
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसी गाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुन सकेको छैन ।
सरकारले घरघरमा धारा बने पनि निसीमा करिब १५ घर परिवारले एउटै धाराबाट पानी उपभोग गर्नु पर्ने अवस्था छ । संघीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिए पनि बजेट अभावमा काम हुन सकेको छैन । खानेपानी आयोजनाका निर्माण सम्पन्नका लागि १२ करोड ९८ लाख लागत लाग्ने भए पनि दुई वर्षमा जम्मा २३ लाख मात्रै बजेट विनियोजन भएको छ ।
गत वर्षदेखि सुरु भएको आयोजना यस वर्ष सकिनु पर्ने हो तर बजेट अभावका कारण सर्वेक्षणको काम बाहेक अरु हुन सकेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट संचालित आयोजनाका लागि संघीय सरकारले आर्थिक वर्ष २०७९/८० मा २० लाख र चालु आर्थिक वर्षमा तीन लाख ८५ हजार मात्रै बजेट विनियोजन गरेको छ । करोडौँका आयोजनामा २३ लाख ८५ हजार रुपैयाँले मात्रै विनियोजन हुँदा काम अन्योलमा छ । लामो समयदेखि खानेपानी समस्यामा गुज्रिएका निसीवासी एक घर एक धाराका लागि सर्वेक्षण हुँदा हर्षित भएका थिए । अहिले पनि उनीहरु छिट्टै घर–घरमा धारा बन्नेमा आशावादी छन् । तर योजना के हुने हो भन्ने टुङ्गो छैन ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर नविन सुवेदीले दुई वर्षमा सकिनु पर्ने आयोजना बजेट अभावका कारण काम हुन नसकेको बताउनुहुन्छ । बस्तीभन्दा धेरै टाढा रहेको नौबहिनी मुहानबाट निसी गाउँमा ७४६ वटा धारा बनाइनका लागि सर्वेक्षण गरे पनि अरु काम गर्न नसकेको उहाँको भनाइ छ । यो आयोजना समयमै सकिए यहाँका पाँच हजार पाँच सय ८१ जना नागरिक लाभाम्वित हुने इन्जिनियर सुवेदीले बताउनुभयो । अर्थमन्त्रालयले स्रोत सुनिश्चितता नगरेरसम्म यो काम गर्न नसकिने भन्दै स्थानीय र सांसदहरुले भूमिका खेल्नु पर्ने उहाँको भनाइ छ ।
“यति ठूलो आयोजना छ, तर बजेट निकै कम परेको छ, बजेट व्यवस्थापन भएर आएन भने धेरै वर्ष लाग्ने देखिन्छ, दुई वर्षमा आयोजना सक्नु पर्ने लक्ष्य थियो, तर बजेटको यो आकार हेर्दा दर्शौँ वर्षसम्म पनि यो आयोजना सकिदैन, अहिले सर्वेक्षणको काम मात्रै भएको छ,” इन्जिनियर सुवेदीले भन्नुभयो – “ यति बजेटले केही हुँदैन, थप बजेटका लागि पहल गरि रहेका छौँ, अहिले निसीमा भएको पानी व्यवस्थित छैन, एक घर एक धारा नभएको अवस्था छ, गत वर्षदेखि सुरु भएको आयोजना यस वर्ष सकिनु पथ्र्यो तर काम सुरुसमेत गर्न गाह्रो छ ।”
स्थानीयसमेत रहनु भएको निसीखोला गाउँपालिका–६ का वडा सदस्य भरत सुनारले वि.सं. २०७४ सालमा बनेका धाराबाट अहिले पनि स्थानीयले पानी भर्ने गरेको बताउनुभयो । पछिल्लो समय निसीमा बाहिरबाट आएर पनि मानिसहरु बसोबास गर्न थालेपछि उपभोत्ता बढेको भन्दै एउटा धाराबाट १५÷१६ घर धूरीले नागरिकले पानी उपभोग गर्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
सुनारले भन्नुभयो – “वर्षौँ अगाडि निर्माण भएका धारा अहिले पनि संचालनमा छन्, तर पर्याप्त छैनन्, धेरै परिवारले एउटै धारो प्रयोग गर्नु पर्ने स्थिती छ, बजार बन्दै गएको निसीमा एक घर एक धारो अनिर्वाय छ, एउटा धारोले धेरैले प्रयोग गर्दाको समस्या यहाँका नागरिकले भोगेका छन्, गाउँ वरपर प्रसस्त पानी भएको हुँदा वस्तुभाउ र नुवाईधुवाइमा समस्या छैन ।”
स्थानीय भुलबहादुर विकले तीन दशक अगाडि निर्माण भएका धारा व्यवस्थित नभएको बताउनुभयो । अव्यवस्थित धाराबाटै स्थानीयले पानी प्रयोग गर्न बाध्य भएको भन्दै सरकारले एक घर एक धारा बनाउने भने पनि अहिलेसम्म बन्न नसकेको गुनासो पोख्नुभयो । पुरानो धारोबाट शुद्ध र स्वच्छ पानीसमेत स्थानीयले पिउन नपाएको विकले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच