
काठमाडौं । राजनीतिले थिलथिलिएको त्रिभुवन विश्वविद्यालयमा अन्ततः पुरानै तरिकाबाट उपकुलपति नियुक्ति गरिने भएको छ । खुला प्रतिस्पर्धाको नाटक मञ्चन गरे पनि पार्टीनिकट व्यक्तिहरू नै त्रिविको उपकुलपतिमा नियुक्त हुने पक्कापक्की देखिएको हो । प्राज्ञिक संकटमा फसेको त्रिविमा नयाँ किसिमबाट नेतृत्व चयन गर्ने प्रधानमन्त्री प्रचण्डले बारम्बार उद्घोष गरे पनि अन्ततः राजनीतिक भागबण्डाको पुरानै नियति दोहोरिने निश्चित देखिएको छ । खुला प्रतिस्पर्धा भनिए पनि नियत भागबण्डाकै राखिएको छ ।
त्रिवि उपकुलपतिका लागि शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार प्राडा. चित्रबहादुर बुढाथोकी, प्राडा. टंकनाथ धमला र प्राडा. केशरजंग बराललाई सिफारिस गरेको छ । सर्ट लिस्टमा परेका १४ जनाबाट समितिले तीन जनाको नाम प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेको हो । पहिलोपटक आवेदन माग गरेर उपकुलपति छनोट गर्न लागिएको हो ।
आवेदन दिएका ४३ जनामध्येबाट १४ जना सर्ट लिस्टमा परेका थिए । ती १४ जनाको कार्ययोजनासहित प्रस्तुति र अन्तर्वार्तापछि समितिले नम्बरको आधारमा तीन जनाको नाम कुलपतिलाई सिफारिस गरेको हो । तर, कुन उम्मेदवारले कति नम्बर ल्याए ? भन्ने खुलाइएको छैन । अब यी तीन जनाबाट एक जनालाई कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको २०औँ उपकुलपतिमा नियुक्त गर्नुहुने छ । कुलपति प्रचण्डले कसलाई उपकुलपति बनाउने भन्नेमा छलफल गरिरहनु भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म उपकुलपति नियुक्त गर्ने तयारी छ । त्रिविका एक अधिकारीका अनुसार प्रचण्डले बराललाई उपकुलपति बनाउन चाहनुभएको छ । बराल पोखरा विश्वविद्यालयका पूर्व-उपकुलपतिसमेत हुनुहुन्छ । पोखरा विश्वविद्यालयमा रहँदा उहाँलाई भ्रष्टाचारको आरोप लागेको थियो । कलेजहरूलाई सम्बन्धन दिने क्रममा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । तर, उहाँले सफाइ पाइसक्नु भएको छ ।
प्राडा. बुढाथोकी र धमला पनि रेसमा हुनुहुन्छ । त्रिवि स्रोतका अनुसार बुढाथोकीलाई पनि माओवादीको समर्थन छ । बुढाथोकीसँग शिक्षाशास्त्र संकायको सहायक डिन भएर चार वर्ष तथा सोही संकायको डिन भएर साढे तीन वर्ष काम गरेको अनुभव छ । उहाँले भारतको जवाहरलाल नेहरू विश्वविद्यायबाट विद्यावारिधि गर्नुभएको हो । भिसीको रेसमा रहेका अर्का उम्मेदवार प्राडा. धमला अहिले कुनै पनि दलको निकटमा हुनुहुन्न । उहाँ त्रिविको केन्द्रीय गणित विभाग र कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागको प्रमुखसमेत भइसक्नु भएको छ । धमलाले त्रिविको सन् १९८९ मा चान्सलर गोल्ड मेडल पाउनुभएको थियो । उहाँले जर्मनीबाट पिएचडी र क्यानडाबाट पोस्ट पिएचडी गर्नुभएको छ ।
मेरिटका आधारमा उपकुलपति नियुक्ति हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले पुनः मेरिटका आधारमा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्ने बताउनुभएको छ । सोमबार समाजवादी मोर्चा सम्बद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड–पुरस्कार र मेरिटोक्रेसीमा जोड दिइएको बताउनुभयो । ‘मैले विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा ‘मेरिटोक्रेसी’का आधारमा नियुक्ति गर्ने, शैक्षिक क्षेत्रमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेको छु, त्यसको कार्यान्वयन पनि हुँदै छ । यसले राजनीतिक तथा शैक्षिक नेतृत्वप्रति आमनागरिक र विद्यार्थीको विश्वास पुनर्जागृत हुने मैले अपेक्षा गरेको छु,’ उहाँले भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएपछि प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार दल कांग्रेसले विरोध जनाएका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने मेरिटका आधारमै नियुक्त गर्ने दाबी गर्नुहुन्छ । प्रधानमन्त्री प्रचण्डले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरुरी रहेका बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बौद्धिक पलायनलाई रोक्न विश्व बजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपति नियुक्त गर्दै छन् : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उपकुलपति छनोटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री प्रचण्डले असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो ।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरूको पाँचौँ राष्ट्रिय सहकारी भेलामा बोल्दै उहाँले तीनजना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनोट गरेर सरकारले तीमध्ये पनि सबैभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको पनि बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । त्यसमा पनि तेस्रो नम्बरका व्यक्ति उपकुलपति हुने ओलीको अनुमान थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछि नपरेको दोहोर्याउनुभयो ।
उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाउनुभएको छ । सोमबार उहाँले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताउनुभएको हो । उहाँले विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनलगायत धेरै विषयमा सुधार गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले पुनः गल्ती दोहो¥याएको दाबी गर्नुभयो ।
उहाँले उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठिक नभएको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई खुला प्रतिस्पर्धाबाटै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागे पनि आफैँ झुक्किरहेको बताउनुभयो । उहाँले अहिले खुला प्रतिस्पर्धा भनिए पनि नियत भागबण्डाकै राखिएको बताउनुभयो । महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु रहेको बताउनुभयो । महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागबण्डाकै आधारमा नै नियुक्ति गर्न लागिएको भन्दै आपत्ति जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच