ, सोही आयोजनासँग पिपिए गरिने प्राधिकरणले जनाएको छ ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘नयाँ व्यवस्थाअनुसार करिब आठ सय मेगावाटका सौर्य आयोजनाको पिपिए गर्न सकिनेछ, हाम्रो स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाको पिपिए गर्ने गरी प्रतिस्पर्धा गराउने छौँ, जलविद्युत् आयोजना निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रै आउने भएकाले हिउँदको बढ्दो विद्युत् माग पूरा गर्न ग्रिडमा आबद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो, यसबाट सबस्टेसन वरिपरि रहेका जग्गा पनि प्रयोग हुनेछ ।’ प्राधिकरणले प्रतिस्पर्धाबाट हालसम्म एक सय ७५ मेगावाटको पिपिए गरेको छ । त्यसमध्ये एक सय छ मेगावाट सञ्चालनमा आएका छन् भने थप ३० मेगावाटका सौर्य आयोजना पिपिए प्रक्रियामा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच