![वातावरणीय जागरणका लागि अध्यक्ष ओलीको गुह्येश्वरी-धाप बाँध यात्रा](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/kpoli-padyatra.jpg)
टोकियो । जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच-थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । नयाँ पुस्ताको एच-थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरिएको छ । यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्याउने काम गर्न सक्छ ।
जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भन्नुभयो, ‘म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु । तर, मैले पहिले कहिल्यै यति धेरै खुशी महसुस गरेको थिइनँ । र, मैले कहिल्यै यति राहत महसुस गरेको थिइनँ ।’ जापानले गएको महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गराएको थियो । त्यसपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौं देश बनेको छ ।
दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयानुसार बिहान ९ः२२ बजे एच-थ्री प्रक्षेपण गरिएको थियो । एजेन्सीको लाइभ स्ट्रिममा एच-थ्रीको इन्जिनले अपेक्षाकृत रूपमा काम गरेको र रकेटले यसलाई अन्तरक्षिको कक्षमा प्रवेश गराएको घोषणा गरेपछि जाक्सा कन्ट्रोल सेन्टरबाट ताली र आवाजद्वारा खुशी व्यक्त गरिएको चर्को आवाज सुनिएको थियो ।
जाक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा संयुक्त रूपमा विकास गरिएको एच-थ्री सन् २००१ मा सुरु भएको एच-आइआइए प्रक्षेपण प्रणालीको उत्तराधिकारी हो । ‘उच्च ललिलोपन, उच्च विश्वसनीयता र उच्च लागत प्रदर्शन’को निम्ति डिजाइन गरिएको शिल्पले अन्तरिक्षमा जापानको स्वायत्त पहुँच कायम राख्नेछ’, जाक्साले भनेको छ । वैज्ञानिकले एच-थ्रीमा प्रयोग भएकोे विश्वकै पहिलो प्रविधिको परीक्षण महत्वपूर्ण रहेको बताएका छन् ।
युनिभर्सिटी अफ मेलबोर्नको मेलबर्न स्पेस ल्याबोरेटरीका निर्देशक मिचेल ट्रेन्टीले भन्नुभयो, ‘एच-थ्री रकेटमा पहिलो चरणको अद्वितीय इन्जिन छ । यसले अत्याधुनिक रकेटको तुलनामा बढी सन्तुष्टि प्रदान गर्छ । एच-थ्रीमा सबैभन्दा लागत प्रभावी रकेट हुने क्षमता छ । जसले सौर्य प्रणालीको अन्वेषणलाई अझ किफायती बनाउनेछ ।’ सन् २०२३ को फेब्रुवरीमा इन्धन प्रज्वलनको समस्याले रकेटलाई जमिनमा गतिहीन बनाएपछि प्रक्षेपण रद्द गरिएको थियो ।
गत वर्षको मार्चमा दोस्रोपटक गरिएको प्रयासमा प्राविधिक समस्याका कारण प्रक्षेपण गरिएको केही समयपछि नै विष्फोट भएको थियो । सबैभन्दा पछिल्लो यो प्रक्षेपण पनि खराब मौसमका कारण चार दिनपछि सारिएको थियो । तर, शनिबार सफलतापूर्वक प्रक्षेपण गरिएको रकेटले दुई साना स्याटेलाइट बोकेको छ । एउटा माइक्रोस्याटेलाइटले फोटो र भिडियो खिचेर विपद् रोकथाममा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सेन्सरको साथ सुसज्जित अर्को स्याटेलाइट इन्फ्रारेड किरणहरू पत्ता लगाउन जमिनमा कारखानाहरूको सञ्चालन अवस्थाहरू पछ्याउने उद्देश्यले तयार पारिएको हो । जाक्साको लाइभ स्ट्रिमका अनुसार माइक्रोसेटेलाइट्सलाई छुट्टयाउने काम पनि भएको पुष्टि भएको थियो । जाक्साका एक अधिकारीले भने, ‘रकेटलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्याएपछि हामी नतिजाको विश्लेषण जारी राख्नेछौं ।’
फ्लिन्डर्स युनिभर्सिटीकी अन्तरिक्ष अन्वेषणविज्ञ एलिस गोर्मनका अनुसार, एच-थ्री पृथ्वीको कक्षमा भू-उपग्रह प्रक्षेपण गर्न, अन्तरिक्ष स्टेसनका निम्ति आपूर्ति यानका रूपमा काम गर्न र चन्द्रमामा जान सक्षम हुनेजस्ता बहुकार्य गर्न सक्ने रकेट हुनेछ ।
जापानले गएको महिना चन्द्रमाको सतहमा ‘मून स्नीपर’ उपनाम दिइएको स्लिम अन्तरिक्षयान अवतरण गराउन सफल भएको थियो ।
बर्मिंघम विश्वविद्यालयका एस्ट्रोफिजिक्सका मानार्थ प्राध्यापक एड्रियन माइकल क्रुजका अनुसार, हालैका असफलताका बाबजुद जापानको अन्तरिक्ष कार्यक्रम आफ्नो अहिलेसम्मको प्रदर्शनभन्दा धेरै माथि पुगेको छ । उहाँले भन्नुभयो, ‘जापानले केही प्रमुख खेलाडीहरूलाई चुनौती दिँदै अन्तरिक्ष अन्वेषणका लागि भविष्यको महत्वाकांक्षा राखेको छ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच