काठमाडौं । सांसदहरुले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसदहरुले सरकारले गठन गरेको छानविन समितिले मन्त्री ज्वालालाई दोषि देखाएकाले उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।
मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले तुरुन्त पदबाट बर्खास्त गर्नुपर्ने सांसदहरुको माग छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मन्त्री ज्वालाको गल्ती प्रमाणित भइसकेको भन्दै नैतिकताको आधारमा पदमा बसिराख्न नमिल्ने बताउनु भयो । उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि अख्तियारको छानविनमा परेको भन्दै उहाँले पनि राजीनामा दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सम्बन्धित मन्त्रीले नैतिकताको हिसावले पदमा बस्न मिल्दैन । उहाँको गल्ती प्रमाणित भइसकेको छ । राजीनामा गर्नु भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ । भौतिकमन्त्री र स्वास्थ्य मन्त्रीलाई कि त बर्खास्त गर्नुप-यो कि राजीनामा दिनुप-यो । प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु सुशासनको निम्ति असफल भइसके । सिंगो सरकार नै सुशासनको निम्ति असफल भइसक्यो । भ्रष्टाचारको निम्ति यसले नेपालको इतिहासको रेकर्ड तोड्नेवाला छ । यो सरकारबाट सुशासनको आशा गर्नु बेकार छ ।’
नेकपा एमाले सांसद रघुजी पन्तले विगतदेखि नै अख्तियारको छानविनमा परेका मन्त्रीले राजीनामा दिने प्रचलन रहेको भन्दै स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो । त्यस्तै भौतिक पूर्वाधार मन्त्रीको राजीनामा पनि आफूहरुको अडान रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो सचेतकले स्वास्थ्य मन्त्रीको राजीनामा पनि माग्नुभएको छ । प्रकाश ज्वाला जीको पनि राजीनामा माग्नुभएको छ । हाम्रो अडान पनि त्यही हो । पञ्चायतकालका मन्त्रीदेखि आजसम्म अख्तियारमा बयान दिन जानुप¥यो भने सबभन्दा पहिला उनीहरुले राजीनामा गर्ने हो । राजीनामा गर्न मान्दैनन् भने प्रधानमन्त्रीले तुरुन्त उनीहरुलाई पदबाट हटाउनुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पनि भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा माग गर्नुभयो । राजीनामा नआएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उहाँको भनाई छ ।
नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले पनि मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राज्यको सम्पति अनाधिकृत रुपमा भोगचलन गर्नेहरुलाई कारबाही गर्न पहल लिइरहेको बताउनु भयो । उहाँले सरकार सुशासन कायम गर्न लागि परेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सरकारी जग्गाहरु राज्यको स्वामित्वमा ल्याउने, सरकारले सुशासनको क्षेत्रमा विभिन्न चरणमा विभिन्न बाहानामा राज्यको पद दुरुपयोग गरेर राज्यका सम्पतीहरु भोगचलन गर्ने प्रवृत्तिहरुलाई आगामी दिनमा रोक्नका निम्ति यो सरकारले पहल लिएको छ । त्रुटी हुँदा आलोचना गर्ने कुरालाई सम्मान गर्छौं ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ललिता निवास जग्गा प्रकरणमा अदालतले गरेको फैसला प्रशंसनीय भएको बताउनु भयो । उहाँले यसलाई आफूले सकारात्मक रुपमा लिएको लिएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘न्यायालयले अहिले ठिकै गरेको छ । न्यायमूर्ति न्यायपालिकाको सिद्धान्तअनुसार भर्ना हुनुप-यो । सेटिङमा हुनु भएन नि । ललिता निवास जग्गा प्रकरण । राज्यको नाममा आएको छ सकारात्मक रुपमा लिएको छु । अदालतको फैसला प्रशंसनीय छ ।’
उहाँले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा सत्तामा बस्नेहरुसँग नैतिकता नभएको टिप्पणी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच