रजत विजेता एरिकाले २० लाख पुरस्कार पाउने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद (एसियाड) मा कराँतेमार्फत् नेपाललाई ऐतिहासिक रजत पदक दिलाउनुभएकी एरिका गुरुङले पुरस्कार रकमबापत नेपाल सरकारबाट झण्डै २० लाख रुपैयाँ पाउनुहुने भएको छ ।

एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जित्नुभएको थियो । एसियाडमा कराँतेले रजत पदक जितेको यो नै पहिलोपल्ट हो ।
महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित तीन-शून्य अंकले पराजित हुँदै रजतमा खुम्चिनुभएको थियो । सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गर्नुभएको थियो । गुरुङले यान काई होलाई आठ-चार अंकले हराउँदै फाइनल यात्रा तय गर्नुभएको थियो । यस्तै, क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गर्नुभएको थियो । दुवैबीचको खेल एक-एक अंकको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अंक जोडेको) का आधारमा विजयी हुनुभएको थियो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । यस्तोमा एरिकाले रजत पदकका लागि साढे १९ लाख रुपैयाँ पाउनुहुनेछ । त्यसबाहेक उहाँलाई विभिन्न व्यक्ति तथा संस्थाले पनि नगद पुरस्कार दिने घोषणा गरिसकेका छन् ।

नेपाल सरकारले एसियाडमा नेपालले जितेको दुई पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरी ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिनेछ । एरिकाका मुख्य प्रशिक्षकले तीन लाख ९० हजार र सहायक प्रशिक्षक तथा व्यवस्थापकले एक लाख ९५ हजार तथा सम्बन्धित संघले ६ लाख ५० हजार दिने व्यवस्था कार्यविधिमा उल्लेख छ । कराँतेको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ, सहायक प्रशिक्षकमा छोरी डंगोल तथा व्यवस्थापकमा निवासगोपाल वैद्य हुनुहुन्छ । यस्तै, नेपाल कराँते महासंघ पनि सरकारबाट ६ लाख ५० हजार रुपैयाँले पुरस्कृत हुनेछ ।

त्यसअघि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । कार्यविधिअनुसार समूहगत स्पर्धाको कांस्य पदक विजेता कबड्डी टोलीका हरेक खेलाडीले जनही तीन लाख ९० रुपैयाँ पाउनेछन् । कबड्डीका खेलाडीहरूमा मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गंगा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट हुनुहुन्छ ।

कांस्य जित्ने खेलका मुख्य प्रशिक्षकले दुई लाख ६० हजार र सहायक प्रशिक्षकले एक लाख ३० हजार रुपैयाँ पाउनेछन् । कबड्डीमा पार्वती राई मुख्य प्रशिक्षक र विष्णुदत्त भट्ट प्रशिक्षक हुनुहुन्छ । व्यवस्थापक डिल्लीराम काफ्लेले पनि एक लाख ३० हजार पाउनुहुनेछ । त्यस्तै, कबड्डी संघले तीन लाख ९० हजार रुपैयाँ पाउनेछ ।

एरिकाले कराँते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जित्न सफल हुनुभएको हो । यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियोे । यसअघि नेपालले १८औँ संस्करणसम्म आइपुग्दा दुई रजत र २२ कांस्यसहित २४ पदक जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?