जब मसँग लेख्ने कुनै विषय हुँदैन अनि म मेरा पिता, माता एवम् गुरुलाई सम्झिरहेको हुन्छु । सबै कुरा बिर्सिए पनि बिर्सन नमिल्ने यिनै तीन दिव्य केन्द्रहरू हुन् । गाली र थप्पड दिँदादिँदै केही नसिकाएजस्तो गरी धेरै कुरा कुरा सिकाउने आमा, जिम्मेवारीको गहकिलो भारी बोकाएरै धेरै कुरा सिकाउने बुवा अनि कर्तव्याकर्तव्यको द्वन्द्वमा परेको बेला सधैं सन्मार्ग प्रदान गर्ने गुरु यिनलाई सम्मान गर्न सकेको अवस्थामा धेरै प्रकारका संशयहरूबाट मुक्ति मिल्छ । अज्ञानरूपी अन्धकारबाट सधैँ बाहिर ल्याउन प्रयत्न गर्ने गुरुको कुनै कोटी हुँदैन, श्रेणी हुँदैन, कुनै कित्ता हुँदैन, कुनै वर्ग हुँदैन, छुट्टै जात, धर्म, लिंग र वर्ण पनि हुँदैन । गुरु हुनु नै सबैथोक हुनु हो । गुरुबाट कहाँ ? कतिखेर ? कस्तो प्रकारको ? ज्ञान प्राप्त हुन्छ भन्ने कुनै नियम निर्धारण छैन ।
ज्ञानको मार्गमा हिँडेकाहरूले जहाँ, जसरी र जस्तो अवस्थामा पनि ज्ञान लिन्छन् र दिन्छन् पनि । आज पनि म यस्तै विषय नभएको अवस्थामा मेरा परमादरणीय गुरु प्राध्यापक डाक्टर माधवप्रसाद पोख्रेललाई सम्झिरहेको छु । जहाँ अरू विषय छैन त्यहाँ गुरुको ज्ञान बाँकी हुन्छ । गुरुको आशीर्वाद बाँकी हुन्छ । हरेक सन्देहमा मार्ग प्रशस्त गर्ने गुरुको स्नेह सदा प्राप्त भइरहोस् । केही दिन अगि मात्र एउटा विद्यालयको बालबालिकाहरूको कार्यक्रममा पछिल्लो पटक उहाँसँग भेट भयो । केही नसिकाएजस्तो ढंगले धेरै कुरा सिकाउने गुरुको त्यो सामथ्र्य त्यस दिन पनि त्यसरी नै प्रकट भयो । उहाँले पाणिनि विद्यालयका बालबालिका, गुरु अनि अभिभावकहरूका माझमा आफ्नो सरल मिजासमा यति धेरै गहिरा कुराहरू गर्नुभयो त्यसबाट पछिल्लोपटक ज्ञान लिने अवसर मिल्यो ।
माधव गुरु र मेरो पहिलो भेट कीर्तिपुरमा स्नातकोत्तरका कक्षामा भएको हो । गुरुको आँखामा कि ज्यादै प्रतिभासम्पन्न विद्यार्थीहरू पर्थे कि उद्दण्ड । मध्यमकोटिका शिष्य औसत हुन्थे, धेरै हुन्थे तिनीहरूमा गुरुका पनि साझा आँखा पर्थे तर असल र योग्य गुरु शिष्यको आँखामा परिनै हाल्थे ।
उहाँले भन्नुभयो ‘हामीले देख्दा कक्षाकोठामा गुरुले शिष्यलाई पढाइरहेको देख्छौं तर त्यही कक्षामा कक्षाका सुयोग्य प्रतिभावान् शिष्यले गुरुलाई धेरै कुरा सिकाइरहेका हुन्छन् ती कुरा हामीले देख्दैनौं । त्यसैगरी घरमा पत्नीले पतिलाई सिकाइरहेकी हुन्छिन्, छोराछोरीले बाआमालाई सिकाइरहेका हुन्छन् । कति कुरा समाजले सिकाउँछ, कति कुरा समय परिस्थितिले सिकाइरहेको हुन्छ । जसले जसलाई पनि सिकाउन सकिने र जोसँग पनि सिक्न सकिने यो संसारमा हामीले आफ्नै रुढ धारणा बनाएका भरमा कसैलाई गुरु भन्छौँ, कसैले चेलो भन्छौँ । कसैलाई सानो मान्छौँ, कसैलाई ठूलो मान्छौँ । कसैलाई जान्ने बनाउँछौँ, कसैलाई नजान्ने बनाउँछौँ ।
विदेशमा बालबालिकाहरू जति धेरै पढ्यो त्यति बढी राष्ट्रवादी बन्छन् हाम्रो मुलुक यस्तो मुलुक हो जहाँको शिक्षानीतिले जति धेरै पढ्यो त्यति धेरै राष्ट्रविमुख नागरिक तयार गर्छ । जापानीहरू जति धेरै पढ्यो त्यति बढी जापानी हुन्छन् तर नेपालीहरू जति धेरै पढ्यो त्यति बढी अनेपाली बन्दै जान्छन् । हाम्रा सन्तानले आमा सिक्नभन्दा पहिले ममी सिक्छन्, हाम्रा बच्चालाई बाँदर सिकाउनुभन्दा पहिले मङ्की सिकाइन्छ । हाम्रो सभ्यता र संस्कृतिको मूल थलो पौरस्त्य वाङ्मयप्रति हाम्रा सन्तति बेखबर छन् । विदेशीको नक्कल गर्ने, विदेशी भाषा, संस्कृति र सभ्यताको सिको गर्ने हाम्रो झुटो आडम्बरका कारणले पनि हाम्रा सन्तति अपूरा बन्दै गइरहेका छन् ।
यी सबै हामीभित्रका सीमाहरू हुन् ।’ त्यति धेरै पढेका अंग्रेजी भाषाका पनि राम्रा ज्ञाता, विदेशमा बढेर, पढाएर आएका, त्यति ठूला मानिस भएर पनि कत्ति ठुल्याइँ गर्न नजानेका गुरुका स्वदेशी भाषा, संस्कृति, सभ्यता र देशभक्तिले ओतप्रोत भएका कुराहरू सुन्दा सभाका सबै मानिसहरू भावविभोर भयौँ । जति ठुला मानिस त्यति सरल बोली, वचन र व्यवहार देखेर धेरै मानिसलाई अचम्म पनि लाग्यो होला । हाम्रा गुरु नै यस्ता हुनुहुन्छ त्यसैले त गर्व गर्न मनलाग्छ ।
माधव गुरुले भनेझैँ नाम मात्रका गुरुको कुरा बेग्लै हो साँच्चै कर्तव्य सम्झेर बालबालिकालाई केही सिकाउँछु भनेर तयारी गरेर कक्षाकोठामा छिर्ने शिक्षकले यो कुरा अनुभव गर्न सक्छ योग्य शिष्यले गुरुलाई पढाइरहेको हुन्छ । कक्षाकोठामा विद्यार्थीका कार्यकलाप, उनीहरूको बोलीवचन, व्यवहार, उनीहरूको विषयप्रतिको जिज्ञासा, उनीहरूले सोध्ने स्वस्थ प्रश्नहरू, तिनीहरूका जिज्ञासाहरू नै एकजना योग्य गुरुका निम्ति ज्ञानका खुराक हुन् । केही आफूले जानेका कुरा सिकाउने क्रममा धेरै नजानेका कुरा सिक्न प्रेरित गर्ने शिष्यको योगदान योग्य गुरुले नै बुझ्न सक्छ । र, कुनै पनि सुयोग्य गुरुले गुरुताको अहम् प्रदर्शन गर्दैन ।
कहिलेकाहीँ तयारी बिनै कक्षाकोठामा छिरेको दिन विद्यार्थीबाट आउने झरिला प्रश्नहरूले आफ्नै अकर्मण्यतामा वाणले झैँ तीखो गरी घोचेको मलाई सम्झना छ । गुरु, गुरु रहिरहन गुरु हुँ भन्ने अहङ्कारबाट बाहिर आउनै पर्छ । म सर्वज्ञ हुँ, मैले जान्नु यिनले जानेकै छैनन् । मैले सिकाउने मात्र हो यिनले सिक्नेमात्र हो भन्ने धारणा राख्ने गुरुले कहिल्यै प्रभावकारी किसिमले पढाउन सक्दैन ।
माधव गुरु र मेरो पहिलो भेट कीर्तिपुरमा स्नातकोत्तरका कक्षामा भएको हो । त्यतिखेर गुरुको आँखामा कि ज्यादै प्रतिभासम्पन्न विद्यार्थीहरू पर्थे कि उद्दण्ड, जोदाहाहरूमा गुरुको नजर पथ्र्यो । मध्यमकोटिका शिष्य औसत हुन्थे, धेरै हुन्थे तिनीहरूमा गुरुका पनि साझा आँखा पर्थे तर असल र योग्य गुरु शिष्यको आँखामा परिनै हाल्थे । पहिलो दिनको कक्षामै माधव गुरु मेरा आँखामा पर्नुभयो । पिताजीको घरेलु गुरुकुलमा लघुसिद्धान्त कौमुदी भ्वादिसम्म पढेर विद्यालय शिक्षामा प्रवेश गरेको मलाई संस्कृतको आधारभूत ज्ञान भए पनि त्यो ज्ञान व्यावहारिक किसिमको रहेनछ भन्ने कुरा माधव गुरुले सन्धि पढाउने बेलामा बोध गरेको हुँ ।
उहाँले कक्षाको कालो पाटीमा इकोयणचि भन्ने पाणिनीय सूत्रलाई इकस्थाने यण् स्यात् अचि अच् पर भएमा भन्ने कुरालाई जसरी प्राक्टिकल्ली बुझाउनुभयो साँच्चै त्यही दिन आएरमात्र मैले आपूmले पढेका कौमुदीका सूत्रको व्यावहारिक उपयोगको महत्व बुझेको हुँ । त्यसैगरी ध्वनिविज्ञान सम्बन्धी गुरुका कक्षा पढ्दा वास्तवमै हामी कुनै भाषावैज्ञानिक (ध्वनिविज्ञानको) प्रयोगशालामा छौँ झैँ लाग्थ्यो । गुरुका ज्ञान र अनुभवले खारिएका एक-एक वाक्य अर्थपूर्ण हुन्थे सागरभरिको पानीबाट हामीले आ-आफ्नो लोहोटाको सामथ्र्यले पानी भरेर जान्थ्यौँ । म औसत विद्यार्थी थिएँ, दाङ पढेर आएको काठमाडौँका गुरुहरूका अगाडि देखापर्न धक लाग्दालाग्दै कक्षाहरू समाप्त भए । केही गुरुहरूसँग अलि अलि नजिक भइयो औसत दर्जामै रहेर गुरुहरूले राम्ररी नचिन्दै स्नातकोत्तर सकियो र जागिरमा प्रवेश गरियो ।
धेरै वर्षपछि विद्यावारिधि गर्ने क्रममा मनभित्रका कतिपय छट्पटीहरू मेटाउन कुनै गुरु भेटिए पनि हुन्थ्यो नि ! भनेर कीर्तिपुर चौरमा झोक्राइरहेका बेला अचानक माधव गुरुसँग भेट हुँदा देउता भेटेजस्तै लाग्यो । विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा पौरस्त्य दर्शन शीर्षकमा विद्यावारिधि गर्दैछु भनेपछि कतिपयले कोइरालामा कहाँ पौरस्त्य दर्शन हेर्छौ उनी त पौरस्त्य दर्शनका विराधी नै हुन् नि ! भनेर मलाई निराश बनाइरहेका बेला यत्तिकै हिँड्दाहिँड्दै बाटोमा टक्क उभिएर उहाँले दुईचारवटा यस्ता सूत्र बताइदिनुभयो जसले ममा रहेको सन्देह र अलमलले निकास लिन सजिलो भयो ।
नेपाली, संस्कृत र अंग्रेजी भाषामा उत्तिकै दख्खल भएका माधव गुरुको विशेषज्ञता यतैतिर हो भन्ने छैन । भाषा, साहित्य, संस्कृति र लोकवार्ताका क्षेत्रमा उहाँको महनीय योगदान रहीआएको छ । हजारौँ शिष्यका गुरु, माधव गुरु सुप्रसिद्ध भाषाशास्त्री, बौद्धिक निबन्धकार अनि कुशल सम्पादक पनि हुनुहुन्छ ।
कत्ति पनि अहङ्कार नगरी ज्यादै सरल शैलीमा आत्मीय किसिमले आफूले जानेका कुराहरू भनिदिने गुरुको व्यवहार मलाई औधी मनपर्छ । अनुभवले खारिएका गुरुका वाणीबाट अनगिन्ती ज्ञानराशी टप्किरहेको हुन्छ । हामी जतिसुकै चनाखा किन नहोऊँ गुरुका आँखा हाम्रा आँखाभन्दा तेजिला हुन्छन् । विश्वविद्यालय सेवामा प्रवेश गरेपछि यताका दिनहरूमा माधव गुरुसँग भेट हुने सुयोग जुरेको छ । जतिपटक गुरुसँग भेट हुन्छ ज्ञानका नयाँ आयामका विषयमा जानकारी प्राप्त हुन्छ ।
नेपाली, संस्कृत र अंग्रेजी भाषामा उत्तिकै दख्खल भएका माधव गुरुको विशेषज्ञता यतैतिर हो भन्ने छैन । भाषा, साहित्य, संस्कृति र लोकवार्ताका क्षेत्रमा उहाँको महनीय योगदान रहीआएको छ । हजारौँ शिष्यका गुरु, माधव गुरु सुप्रसिद्ध भाषाशास्त्री, बौद्धिक निबन्धकार अनि कुशल सम्पादक पनि हुनुहुन्छ । विभिन्न पुरस्कार अनि सम्मानप्राप्त माधव गुरुको योगदान सर्वसाधारणको आँकलनभन्दा धेरै माथि छ । आज पनि उहाँ त्यत्तिकै गतिशील जीवन बाँचिरहनुभएको छ । राजनीतिलाई लक्ष्यसिद्धीको सोपान बनाएर राज्यको कोष दोहन गरेर शून्य उपलब्धिमा रमाउने प्रवृत्तिबाट उहाँ टाढा हुनुहुन्छ । दायाँमार्गीहरूले उहाँलाई सायद देब्रे ढल्कुवा माने देब्रे ढल्कुवाले उहाँलाई अर्कै केही माने ।
कुनै समयमा उहाँभित्र पनि त्यस्ता रागहरू थिए होलान् । विचारको बाछिटाले कति ठाउँ उहाँलाई पनि हिर्कायो होला । लाभहानिको उतारचढावको यात्रामा कुनै पाइला वैचारिक आस्थाका पनि रोजिए होलान् । विचारहीन मानिस त कोही हुँदैन नि ! त्यसो भन्दैमा हरेक ठाउँ विचारले नै प्रभावित रहनुपर्छ भन्ने कहाँ छ र ? त्यसमाथि समयको कुनै विन्दुमा आइपुग्दा विचारको कित्ताकाट अनि विचारकै काटाकाट पनि मिथ्या लाग्ने दिन अवश्य आउँछ । आजका हाम्रा माधव गुरु वैचारिक भैकन पनि यस्तै वैचारिक हुनुहुन्छ जहाँ हरेक स्वस्थ विचारका मानिसहरू अटाउन सम्भव छ । उहाँलाई उहाँको रूपमा मान्ने र उहाँको विचारले देशलाई मार्गदर्शन गर्न सक्छ भनेर मान्नेहरूको सधैँ कमी रहिरहृयो ।
उहाँजस्ता गुरु वैचारिक आस्थाका आधारमा मान्य र अमान्य हुने मुलुकका नागरिक हौँ हामीभन्दा दुःख लाग्छ । मुलुकका कतिपय गरिमामय संस्थाहरू जहाँ उहाँजस्ता विज्ञहरू जानुपथ्र्यो ती ठाउँहरू उहाँहरू नगएकैले गरिमाहीन र कान्तिहीन बन्दै गए । अब त ती ठाउँहरू उहाँहरूका निम्ति योग्य छैनन् भन्ने लाग्छ । कुनै पनि विषयलाई गहिराइबाट छामेर विषयको चुरो पहिचान गरी उपचार गर्न रुचाउने उहाँको स्वभावका कारणले उहाँलाई स्थापना गरेर लक्ष्यसिद्धि गर्नेहरूका निम्ति उहाँ अमान्य हुनुभयो होला तर हामीजस्ता अनुयायीहरू पनि छौँ जो गुरुको गुरुतालाई सही अर्थमा सम्मान गरिरहेका छौँ । म आरणीय गुरुको दीर्घ, स्वस्थ एवम् क्रियाशील जीवनको कामना गर्दछु ।
माधव गुरुका बारेमा मनछुने शब्दसिर्जनागर्ने मेरा पनि सहयात्रीचालिसेमा साधुवाद छ।म कोरा दिमागवालाछात्रमा प्रेरणा भरिदिएर जगदम्बा नेपाली
उपन्यासको इतिहास लेख्नसक्ने बल मा टेको दिने र उभिने तागत दिने माधव गुरुमाअर्पित चालिसेका शब्दले मेरो मन छोयो ।
शिष्यादिच्छेत् पराजयम् । चेलासँग हार्न नसक्ने गुरुहरू निश्चय नै महान् हुन सक्तैनन् ।